भयंकर बधाई छ जमुना तिमीलाई
मैले पत्रकार महासंघको निर्वाचनमा विजय प्राप्त गरेको बेला तिमीले मलाई भयंकर बधाई दिएकी थियौ । तिमीमा निकै ठूलो खुसीको बहार छाएको थियो त्यो दिन । मलाई लाग्थ्यो त्यो निर्वाचनमा मैले होइन तिमीले सफलता प्राप्त गरेकी हौ । तिमीले कामना पनि त गरेकी थियौ । मलाई निर्वाचनमा सफलता मिलोस् भनेर । खासै नजिक हुन नसकेका हामीलाई त्यही निर्वाचनले धेरै नजिक बनाएको थियो । तत्पश्चात हामी एक अर्काको दुःखसुखमा साथ दिन सक्ने भएका थियौ । हुन त न तिमीले चाहे जस्तो हुने सम्भावना थियो न मैले चाहेको जस्तै । तर पनि एक आपसमा असल साथी भएपछि एउटाको खुसीमा अर्काले रमाउन सक्नु र एउटालाई चोट लागेको बेलामा अर्कालाई दुख्नु स्वभाविकै हो । करिब डेढ वर्ष हामीले यसरी नै विताइरहेका छौ ।
प्रत्येक चाड पर्वहरुमा सबै भन्दा पहिले हामी आफैमा शुभकामना आदानप्रदान गर्ने गर्दछौ । त्यसपछि मात्र अरुहरुका बीचमा । तिमीले मलाई दिएका शुभकामनाका शब्दहरुले साँच्चिकै मेरा दिनहरुलाई अनि मेलै मनाउने पर्वहरुलाई शुभ बनाइदिने गरेका छन् । मलाई लाग्छ मैले अरु केही गर्न नसके पनि तिम्रो जीवनमा सुखद भविष्यको कामना भने अवश्य गर्न सकेको छु । हो, तिमीले धेरै पटक मलाई भन्ने गरेकी छ्यौ हजुरले गरेको कामनाले मेरो आधा रोग सञ्चो हुने गर्दछ । तिमीले म प्रति देखाएको हार्दिकता हो यो । त्यही हार्दिकताका कारण मैले तिमीलाई झनै नजिकबाट नियाल्ने मौका पाएको हँु ।
आफ्नो जीवनको आरोह र अवरोह पार गर्ने क्रममा यसै पत्रिकाको साहित्य उद्यान मार्फत जब मैले तिम्रो लेख पढ्ने अवसर पाएँ त्यसपछि साँच्चिकै मलाई विश्वास लागेर आयो अबका केही दिनमा तिमी अरु कसैकी हुँदै छ्यौ । अझ स्पष्ट भनु भने हरिसँग जोडिने भएको छ तिम्रो बाँकी जीवन । महान छ हरि । म राम्रोसँग चिन्छु उसलाई । उसले तिमीलाई लेखेको पत्रमा उल्लेख भएका केही शब्दहरु मैले पनि सापटी लिएर राखेको छु । कुनै दिन आवश्यकता परेछ भने अवश्य भन्नेछु तिमीलाई । तिमी र हरि एक हुन थालेको पत्तो पाएपछि मलाई औधि खुसी लागेको छ । मान्छे आफ्नी प्रेमिकासँग विछोड भएपछि र उसले अर्कैसँग विहे गरेपछि के ठान्छन् होला ? कसरी सोच्ने गर्दछन् उनीहरुमा रिस राग पलाएर आउँछ होला सायद खप्नै नसक्ने गरी । त्यसैले त कोही ब्रम्हचार्य धारण गर्दछन् भने कोही भयंकर ठूला निर्णयहरु । तर म तिम्रो विहेको खबर सुनेर अरुहरु जस्तो निर्णय किन गर्थे र । किनकी तिमी र म प्रेमी प्रेमिका हुँदै होइनौ हामी त असल साथी पो त ।
