असार अन्तिमसम्म ४५ प्रतिशत रोपाइँ
सुर्खेत ।
सुर्खेतमा जिल्लामा जम्मा १४ हजार ६ सय ५ हेक्टर जमिन धानखेती गर्न योग्य मानिन्छ । तर यहाँ असार महिना सकिनै लाग्दासम्म जम्मा ४४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा ९० प्रतिशत रोपाइँ सकिए पनि उपत्यकामा ढिलो वर्षात भएका कारण रोपाइँ गर्न ढिलाइ भइरहेको छ । ढिलो वर्षातका कारण समयमा नै बिउ उमार्न नसकिएका कारण रोपाइँ ढिलो भएको किसान दलबहादुर खड्काले बताए । उनले भने – वर्षात ढिलो गरी शुरु भयो सिचाइँ सुविधा नभएका कारण बल्ल रोपाइँ शुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका भित्र रहेको सुर्खेत उपत्यकामा अहिलेसम्म सिचाइँको व्यवस्था छैन । आकाशे पानीको भरमा खेती गरिँदै आएको उपत्यकामा कहिले वर्षात होला र खेती गरौँला भनेर किसानहरु आकाशतिर हेर्नुको विकल्प छैन । असारको अन्तिममा आइपुग्दासम्म करिब ९० प्रतिशत रोपाइँ भइसक्नु पर्ने तर सिचाइ अभावकै कारण जम्मा ४० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ ।
अघिल्लो वर्ष यो समयसम्म ८० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक बखत बहादुर खड्काले यसवर्ष ढिलो गरी मनसुन सुरु हुनु र सिँचाइ सुविधा उपलब्ध नहुँदा रोपाइँ गर्न ढिला भएको बताए । उनका अनुसार जिल्लामा ३३ प्रतिशत जमिनमा सिँचाइ सुविधा रहेको र ६६ प्रतिशत आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।
उपत्यकाको नजिकै भेरी नदी र निकास खोलामा समेत पानी छ तर भौगौतिकताका कारण उक्त पानीलाइृ सिंचाइँको रुपमा प्रयोग गर्न सकिएको छैन । उपत्यका भित्र बग्ने साना राना (खोला) को पानी पप्पसेटको सहायतामा खेतसम्म पु¥याई खेती गर्ने किसानहरु पनि छन् । तर त्यसको प्रयोगले उपत्यकको सबै खतियोग्य जमिनमा सिंचाइ पु¥याउन सम्भव छैन । पछिल्लो समयमा कृषि औजारको निकै प्रयोग बढेकोले खेत जोत्नका लागि प्रयोग हुँदै आएका गोरु तथा राँगाहरु भने विस्तापित हुँदैछन् ।
समयमा रोपाइँ हुन नसक्दा किसानहरु भने चिन्तित छन् । असारको महिनामा रोपाइँ गर्न सकेको खण्डमा धान उत्पादनमा ह्रास नआउने भएपनि असार कटेपछि धानको उत्पादनमा समेत ह्रास आउने भएकोले दुःख गरे अनुसारको उत्पादन हुँदैन भन्छन् वीरेन्द्रनगर १० निवासी शेर बहादुर महतारा । खेति योग्य जमिन टुक्रिएकोमा समेत चिन्तित छन् वीरेन्द्रनगर ८ का धनबहादुर गुरुङ्ग । पहिले पहिले कम्तिमा पनि विगाहको हिसावमा रोपाइँ गरिन्थ्यो अनि मंसिरमा धानको थुप्रो देखेको बेलामा असारको दुःख पनि सजिलै भुल्न सकिन्थ्यो तर आजभोलि भएका सबै खेतहरु घडेरीको रुपमा बिक्री गरिसके कसरी अनि कसरी भरिन्छ धानको भकारी । आफ्नो परिवारले समेत वर्षभरी खाएर बच्ने धान बेचेपछि दशैं तिहारको समेत खर्च टार्न सजिलो हुने बताउँछन् वीरेन्द्रनगर १० का जयराम थारु ।
यस सम्बन्धमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी भन्छन् – जग्गाको खण्डिकरणलाई व्यवस्थित बनाएर यसलाई टुक्रा टुक्रा हुनबाट जोगाउने गुरुयोजनाका साथ अगाडि बढ्छौ । उनको भनाई छ – कृषि मुख्य पेशा भएकोले आधुनिक कृषि प्रणाली तर्फ जागरुक गर्न सकेको खण्डमा कृषि उत्पादन बढ्ने र आत्मनिर्भर बन्न सकिन्छ ।
प्लटिङले खायो धान खेत
सुर्खेतमा जमिनको तीव्र खण्डीकरण घडेरी बेच्ने प्रयोजनले यहाँको धान उत्पादनका महत्वपूर्ण स्थानहरु बाँझो जमिनमा परिणत भएका छन् । २०६२/०६३ को जनआन्दोलन पछि दैलेख, जाजरकोट, सुर्खेतकै विभिन्न गाउँहरु लगायत कर्णाली अञ्चलका जिल्लाहरुबाट बसाई सराई तिब्र गतिमा हुन थालेपछि उपत्यकामा घडेरीको कारोबार निकै आकासिएको थियो । मापदण्डविपरीत प्लटिङ गर्ने र जमिनलाई बाँझो राख्ने क्रम बढेको छ । मुख्य गरेर जथाभावीको प्लटिङले धान खेत स्वाहाः पारेको छ ।





