को हुन ? हुम्लाबाट प्रदेशसभामा सिफारिस भएका डा. रोकाया ?
सुर्खेत ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि यतिबेला दलहरुले आ–आफ्ना उम्मेदवारहरुलाई सिफारिस गर्ने काम चलिरहेको छ । विभिन्न राजनीतिक दलहरुले प्रतिनिधि सभाका क्षेत्रमा र प्रदेश सभाका क्षेत्रहरुमा उम्मेदवार छनोट गरिरहेका छन् । यसैक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट कर्णाली प्रदेश सभा सदस्यका लागि डा. दीपेन्द्र रोकाया सिफारिसमा भए । उनी सिफारिसमा भएपछि हुम्लामा एउटा चर्चा चल्न थाल्यो । वास्तवमा माओवादी केन्द्रले एउटा विद्वान मान्छेलाई सिफारिस ग¥यो अब टिकट दिने कुरामा पार्टी नेतृत्वले कुनै तलमाथि नगरोस् उनलाई प्रदेश सभा सदस्यको रुपमा पठाउन हामी हुम्ली जनता तयार छौ भन्ने जसले अहिले निकै चर्चा बटुलिरहेको छ ।

कर्णाली प्रदेश सभाका लागि माओवादी केन्द्रले हुम्लाबाट सिफारिस गरेको डा. दीपेन्द्र रोकाया को हुन् ? भन्ने बारेमा हामीले साथी नरजंग तामाङको सहयोगमा छोटो विवरण तयार पारेका छौ ।
डा. दीपेन्द्र रोकायाले त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्र २०६६ मा स्नातकोत्तर, पाटन क्याम्पसबाट ग्रामीण विकास २०६८ मा स्नातकोत्तर, राजनीतिशास्त्र विषयमा नेपालको राजनैतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव शिर्षकमा विद्यावारिधी २०७३ प्राप्त व्यक्ति हुन् । उनको विषयगत विज्ञता राजनीति, योजना तर्जुमा, अनुगमन मूल्याङ्कन, सूचना तथा सञ्चार, द्वन्द्व व्यवस्थापन र प्रशिक्षण लगायतमा रहेको छ ।
यतिले मात्रै उनको परिचय पूरा हुँदैन । २०५३ सालबाट भुमिगत जिवन बिताउदैँ आएका डाक्टर रोकाया इमान्दार, मिलानसार, शान्त स्वभावका निष्ठावान, बुद्धिजीवी र राजनीतिककर्मी हुन ।
कस्ता – कस्ता अनुभव छन् डा. रोकायासँग ?
१. डा. दीपेन्द्र रोकायाले कर्णाली प्रदेश योजना आयोगको सदस्य २०७५ मंसिर ९ गतेदेखि २०७८ कार्तिक १५ गतेसम्म भई कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले कर्णालीमा पूर्वाधारमा आधारित समाजवाद उन्मुख मानव केन्द्रित विकासको अवधारणा अगाडि बढाएका छन् । यसअघि उनले दुई दशकभन्दा बढी समय सक्रिय मिसन पत्रकारिता (२०५३–२०७५) गरेका थिए । यसबीचमा श्रमजीवी पत्रकार न्युनतम पारिश्रमिक निर्धारण समितिको प्रथम कार्य समितिको सदस्य २०६४, राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य २०६५, शान्ति तथा पुनस्र्थापना मन्त्रालयमा सशस्त्र द्वन्द्व व्यवस्थापनमा सहजीकरण २०६८, गृहमन्त्रीको सूचना तथा सञ्चार विज्ञ समेत रहेर काम गरेका छन् । नेपाल प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षक २०७४–२०७५ भई काम गर्दै मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश सुशासन केन्द्र र मानव संशाधन केन्द्रमा विषय विज्ञको रुपमा प्रशिक्षण दिदै आएका छन् ।
यति मात्र होइन समाज, संस्कृति, भाषा, साहित्य र ग्रामीण भूगोलका बारेमा निकै दख्खल राख्ने डा. रोकायाले गाउँले जनजीवनका साथै स–साना देखि ठूला दुःख, संघर्ष र कठीनाईका बारेमा समेत अध्ययन गरेका छन् । जसले गर्दा उनले भौगोलिक अवस्था अनुसारको आवश्यकतालाई नजिकबाट चिनेका छन्, जानेका छन्, बुझेका छन् र अनुभव गरेका छन् ।