असल साथी भएकैले प्रेमी प्रेमिका झैँ हामी कहिल्यै एकान्तमा घुम्न गएनौ । हामीले कहिल्यै गलत सोच बनाएनौ । अनि हामीले कहिल्यै शारीरिक रुपमा नजिक हुने कोसिस गरेनौं जति मानसिक र भावनात्मक रुपमा हामी नजिक छौं । त्यो नजिकता भविष्यमा पनि रही रहने छ भन्ने विश्वास गरेको छु । किनकी मैले हरिलाई राम्रोसँग चिनेको छु । हरिले पनि मलाई । म बारम्बार हरिलाई अब त बिहे गर्नु पर्छ भनेर सल्लाह दिने गर्दथे । उसले मलाई भन्थ्यो ‘नेपाल सरकारको कानूनले विवाहका लागि न्यूनतम् उमेर तोकेको छ अधिकतम् उमेर तोकेको छैन । त्यसैले चिन्ता नगर्नुहोस् एक दिन अवश्य जन्ती जान पाउनु हुनेछ । बरु सुट सिलाएर राखे हुन्छ ।’ हरिका आमा बुबाले मसँग धेरै पटक भन्नु भएको छ, ‘बाबु तिमीले भनेपछि मान्छ कि यसले त विहे नै नगर्ने भयो ।’ तर म उहाँहरुलाई सम्झाउथे उसले खोजिकी जस्तै केटी नभेटेर हो । आफ्नो मन बुझ्ने केटी भेट्यो भने त विहे गर्छ नि चिन्ता नगर्नुहोस् । आज उसले खोजेको जस्तै तिमी भेटिन पुगिछ्यौ । उसले धेरै वर्ष पहिले तिमीलाई भेटिसकेको रहेछ । यसै पत्रिकाले मलाई जानकारी गरायो । उसले तिमीलाई भेट्यो वा तिमीले उसलाई । तर पनि आखिर झापड त उसले नै भेटेको रहेछ । किन भनिनौं आजसम्म यो कुरा मलाई । म तिम्रो असल साथी । मलाई लाग्थ्यो तिमीले मलाई भन्नका लागि कुनै कुरा बाँकी छैन । तर रहेछन् केही कुराहरु । आज थाह पाउँदैछु । जमुना, मैले तिमीलाई भन्नु पर्ने कुनै कुरा बाँकी छैनन् । सत्य बोल्दैछु म, रामाराम ।
हेर त प्रेममा कति धेरै त्याग हुन्छ । त्यही झापडको कारण आजसम्म ऊ कुमार बसिदिएको छ । पढाइमा मिहिनेती मात्र होइन आफ्नो कुरामा निकै अडिग हुन सक्ने मान्छे पनि हो हरि । त्यसैले तिमीले दिएको झापडको बदलामा तिमीलाई पाउने उसको सपना साकार हुँदैछ । सायद यसैलाई त प्रेम भन्छन् होला है । तिमीलाई जसरी अहिले पनि याद छ त्यो झापडको उसलाई पनि होला । त्यो दोबाटोमा हानेको झापड सम्झेपछि तर्सिन्छ होला एक पटक र सुमसुम्याउँछ होला तिम्रा औलाको डाम बसेको ठाउँमा ।
तिमी भन्थ्यौ नि हजुरले गरेको कामना मेरो लागि भगवानले दिएको बरदान जस्तै हो । तिमीहरु वैधानिक रुपमा एक भएपछि एकआपसमा कहिल्यै पनि झापडको खेल खेल्ने छैनौ । किनकी तिमीहरु दुबैले एकले अर्कोलाई बुझेका छौं । मैले यही कामना गरिरहेको छु ।
