म.प. गजल मञ्चले गर्यो अर्को ऐतिहासिक निर्णय
सुर्खेत
मध्यपश्चिमाञ्चल गजल मञ्चको पूर्ण बैठकले मोती जयन्ति २०७४ को भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

संस्थाको स्थापना दिवसको अवसरमा गत वर्ष स्थापना गरिएको मोती साधना सम्मान एक जनालाई र मध्यपश्चिम गजल सम्मान दुई जनालाई प्रदान गर्ने गरि स्थापना भएका सम्मान मध्ये मोती साधना सम्मान यस वर्ष कोहलपुर बाँकेका गजलकार महानन्द ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी मध्यपश्चिम गजल सम्मान बर्दियाका नारी स्रष्टा गजलकार अञ्जु स्मारिका र दैलेखका महेन्द्र चन्द महासागरलाई प्रदान गर्ने निर्णय गरिएको संस्थाका उपाध्यक्ष सन्देश कठायतले जानकारी दिनु भयो ।
महासचिव पहल असिम थापाका अनुसार कार्यक्रम यही भाद्र ३ गते शनिवार सुर्खेत क्याम्पस शिक्षाको ठूलो हलमा बृहत औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान प्रदान गरिनेछ । साथै संस्थाको बार्षिकोत्सव र मोती जयन्ति पनि भएकोले बृहत गजल वाचनको कार्यक्रम समेत रहेको कोषाध्यक्ष खगेन्द्र अटलले जानकारी दिनुभयो ।
यस संस्थाले गत वर्ष मोती साधना सम्मान दाङका टीकाराम उदासी र मध्यपश्चिम गजल सम्मान दाङकै ऋषि शर्मा सुदामा र कालीकोटका पुष्प आचार्य पीडितलाई प्रदान गरेको थियो ।






