निर्वाचनको मुखैमा बम बनाउन प्रयोग गरिने सामग्री सुर्खेतमा बरामद
सुर्खेत, २५ कात्तिक ।
प्रहरीले ठूलो परिणाममा बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्री बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट शुक्रबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरेको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोवाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

‘विशेष सुराकीको आधारमा ध.१.ज. १०६ नम्वरको जीप चेकजाँच गर्दा ६० थान डेटोनेटर, पाँच सय ५५ थान जिलेटिन, २२ मिटर फ्यूज वायरका साथै भारतीय र नेपाली सीमसहितको मोवाइल बरामद गर्न सफल भयौ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, ‘विष्फोटक सामाग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौं ।’
प्रहरीले विष्फोटक सामाग्री भारतबाट कैलाली हुँदै ल्याइएको जनाएको छ । ‘निर्वाचनलाई प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामाग्री भारतबाट भित्र्याएको हुनसक्छ’ उनले भने, ‘हामीले विस्तृत अनुसन्धान सुरु गरिसकेका छौं ।’ एसपी आचार्यले विष्फोटक सामाग्रीसँगै सिमसहितको मोवाइल बरामद भएकाले अनुसन्धान गर्न सहज हुने बताए । ‘मोवाइलको कल डिटेल निकालेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं’ उनले भने, ‘सिम कसको नाममा छ, को–कोसँग कुराकानी भएको छ, ति सबैलाई अनुसन्धानको घेराभित्र ल्याउँछौं ।’
अघिल्लो साता प्रहरीले भेरीगंगा नगरपालिकाको छिन्चुबाट बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्रीसहित एक पूर्व लडाकुलाई पक्राउ गरेको थियो । जाजरकोट लिन लागिएको चार थान डेटोनेटर, सेप्टीफ्यूज, पाँच वटा विद्युतीय स्वीच, होल्डर, हत्कडी र एक लाख २५ हजार नगदसहित पूर्व माओवादी लडाकु दलबहादुर कामी पक्राउ परेका थिए ।
चुनावको मुखैमा ठूलो परिणाममा विस्फोटक सामाग्री बरामद हुन थालेपछि प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङ बढाउनुका साथै संकास्पद ठाउँमा सादा पोशाकमा प्रहरी खटाउन थालेको छ । ‘निर्वाचन अवधिभरका लागि ठाउँठाउँमा चेकिङका साथै संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने, सोधपुछ गर्नेलगायतका कामहरु सुरु गरेका छौं’ एसपी आचार्यले भने, ‘निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन हामी लागिरहेका छौं ।’








