आजबाट सकिँदै अधिक (मलमास) : यस्तो छ पौराणिक महत्व
यसपाली असोज दुई गते शुक्रबारदेखि आजसम्म मलमास अर्थात अधिकमास परेको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।
कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।
भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’
यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ । यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ । हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।
मलमासमा गर्न नहुने भनिएका थुप्रै कुरा छन्ः तीमध्ये केही निम्नानुसार छन् ः अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन । मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ । विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ । गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ । नव दम्पतीले के गर्नु हुँदैन मल मासमा ? विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन । यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ । नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

विष्णु भगवानको ३३ नाम यस प्रकार रहेका छन् ।
विष्णवे नमः, जिष्णवे नमः, महाविष्णवे नमः, हरये नमः, कृष्णाय नमः, अधोक्षजाय नमः, केशवाय नमः, माधवाय नमः, रामाय नमः, मधुसुदनाय नमः, अच्युताय नमः, पुरुषोत्तमाय नमः, गोविन्दाय नमः, वामनाय नमः, त्रिविक्रमाय नमः, संकर्षणाय नमः, श्रीकण्ठाय नमः, बैकुण्ठा यनमः, नारायणाय नमः, अनिरुद्धाय नमः, प्रद्युम्नाय नमः, जनार्दनाय नमः, दामोदराय नमः, श्रीपतये नमः, वासुदेवाय नमः, नृसिंहाय नमः, शेषशायिने नमः, पृश्निगर्भाय नमः, उरुक्रमाय नमः, श्रीधराय नमः, गोपीजनवल्लभाय नमः, गोपालाय नमः र गोलोकाधिपतये नमः । अस्तु ।।






