उपत्यका व्यापी रुद्राभिषेक गरिँदै
सुर्खेत ।
महाशिवरात्रीको अवसरमा सुर्खेतको वीरेन्द्रनगर उपत्यका भित्र रहेका सबै शिव मन्दिरहरुमा रुद्राभिषेक गरिने भएको छ । नुनथले वैदिक ब्राह्मण फाउण्डेशन वीरेन्द्रनगर १० बामेखोलाको आयोजनामा सुर्खेत उपत्यकामा रहेका ११ वटा शिवमन्दिरहरुमा ११ जना ब्राह्मणहरुले ११ आवृर्ति रुद्राभिषेक गर्ने कार्यक्रम रहेको फाउण्डेशनका संयोजक ज्यो. प. विकास पौडेलले जानकारी दिए ।

महाशिवरात्रीको अवसरमा सुर्खेतमा यसरी सबै शिव मन्दिरहरुमा रुद्राभिषेक गर्न लागिएको पहिलो पटक भएको बताउँदै संयोजक पौडेलले भने भगवान शिवको महत्व र शिवरात्रीको महत्व बुझाउँदै धर्म प्रतिको विश्वासलाई प्रगाढ बनाउने हाम्रो योजना हो । यति मात्र नभई हामीले गर्ने कार्यले देश तथा समाजमा समेत शिवको कृपाादृष्टि रहोस् र कसैले पनि अकाल मृत्युवरण गर्नु नपरोस् भन्ने कामना हो ।
फाउण्डेशनका सदस्य प. सुनिल बस्यालका अनुसारका गोरखनाथ शिवमन्दिर नयाँघुस्राबाट सुरु हुने उक्त रुद्राभिषेक कार्यक्रम रहरपुर शिवमन्दिर रहरपुर, सर्वेश्वर शिवमन्दिर चारकुने (हाल निर्माणाधिन), देउतीबज्यै पिपिरा, सिद्धेश्वर शिवमन्दिर खजुरा, उत्तरगंगा शिवमन्दिर उत्तरगंगा, ओमकारेश्वर शिवमन्दिर गणेशचोक, प्राणेश्वर शिवमन्दिर वतासेडाँडा, कपिलेश्वर महादेव मन्दिर शिवालयचोक, सिद्धेश्वर महादेव मन्दिर कपासे, लाटीकोइली शिवमन्दिर लाटीकोइली रहेका छन् । यसैगरी उपत्यका भन्दा बाहिर समेत एउटा मन्दिरमा पुग्ने योजना रहेकाले हाटकेश्वर शिवमन्दिर बड्डिचौरमा समेत रुद्राभिषेक हुने जनाइएको छ ।
आयोजक संस्थाका अनुसार ब्राह्मण समाज नेपाल सुर्खेत शाखा र नेपाल ज्योतिष परिषद् सुर्खेत शाखासँग समेत समन्वय भएकाले उक्त संस्थाका प्रमुख तथा पदाधिकारी र सदस्यहरु समेतको उपस्थिति रहनेछ । साथै सबै भक्तजनहरुलाई कार्यक्रममा उपस्थितिका लागि आयोजक र समन्वयकर्ता संस्थाहरुले विभिन्न माध्यमबाट निमन्त्रणा गरेका छन् ।
शिवरात्रीलाई आनन्दमय, भक्तिमय र शान्तिमय बनाउनु हाम्रो कर्तव्य भएको संयोजक पौडेलले बताएका छन् भने नेपाल ज्योतिष परिषद् सुर्खेतका अध्यक्ष ज्यो.प. यामप्रसाद अधिकारीले भने शिवको आराधनाका नाममा शिवले ग्रहण गरेका वस्तुहरु शिवको प्रसादको रुपमा खाने नभई शिवभक्तीमा लाग्नु पर्ने बताए । शिवले कालकुट समेत पान गर्नुभएको थियो त्यो लोककल्याणका लागि थियो । त्यसो भनेर हामीले विष नै सेवन गर्नु त भएन नि । शिवले हामीलाई विषबाट रक्षा गर्नुभएको हो । त्यसैले शिवको प्रसादका रुपमा गाँजालगायतका वस्तुहरु सेवन गर्न नहुने अधिकारीले बताए ।