हरिले त मलाई खासै तिम्रो बारेमा केही पनि भनेको छैन अहिलेसम्म । आखिर तिमीलाई नै दुलही बनाउने र मलाई जन्ती बनाउने योजना बनाएकोले होला उसले तिम्रो बारेमा मसँग केही कुरा नगर्नु । आखिर तिमीले पनि त हरिको बारेमा मसँग केही भनिनौं । किन ? यो प्रश्नको उत्तर तिमीसँग माग्दिन म अब । तिमीले एक वचन हरिको बारेमा मसँग भनेको भए के हुन्थ्यो र ? हुन त भन्न नसकेर पनि होला । बुझ्छु म साथीको मन ।
प्रत्यक्ष रुपमा भेटेर नै हरिको बारेमा कुरा गरेको भएपनि हुने । तिमीहरुको निर्णय कार्यान्वयन हुने समयमा फोनमा मात्र तिमीले मलाई यस्तो कुरा गरेपछि मलाई त विश्वास नै लागेको थिएन । तर जब सञ्चार माध्यममा नै तिमीले सबैका अगाडि छताछुल्ल हुने गरी यस्तो कुरा ग¥यौ । त्यसपछि मात्र मलाई विश्वास लागेको हो । आफ्नो पवित्र मायालाई सबैका अगाडि तिमीले यसरी खुलेआम भन्ने हिम्मत गरेकोमा पनि मलाई गर्व लागेको छ । घरमा आमा बुबाले आफ्नै आगनमा यज्ञ मण्डपको तयारी गरेर तिमीलाई दान गर्ने जुन सोच बनाउनु भएको छ यसले पनि मलाई खुसी तुल्याएको छ । किनकी कुनै दिन तिम्रो बारेमा कोही मान्छेले केही कुरा काटेका थिए । जसको विरुद्धमा तिमी र म एक भएर लडेका थियौ र तिमीले जितेकी थियौ । मैले विजय प्राप्तिको माला लगाएको थिएँ । त्यसैले अरुहरुले भने झँै गर्नु हुँदैन भन्ने त्यो दिनको आमाको अर्तिले पनि तिमीमा सहास आएको हुनुपर्छ ।
म कल्पना गरिरहेको छु । मंसिर २९ को । मेरो असल साथी अब परिपक्क हुने भएकोमा । तिम्रो सिउँदोमा सिंन्दुर भरिने छ त्यो दिन । तिम्रा हातमा चुरा छिन्छिन् बज्नेछन् । तिम्रो गलामा रातो पोते सजिएको हुनेछ । अनि तिमी रातो दुलहीको घुम्टोमा सजिएकी हुनेछ्यौ । कति सुहाउँछ है तिमीलाई रातोरंग । हो, त्यही रातो रंगले स्वागत गर्नेछ हरिको घरमा तिमीलाई । माइतीको घरमा बजिरहेका बाजा तिमी त्यहाँ हुने बेलासम्म मात्र बज्नेछन् । जब तिम्रो डोली चल्नेछ त्यही डोलीसँगै जानेछन् ती बाजा पनि । एक छिन सुनसान हुनेछ तिम्रो माइती घर । एक छिन् अगाडिसम्म खुसीले भरिपूर्ण भएको आमाको मनले मान्ने छैन शान्त हुनलाई । खस्नेछन् आमाको आँखाबाट आँसुका थोपाहरु । रुनु हुनेछ बाबा पनि भक्कानिएर भित्र भित्रै । सजिएकी हुनेछ्यौ तिमी डोलीमा । मैले धेरै ठाउँमा देखेको छु बहिनी पठाउँदा दाजुहरु पनि निक्कै हिक्क–हिक्क हुने गरेको । त्यसै गर्नु हुनेछ दाजुहरुले पनि । सान्दाई त झनै मनको सारै कोमल मान्छे रोकिने छैनन् आँखामा आँसुका धारा । बाहिर जे जस्तो भएपनि मनमा निकै पीर परेको हुनेछ तिमीलाई पनि । माइतीको आगन छोडेर पराईको घर जानु पर्दाको पीडालाई पखाल्नका लागि निकै रुने छ्यौ तिमी । तर सक्ने छैन त्यो आँसुले तिम्रो मनको पीर पखाल्न ।
