Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

हराउँदै रातो माटो र सेतो कमेरो

सुर्खेत ।
दशैँ र तिहारको समयमा रातो माटो र सेतो कमेरोको खुबै चर्चा हुने गर्दथ्यो । किनकी दशैं आयो भने रातो माटो र सेतो कमेरोले घर रङ्गाउने प्रचलन थियो । तर आधुनिकतासँगै रातो माटो र सेतो कमेरो शहरमा मात्र होइन गाउँघरमा पनि हराउँदै गएको छ । विशेष गरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो ।


झण्डै दुई दशक अघिसम्म दशैँ अघि वीरेन्द्रनगर सुर्खेतमा मात्र होइन वर्तमानको कर्णालीका दैलेख, जाजरकोटलगायतका अधिकांश जिल्लाहरुमा घर रङ्गाउनका लागि राते माटो र सेतो कमेरोको लागि माटीखान (माटो पाइने ठाउँ) मा ठूलै संख्यामा सर्वसाधारण पुग्ने गर्दथे । पछिल्लो समयमा अधिकांश घरमा सिमेन्टको प्रयोग हुन थालेसँगै माटो ल्याउने प्रचलन हराउँदै गएको हो ।

दैलेखको भगवतीमाई गाउँपालिकाको मेहेलतोली, तुर्सू, पगनाथ, कट्टिलगायतका गाउँहरुमा माटोले लिपपोत गरेपछि गाउँका घरहरू रातो देखिने र चिटिक्क पर्ने स्थानीयवासी सुनिता रोकायाले सुनाइन् । उक्र ठाउँहरु अग्लोमा भएकोले टाढैबाट रंगीचंगी घरहरु पुतली बसेका झैँ देखिन्थे । पछिल्लो समयमा चुना र रातो रंगको प्रयोग हुने गरेको छ । सिमेन्टको प्रयोग भइ बनेका घरहरुमा एक पटक रंगरोगन गरेपछि वर्षौसम्म टिक्ने भएकोले पनि माटो लिन नजाँदा र घरहरु रंग्याउन नथाल्ने हो दशैं आए झैँ लाग्दैन रोकायालाई । बडाऔलको रातो माटोसँगै घर सजाउन यहाँका स्थानीयले कैलाखोलाको कमेरोको प्रयोग गर्थे । पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै सर्वसाधारणले माटो र कमेरोकोे विकल्पमा आधुनिक रङको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

रातो माटोसँगै घरलाई सजाउन काम नलाग्ने भएका सेल (व्याट्री) पकाएर झ्याल ढोकामा लगाउने तथा कमेरो लगाउने प्रचलन पनि हट्दै गएको वीरेन्द्रनगर नगरपालिका १६ का वीरमान वली बताउँछन् । त्यसरी काठबाट बनेका झ्याल तथा ढोकाहरुमा कालो लगाउँदा धमिराले नखाने तथा धुल्याहा नलाग्ने बुढापाकाको अनुभव छ ।

‘विगतमा घरमा रातो माटो र कमेरोले लिपपोत गर्नु दशैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो’, वलीले भने, ‘आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।’

दशैंमा कसले राम्ररी घर सिंगार्ने होडबाजी नै हुन्थ्यो । माटो खन्न गाह्रो हुने भएपनि घरको शोभा बढाउनका लागि जोखिम समेत मोल्ने चलन थियो । तर पछिल्लो समयमा त्यसरी माटो र कमेरो ल्याउनेहरु कमै भेटिन्छन् । हुन त पहिलोको जस्तो भाइचारा पनि छैन आजभोली जाजरकोट जुनिचाँदेका अक्कल बहादुर शाही बताउँछन् । हाम्रो पालामा शिक्षामा कमजोरी थियो तर व्यवहारिकतामा हामी बलियो थियौ अहिले शिक्षा बलियो भयो व्यवहारिकता कमजोर भयो शाहीले थपे । आधुनिकताका नाममा पुरानो संस्कृति हराउन थालेकोमा शाहीलाई चिन्ता लागेको छ । संस्कृति हरायो भने हाम्रा सम्पत्ति हराउँछन् भन्ने कुरा साना ठूला सबैले बुझ्न आवश्यक भएको शाहीले बताए ।


आजभोली चाडपर्वहरु पनि आधुनिकतामा मनाउन थालिएको छ । दशैंमा पिङमा मच्चिनुको मज्जा सम्झँदै वीरेन्द्रनगर ६ सुर्खेतका गणेशप्रसाद अधिकारी भन्छन्, ‘आजभोली खासमा दशैं आएजस्तो पनि लाग्दैन ।’ दिनभर बाबियो काटेर रातभर पिङ बाटेर टोल–टोलमा खेलिन्थ्यो अनि पो दशैं आए झैँ लाग्थ्यो । आजभोलि न पहिलेका झैँ घर रंगिन्छन् न पिङ मच्चिन्छन् उनले बताए । आजको सूक्ष्मदृष्टिमा प्रकाशित छ ।