Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

देउवा, प्रकाशमान र काँग्रेस

नेपालको राजनीतिक इतिहासमा देशको लागि योगदान दिने पार्टीहरु मध्ये नेपाली काँग्रेसको नाम पहिलो पंक्तिमा छ । राणा शासनको अन्त्यका लागि लड्ने राजनीतिक दलहरुमा नेपाली काँग्रेसले नै त्यसको नेतृत्व गरेको थियो । प्रजातन्त्रको स्थापनाका लागि नेपाली काँग्रेसले दिएको योगदानको चर्चा विपक्षीहरुले मनमनै मात्र गर्ने गर्दछन् । किनकी राजनीतिमा जो कोहीको पनि आफ्नो सफलताको स्वार्थ हुन्छ । त्यही स्वार्थलाई पूरा गर्नका लागि विपक्षीहरुले गरेका कार्यहरुको चर्चा र प्रशंसा गर्नु उनीहरुका लागि घातक हुने हुनाले पनि अन्य दलहरुले नेपाली काँग्रेसको चर्चा र प्रशंसा गर्न नसक्नु स्वाभाविक हो ।

Image may contain: Kapil Acharya Kshitiz, beard and closeup
कपिल आचार्य

नेपाली काँग्रेसको सिद्धान्त प्रतिपादन गर्ने विश्वेश्वर प्रसाद कोइराला र उनले दिएको योगदान पनि कम छैन, प्रजातन्त्र स्थापनाका लागि । ‘गुरु घर विद्या सर’ भने झैं सायद त्यसकै उपज हुनु पर्छ कोइराला परिवारमा नेपाली राजनीतिको राम्रो छाप पर्नु । अझ विशेष त के हो भने एउटै बाबुका तीन ÷ तीन छोराहरु देशको प्रधानमन्त्री हुनुले पनि राजनीतिक रुपमा कोइराला परिवारलाई बलियो बनाएको हो । कोइराला परिवारका विश्लेश्वरप्रसाद भन्दा पछि बढि चर्चामा रहेका गिरिजाप्रसाद कोइराला नै हुन् । देश र जनताको लागि आफ्नो ध्येय र उद्देश्य बढि लादेर पार्टीको लक्ष्यलाई कम पछ्याए पनि कोइराला परिवारको हातमा हुने बेलासम्म नेपाली काँग्रेसको अवस्था फरक थियो ।

राजपरिवार र कोइराला परिवारका वीचमा एक खालको बलियो सम्बन्ध थियो । जसका कारण प्रजातन्त्रको पक्षपाती काँग्रेसले आफ्नो अस्तित्वका लागि पनि राजसंस्थालाई साथसाथै लैजानु पर्छ भन्ने भावना विश्वेश्वरमा पनि भएको पाइन्छ । तर राजसंस्थालाई पाखा लगाएर आफू देशको राष्ट्रपति बन्ने र इतिहासका पानामा नाम लेखाउने लोभमा परेर गिरिजाले जुन खेल खेले त्यसले उनी सफल बन्न सकेनन् भने राजसंस्थालाई पनि सफल हुन दिएनन् । तत्कालिन समयमा भरखरै जनयुद्धबाट जनप्रतिनिधिको रुपमा आएका माओवादीहरुको अदूरदर्शीताका कारण पनि गिरिजा देशको पहिलो राष्ट्रपति बन्न नपाएका हुन् । जसको कारण पछि माओवादीको सरकार समेत असफल भएको थियो ।

गिरिजाप्रसाद भन्दा पछि सुशील कोइरालाले काँग्रेसको नेतृत्व सम्हाली रहेको बेला पनि काँग्रेसले आफ्नो अस्तित्व जोगाएकै थियो । एकातिर काँग्रेस आफ्नो मात्र हो भन्ने भावना भएका कोइराला परिवार र अर्कोतिर काँग्रेसलाई कोइराला परिवारको हातबाट कसरी फुत्याउन सकिन्छ भन्ने अन्य काँग्रेसीहरुको वीचमा भएको गुटबन्दीको राजनीतिकै कारण शेर बहादुर देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) को स्थापना गरेका हुन् । आफू पार्टी सभापति हुनकै लागि उनले काँग्रेस भित्र ल्याएको फाटो र पार्टी फुटालेर भएपनि स्वाद चाख्ने जुन कार्य गरे त्यसले काँग्रेसका शुभचिन्तकहरुलाई दुःखी तुल्यायो ।

