एमालेको उफ्राइ र मच्छेडको भुनभुनाई
नेपालमा गणतन्त्रको स्थापना हुनु भन्दा पहिला २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा देशका अधिकांश गाउँ विकास समिति र नगरपालिकाहरुसँगै जिल्ला विकास समितिमा नेकपा एमालेले बर्चश्व कायम गरेको थियो । त्यस भन्दा पछाडिको आम निर्वाचनमा नेकपा एमालेले त्यसरी नै आफ्नो बर्चश्व कायम राख्ला त भन्ने प्रश्नको जवाफ नपाउँदै एमाले र माले जब दुई चिरामा बिभाजित भयो तब २०५६ सालको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउने एमालेजनहरुको सपना सिसासरी फुट्यो । जुन अहिलेसम्म पुरा हुन सकेको छैन ।

करिब २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा अहिले पनि एमालेले अधिकांश स्थानमा जीत हार्न पार्न सफल भएको छ । साम, दाम, दण्ड, भेदको प्रयोग मात्र होइन आफ्ना कार्यकर्ताहरुलाई एकतावद्ध गराउँदै एमालेले जुन जीत हात पारेको छ त्यसलाई जोगाइ राख्नका लागि एमालेजनहरुले बेलैमा बुद्धि पु¥याउनु पर्ने आवश्यकता पनि छ ।
एकातिर राजनीतिक गुट र अर्कोतिर काँग्रेस माओवादीको चपेटामा परेर पिल्सिएको एमालेले आफ्नो छविलाई आम जनताका माझ पटक पटक लोकप्रियताको आँखीझ्याल देखाउने गरेपनि सफलताको सिंढी चढ्ने बेलामा अन्य कुनै दलको बुई नलागि उसलाई सुख्खै हुँदैन । आखिर आफ्नै पार्टी भित्रको चरम गुटबन्दीको शिकार भएकोले पनि एमालेले यस्तो हविगत व्यहोर्नु परेको हो ।
हिजोका दिनमा माओवादीले कल्पबृक्षको रुपमा हेरेर २ स्थानमा हारेका माधव नेपाललाई संसदमा ल्याएपछि माओवादी नेता प्रचण्डको लागि विष बृक्ष बनेका माधव नेपालको गुटले केपी ओलीको गुटलाई सहर्ष स्वीकार गर्न सक्दैन । यो एमालेजनहरुलाई मात्र होइन सबै जनलाई थाह भएकै कुरा हो ।
अर्कोतिर दुबै हातमा लड्डु समाउन खोज्ने झलनाथ खनालको आन्तरिक गुट झनै खतरापूर्ण तरिकाले अगाडि बढिरहेको छ । पार्टीको अध्यक्ष जस्तो पदमा पदासिन भएका केपी शर्माले सोझै मआफ्नो र अर्काको गुट भनेर नेताहरुलाई यो वा त्यो बहानामा कसैलाई काखा र कसैलाई पाखा गरेकै छन् । आखिर यस्तो प्रवृत्तिको अन्त्य कहिले हुन्छ एमालेमा ।
भरखरै सम्पन्न भएको दुई चरणको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा देखा परेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई राम्रो काम गर्नका लागि कतै प्रशिक्षण त कतै तालिमकै आयोजना गरेर लागिरहेको एमालेले आफ्नो पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले गरेका गलत निर्णयहरुलाई खारेजी गराउने तर्फ किन पहलकदमी नगरेको होला । जनप्रतिनिधिहरु स्थानीय तहको विकास निर्माण गर्दै जनताको काम गर्नका लागि चिर्वाचित भएका हुन् वा आफू भोगविलासमा रमाउनका लागि निर्वाचित भएका हुन ?