यसैगरी विगत १५ वर्षदेखि उनले समाज कल्याण परिषद् नेपाल, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास बोड, सीप नेपाल लगायतका संस्थाबाट विभिन्न आयोजनाहरुको अनुगमन तथा मुल्याङ्कन गरेका छन् ।
नेपालमा गणतन्त्र ल्याउन मिसन पत्रकारिता गर्दा एक वर्ष जेल (२०५८ मंसिर ११ गतेदेखि २०५९ कार्तिक १९ गतेसम्म) र दुई महिना राज्यले बाजुरा र हुम्लाको हिरासत (२०५५ माघ २२–२०५५ चैत ३ गते) मा चरम यातना दिइ राखेको थियो ।
जनादेश साप्ताहिक (२०५३–२०६४), महिमा साप्ताहिक (२०५४–२०६४) योजना साप्ताहिक (२०५६–२०५७) कर्णाली आवाज मासिक (२०५७–२०५८) भूमिगत रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रशारण सेवा (२०६०–२०६२), नौलो जनसन्देश दैनिक (२०६३–२०६४) जनआवाज रेडियो (२०६४) जनदिशा दैनिक (२०६४–२०७०) संवाद डवली प्रेस क्लव (२०७०–२०७२) मा काम गरेका छन् डा. रोकायाले । जनधारणा साप्ताहिकको स्तम्भकार भई (२०७२–२०७५) निरन्तर रुपमा लेखनका माध्यमबाट जनतालाई सूसुचित पार्ने कार्यसमेत गरेका छन् डा. रोकायाले ।
पत्रकारिता गर्ने क्रममा देशको ७५ जिल्लाको भ्रमण गरेका छन् । त्यसमध्ये उल्लेखनीय छ–इलामदेखि हुम्लासम्मको लामो पैदल यात्रा २०६१ मा गरेका छन् । यस्तै विदेश यात्रामा भारत २०४६, २०५२, २०६०, २०६२ पाकिस्तान २०६० चीन २०६६, २०७१, २०७४ र उत्तर कोरिया २०७४ भ्रमण गरेका छन् ।
संवाद डवली प्रेस क्लवको संस्थापक अध्यक्ष डा. रोकाया नेपाल अनुसन्धान विकास प्रतिष्ठान लगायत एक दर्जन संघ–संस्थामा आबद्ध छन् ।
गोदावरी क्षेत्रको पर्या–पर्यटनको प्रभाव २०६८ रुकुम–रोल्पामा युद्ध पर्यटनको संभावना २०६९ कर्णालीको सुरक्षित एकीकृत बस्ती विकाससम्बन्धी अध्ययन २०७४ कर्णालीको जातिभाषा र साँस्कृतिक अवस्थाको अध्ययन २०७५, हिमाली क्षेत्रमा आवाशीय विद्यालयको सम्भाव्यता अध्ययन २०७५ रसुवा, वाजुरा, कालिकोट, सुर्खेत, जाजरकोट र सल्यान जिल्लाको अवस्थाको विश्लेषण २०७५ लगायत सामाजिक तथा आर्थिक क्षेत्रमा अनुसन्धान गरेका छन् ।

डा. रोकायाद्वारा लिखित कृति खस–व्यासी थपाल्याको नलेखिएको इतिहास २०६५ नाफाको जिन्दगी प्रथम सस्करण २०६९ दोस्रो संस्करण २०७२० र लिपुलेक भ्रम र यथार्थ थम संस्करण २०७२ दोस्रो संस्करण २०७७ प्रकाशित छन । कर्णालीको सेरोफेरो २०७८ र नाफाको जिन्दगी २०७८ अंग्रेजीमा अनुवाद भई प्रकाशोन्मुख रहेको छन् भने विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा समेत विचारहरु प्रकाशित छन् ।
विश्व भ्रमण गर्ने लक्ष्य रहेपनि हाल नेपालको ७५ जिल्ला र विदेशमा भारत, चीन, पाकिस्तान र उत्तर कोरिया भ्रमण गरेको अनुभवले नेपाललाई समृद्ध बनाउने कार्यमा निरन्तर लाग्नका लागि प्रेरणा मिलेको डा. दीपेन्द्रको अनुभव छ । हाल उनी राजनैतिक रुपमा नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला समन्वय समितिका संयोजक छन् ।