सुशील कोइरालाको निधन पछि भएको काँग्रेसको महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भए । सधैं कोइराला परिवारको वरिपरि मात्र घुमिरहने काँग्रेस अब अन्य नेताहरुको हातमा प¥यो । जहिलेपनि एकलौटी निर्णय गर्ने कोइराला परिवारको हातबाट काँग्रेसलाई आफ्नो लिएका शेरबहादुर देउवाप्रति धेरै काँग्रेसहरुले आशाको आँखाले हेरेका थिए । तर देउवाको सक्षमता शुन्य रहेछ । जसका लागि आज काँग्रेसले यो हविगत व्यहोर्नु परेको छ । पार्टी सभापति भइसकेपछि आफ्नो गुटका नेता तथा कार्यकर्ताहरुलाई मात्र काँग्रेस हुन अर्को गुटका नेता कार्यकर्ताहरु जबरजस्ती झुण्डिन आएका होलान् झैँ गरेर सौतेलो व्यवहार गर्ने उनको जुन अपरिपक्वता छ त्यसले गर्दा काँग्रेसले यो अवस्थाको सामना गर्नु परेको छ । हिजोका दिनमा विश्वेश्वरले निर्माण गरिदिएको संगठनलाई यो वा त्यो वाहानामा गुटबन्दी गरेर अगाडि बढ्नु सम्भव छैन भन्ने उनले कहिल्यै बुझेनन् ।

पार्टी सभापति भएको यतिका दिन महिना र वर्ष वितिसक्दा पनि पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिन नसक्नु देउवाको काँग्रेस भित्रको अर्को असफलता हो । स्थानीयहलको निर्वाचनमा सन्तोषजनक स्थानमा विजय हासिल गरेको काँग्रेसले प्रदेश तथा संघीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु प¥यो । आफ्नो संगठनलाई चुस्त र दुरुस्त बनाउन नसक्ने, आफ्ना मतदाताहरुलाई संरक्षण गर्न नसक्ने अनि वामहरु एक भएको कारण निर्वाचन हारियो भनेर जवाफ दिन काँग्रेस नेतृत्वले लाजै मानेन । टिकट वितरण गर्दा पार्टी भित्र राम्रो छवि भएका, निर्वाचन जित्न सक्नेहरुलाई भन्दा पनि मेराहरुलाई टिकट वितरण गरेपछि के हुने रहेछ भनेर देउवाले अझैं पनि सोचेका छैनन् होला ।

काँग्रेसीहरु किन नैतिकताको राजनीति गर्न जान्दैनन् भनेर व्यापक रुपमा चर्चा भइरहेको बेलामा आफ्नो नेतृत्वमा पार्टीले यसरी व्यहोर्नु परेको हारको जिम्मेवारी लिँदै पार्टी सभापतिबाट राजीनामा दिएर संगठन विस्तारमा लाग्नु पर्ने होइन र । तर पनि भएको दोष अरुलाई थुपार्ने अनि आफू चाँही पानी माथिको ओभानो बनेर शक्तिमा बसिरहने ।

आफूले पार्टी नेतृत्व सम्हाली रहेका बेलामा संसदीय दलको नेता अरु कुनै नेताहरुलाई दिएको भएपनि के फरक पथ्र्यो र । तर किन देउवा आफैले संसदीय दलको नेतृत्व लिनु परेको । उनले पार्टी संचालन गरिरहेको बेलामा के अरु नेताहरु संसदीय दलको संचालन गर्न सक्षम थिएनन् र ? पछिल्लो समयमा नेपाली काँग्रेसको महामन्त्री समेत भएर चर्चामा आएका भएपनि नेपाली राजनीतिका लौहपुरुष गणेशमानले बनाएको संगठन र उनले कमाई दिएको राजनीतिक प्रतिष्ठाको ब्याजमा प्रकाशमानले देउवासँग पौठेजोरी खेले । निर्वाचनका बेलामा राम्रालाई भन्दा पनि हाम्रालाई टिकट दिएका कारण देउवा पक्षका सांसदहरु धेरै भएको कारण मात्र होइन उनी पार्टीको सभापति पदमा भएकाले पनि धेरै सांसदहरुले उनलाई भोट हाले । जसको कारण प्रकाशमानले १९ भोटमा चित्त बुझाउनु प¥यो ।