निर्वाचित भएको लगत्तै काठमाडौँ महानगरपालिकाका प्रमुखले जनप्रतिनिधिहरुका लागि मोवाइल खरिदको निर्णय गराउनु लज्जास्पद हो । अहिले जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका सर्वसाधारणहरुसँग मोवाइल छन् भने के काठमाडाँै महानगरपालिकाका जनप्रतिनिधिहरुसँग मोवाइल थिएनन् र ? जनताको पसिनाबाट उठेको करको यरी दुरुपयोग गर्ने दुस्साहस गर्नेहरुको े बचाउ गर्दै एमालेले जबसम्म हिडिरहन्छ तबसम्म उसले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । तेस्रो चरणको निर्वाचनमा समेत एमाले पहिलो होला । तर त्यहाँका जनप्रतिनिधिहरुले पनि यसरी नै रुन्चे निर्णय गर्ने हुन भने उनीहरुले निर्वाचन जितेर जनताको सेवा गर्दछौ भन्नु हात्तिको देखाउने दाँत बाहेक अरु केही होइन ।
जसरी अलि अलि गर्मी बढेको बेलामा मच्छेडहरुले आफ्नो रजाँई गर्दछन् । पानी जमेका खाल्डाहरुमा उनीहरुको एकछत्र राज भएपनि चर्को घाम लागेको खण्डमा मच्छेडले त्यो घामको तापलाई सहन नसकि मृत्युवरण गर्नु पर्छ भन्ने ख्याल गरेका हुँदैनन् ।
भरतपुर महानगरपालिकामा निर्वाचन भएको करिब अढाइ महिना पछि त्यसको नतिजा बाहिर आयो । काँग्रेस र एमाओवादीको गठबन्धनले निर्वाचनको नतिजालाई आफ्नो पा¥यो । पहिले अदालतमै जानु पर्छ र अदालतले गरेको फैसला नै सर्वमान्य हुन्छ भन्दै कुर्लिने एमालेजनहरु पछि पुनः मतदानको फैसला आएपछि अब निर्वाचन हारिन्छ कि भन्ने डरले विलाप गर्न शुरु भएको थियो । अन्ततः भयो पनि त्यस्तै ।
रेणु प्रचण्डकी छोरी हुन् । उनले एमाओवादीको तर्फबाट प्रमुख पदको लागि उम्मेदवारी दिएकी थिइन । एमाओवादीले काँग्रेससँगको सहकार्यमा रेणुलाई अगाडि सा¥यो । जसको कारण एमालेको तर्फबाट उम्मेदवार बनेका देबी ज्ञावलीले निर्वाचनमा हार व्यहोर्नु प¥यो । निर्वाचनमा हार भइसकेपछि विलाप गर्नुको सट्टा के कति कारणले निर्वाचन हारियो त्यसको समीक्षातिर लाग्नुको सट्टामा मच्छेडको भुनभुनाइ जस्तै गरी उफ्रिन थाले एमालेजनहरु रेणुको जितलाई लज्जास्पद जीतको संज्ञा दिदैँ देबीको हारलाई सम्मानजनक हार भनेर । उनले सम्मानजनक तरिकाले हारे होलान् तर रेणुको जीत पनि कम सम्मानजनक छैन ।
सपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेर उनीहरुले के गर्न खोजेका हुन् भन्ने अहिलेसम्म पनि सर्वसाधारणहरुले बुझ्न सकेका छैनन । मतपत्र च्यात्नेहरुसँग सँगै सपथ लिन नमान्नेहरु एउटै कार्यालय भित्र बस्ने कि नबस्ने ?
हिजो टाउकोको मोल तोक्नेहरु र तोकि माग्नेहरु आज एउटा ज्यान र दुइटा प्राण भएको एमालेहरुले किन बुझ्न नसकेका होलान् । राजनीतिमा कोही पनि दीर्घ शत्रु र दीर्घ मित्र हुँदैन भनेर ओकल्नेहरुले रेणुसँगै सपथ नलिनु उनीहरुले भरतपुरको निर्वाचनको हारलाई सहस्र स्वीकार गर्न नसक्नु हो । यस्ता कार्यले कुनै पनि क्षेत्रको विकास र विस्तारको सट्टामा आपसमा वैमनस्यताको सिर्जना गर्दछ । जसले राजनीति नै पेशा बनाउनेहरुका लागि भन्दा पनि सोझा सर्वसाधारणहरुलाई बढी नोक्सान पुग्छ भन्ने कुरा एमालेले राम्ररी बुझ्न जरुरी छ ।






