सञ्चारकर्मीद्धारा साझाघरलाई आर्थिक सहयोग

सुर्खेत ।
साझा घरलाई सञ्चारकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘साझाघर जोगाउँ’ अभियान अन्तर्गत बिहीबार तीन हजार दुई सय रुपैयाँ साझा घर नेपालका अध्यक्ष भीम बहादुर विश्वकर्मालाई सञ्चारकर्मी पुष्प बिसीले सहयोग रकम हस्तान्त्रण गरेका हुन ।
आफुहरु जस्तै तीन चार जना सञ्चारकर्मीहरुले केहि दिनको खाजा खर्च बचाएर उक्त रकम सहयोग गरेको बिसीले बताए ।
जन्मदिन र व्यक्तिगत सहयोगबाट सञ्चालन भएको साझाघरलाई कोरोना महामारीका कारण समस्या परेपछि सुर्खेत स्थित सञ्चारकर्मीहरुले आर्थिक सहयोग गरेका हुन् ।अध्यक्ष विकले अहिलेसम्म सञ्चालकहरुको व्यक्तिगत, जन्मदिन, विवाह उत्सव, संघ संस्थाहरुको वार्षिक उत्सवमा जुटेको खाद्यान्न र सहयोगले चलेको बताउँदै बन्दहुने अवस्थामा पुगेपछि साझा घर नेपाल बचाउँ अभियान सञ्चालन गर्नु परेको जानकारी दिए । कहिलेकाहिँ हुने यस्ता कार्यक्रमले मात्र व्यवस्थापन गर्न समस्या परेको भन्दै सञ्चालकहरु सहयोगी हातहरुको खोजीमा छन् ।
स्थानीय तथा प्रदेश सरकारलाई पटक/पटक सहयोगको अपिल गरे पनि सहयोग नभएको अध्यक्ष विककोे गुनासो छ । यस्तै देलेखका रविन्द्र पनि कक्षा ४ साझाघरमै बसेर पढ्छन् । सहयोगको अभावमा साझाघर बन्द हुन लागेको छ भन्ने सुनेपछि बारम्बार चिन्ता लाग्ने गरेको बताए । २०७५ चैतमा खोलिएको उक्त संस्थाले सडक बालबालिका, जेष्ठ नागरिक, मानसिक अपाङ्गता, विपन्न नागरिकहरुलाई साहारा दिँदै आएको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीमा संचालित साझा घरलाई घरभाडा, खाद्यान्न किन्ने रकम नहुँदा आर्थिक अभाव देखिएको छ ।