देशले संघीय शासन व्यवस्थाको कार्यान्वयनको शुरुवात गरिरहेको छ । यस क्रममा देशमा सात वटा प्रदेश छन् । सात वटा प्रदेशमा कुनै पनि प्रदेशमा नेपाली काँग्रेसले सरकारको हैसियतमा आफ्नो उपस्थिति जनाउने ठाउँ छैन । हिजोका दिनमा मधेशको नारा लिएर आएका कतिपय भारतीय नागरिकताधारीहरुले एउटा प्रदेशमा आफ्नो वर्चश्व जमाइसकेको बेलामा राणादेखि राजासमेत पाखा लगाउन सक्ने काँग्रेस प्रतिपक्षमा बस्ने अवसर प्राप्त भएकैमा सन्तुष्ट देखियो । थ्रेस होल्ड काट्न सफल भएकैमा खुसी मान्नु पर्ने दुर्दशामा पुग्नु पर्ने अवस्थाको सिर्जना किन र कसरी भयो भनेर समालोचनात्मक रुपमा समेत बस्न सकेन ।

गगन थापालगायतका नेताहरुले पार्टीको अधिवेशन बोलाउनु पर्छ । अब काँग्रेस युवाहरुको हुनु पर्छ र युवाहरु काँग्रेसका हुनु पर्छ भनेर आवाज उठाइरहेको बेलामा देउवाले सुनेको नसुने झैं गरिरहेका छन् । कुनै पनि पार्टी नेताको पक्षमा भयो भने उसले जनताको पक्षबाट पाउनु पर्ने जनमत प्राप्त गर्न सक्दैन । पछिल्लोे निर्वाचनमा वामहरु एक ठाम भएकै कारणले निर्वाचन जितेका हुन भनेर भन्ने हो भने काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन तयार भएको होइन र ? लोकतान्त्रिक गठबन्धनमा काँग्रेस निरंकुशी देखिएकै कारण न काँग्रेसले फल पायो न अन्य लोकतान्त्रिक शक्तिले । समग्रमा भन्ने हो जनताले जनमत जाहेर गर्ने बेलामा एक पटक गठबन्धनका नेताहरुले बोलेका वाक्यांशहरुलाई पनि सम्झे होलान् । अनि सम्झे होलान् काँग्रेसको नेतृत्व र कार्यशैलीलाई पनि ।

अहिले काँग्रेसको संसदीय दलको नेता देउवा भएपनि प्रकाशमानले पुनः पदका लागि मात्र राजनीति नगरि जनताका लागि राजनीति गर्ने क्षमताको प्रदर्शन गर्नुपर्छ । धरासायी भएको काँग्रेसको संगठनलाई पुर्ननिर्माणतिर लाग्नु पर्छ । भोलिका दिनहरुमा काँग्रेसलाई कसरी अगाडि लैजानु पर्छ भनेर दत्तचित्त भएर सोच्नु पर्छ । काँग्रेसमा किन विचलन आयो भनेर आत्मालोचना गर्नु पर्छ । गुटको राजनीतिबाट बच्न सक्नु पर्छ । अनि मात्र काँग्रेसले जनतावीचमा नयाँ नीति र कार्यक्रमका साथ जानु पर्छ । ‘मेरा बा ले घ्यू भएका थिए मेरो हातमा अहिलेसम्म घ्यू को वासना छँदैछ’ भनेर जनता अब भोट दिनेवाला छैनन् । चेतना भया ।