तिम्रो आगमनमा सजिएको हुनेछ हरिको घर । ध्वजा पताकाले सजिसजाउ भएको घरमा भित्रिने छ्यौ तिमी । अनि टीकाटालो हुनेछ । त्यसपछि वैधानिक रुपमा तिमी त्यो घरकी बुहारी हुनेछ्यौ । पाउने छौ नयाँ नाताहरु । एउटा गृहिणीको जिम्मेवारी थपिनेछ तिमी माथि । कसैले भाउज्यू, कसैले माइज्यू, कसैले बुहारी कसैले कान्छीआमा भनेर बोलाउने छन् तिमीलाई । त्यही दिनदेखि तिमी देउरानी हुनेछौ कसैकी । अनि हरिकी श्रीमति । जिन्दगीको पहिलो अनुभव हुनेछ तिमीलाई । नयाँ घर र नयाँ परिवेशमा अनौठो हुनेछ तिम्रो मन । आखिर पितृसतात्मक हाम्रो समाजले छोरीलाई एकदिन पराइको घरमा पठाएरै छाड्छ । त्यही नियममा बाँधिने छ्यौ तिमी ।
लाग्ने छैन निद्रा । लागोस् पनि कसरी । एकातिर माइतीघर छोड्नुको पीडा अर्कोतिर नयाँ घर पाउनुको आनन्द । तिमीले लेखेका शब्दहरुको अध्ययन पश्चात एक पटक सँगै बसेर चियागफ गरेका छौ हरि र मैले । श्रेष्ठ परिवारको सबै भन्दा बढी मिल्ने साथी पनि हो हरि मेरो । आफूले कहिल्यै नबिर्से पनि कहिल्यै सम्झाउने छैन तिमीलाई त्यो झापड हानेको दिन उसले । उसले गरेको रहेछ एउटा त्याग तिमीलाई पाउने । त्यो त्याग यही मंसिरमा पूरा हुनेछ उसको । जसरी बुद्धले बुद्धत्व प्राप्त गरेका थिए त्यसैगरी उसले आफ्नो सफलतासँग जोडेर हेर्ने छ तिम्रो जीवनलाई ।
तिमीले पनि त्यसै गर्नु । रिझाउन सक्नु पर्छ जमुना, धेरै मान्छेहरुलाई रिझाउन सक्नु पर्छ । पितृसतात्मकता गाँसिएको हाम्रो समाज यस्तै छ । हुन त तिमी म भन्दा पनि धेरै जान्ने छ्यौ तर पनि तिमी भन्दा दुई चारवटा बढी भोटी फटालेको र दुई चारवटा बढी रोटी खाएको नाताले पनि मैले यी सबै कुरा तिमीलाई भनिरहेको छु । मलाई विश्वास छ यसलाई तिमीले अन्यथा लिने छैनौ । हाम्रो समाजमा ‘आफ्नो श्रीमान्लाई कसरी बसमा पार्न सकिन्छ भनेर निकै कसरत हुने गर्दछ भने छोरा बुहारीको बसमा पर्छ कि भनेर खुबै चिन्ता’ गरिन्छ । मलाई लाग्दैन तिमी हरिलाई आफ्नो बसमा पार्नका लागि घर परिवारका बीचमा विवाद उत्पन्न गराउने छ्यौ भन्ने लाग्दै लाग्दैन । किनकी एउटा शिक्षित परिवारमा आइपुगेकी एउटा शिक्षित बुहारी हुनेछ्यौ तिमी । मैले सुनाइदिएको छु हरिलाई म र जमुना असल साथी हौ भनेर । म अब तिमीलाई प्रत्यक्ष रुपमा भेट्न पाउला नपाउँला तर पनि यही पत्रिकाको सहायतामा भन्दैछु जिन्दगी चलाउनका लागि अनेकथरी दुःखसुख गर्नु पर्छ तर कहिल्यै झुट बोल्नु हुँदैन । नबोल्नु तिमीले झुट हरिसँग पनि । राम्ररी बुझेको छ हरिले तिमीलाई र बुझेकी छ्यौ होला तिमीले हरिलाई । आखिर ‘देखेको हुँदैन लेखेरै ल्याउनु पर्छ’ भन्थे हो रहेछ । साँच्चिकै तिमी भाग्यमानी छ्यौ । हरि जस्तो सुन्दर, शान्त, वौद्धिक व्यक्तित्व तिम्रो भाग्यमा लेखेको रहेछ । अनि तिमी जस्ती महान मन र बिचारबाट ओतप्रोत भएकी साक्षात लक्ष्मी जस्ती जीवनसाथी हरिको भाग्यमा । त्यसैले पनि तिमीहरुको दाम्पत्या जीवन साँच्चिकै स्वर्णीम देखेको छु मैले ।
मैले कुनै दिन भनेको सम्झना छ तिमीलाई । छैन भने फेरि याद दिलाउँछु यी शब्दहरुबाट । तिमीलाई थाह छ नि, नेपाल सरकारको कानून बमोजिम ठूलो गल्ती गरेको छु मैले । आजको जस्तो समय र परिस्थिति भइदिएको भए म त्यो गल्ती गर्नबाट जोगिने थिएँ होला । अझ भनौ जोगाइन्थ्यो होला । तर मैले आफूले जानेर भन्दा पनि अञ्जानमै गरेको हुँ त्यो गल्ती । जुन कुरा मैले तिमीलाई पनि भनेको थिएँ कुनै दिन । म चाहेर पनि यो गल्तीबाट उम्किन सकिन र अब त झन सक्दै सक्दिन । त्यो मेरो बाध्यता भन्दा पनि अरु कसैको रहर पूरा गर्नका लागि गरिएको गल्ती थियो । बालविवाहको गल्ती । अझ भनौ पुण्य कमाउनका लागि गरिएको शिशुविवाहको गल्ती । त्यसैले मलाई थाह छैन त्यो क्षण । मैले कतै पढेर मात्र बुझेको छु सुहागरातको कथालाई । जीवनमा बन्न सकेन सुहागरातको कथा मेरो आफ्नै । मैले घुमेर र चुमेर मनाउन पाइन हनिमुन । यो यथार्थता भित्रको कटु सत्यले पोलि राख्छ मलाई बारम्बार । त्यसैले म कामना गरिरहेको छु तिम्रो सुखद जीवनको । हुन त जीवनलाई कसरी सुखद बनाउने भन्ने कुराको निर्णय आफैले गर्नु पर्छ । त्यो निर्णय गर्न तिमी सक्षम छ्यौ ।
म यत्ति भन्छु । त्यो दिन तिम्रा लागि नौलो हुनेछ । त्यो नयाँ घरमा चारैतिर खुसी नै खुसी छाएको हुनेछ । त्यही खुसी भित्रको एउटा दरिलो खम्बा बनेर बसेकी हुनेछ्यौ तिमी । एउटा बन्द कोठा भित्र । छरिएका हुनेछन् पुष्पगुच्छाहरु त्यहाँ । विछ्याइएको हुनेछ रातो कार्पेट तिम्रा लागि । ओहोरदोहोर गरिरहेको हुनेछ सुगन्धको झोक्का । खुल्नेछ विस्तारै ढोका । आउनेछ एउटा मान्छे जसलाई तिमीले भगवान कृष्णको जस्तो रुपको उपमा दिएकी छ्यौ । अनि झलमल्ल हुनेछ त्यो कोठा । कता कता तिमीलाई डर लाग्ला तर नडराउनु । बस्नेछ विस्तारै तिम्रो नजिक । सायद बढ्नेछ तिम्रो मुटुको धड्कन । उसले खोल्नेछ दुहलीको रातो घुम्टोलाई । थरथर काँप्नेछ तिम्रो शरीर । धैर्य गर्नु त्यतिबेला । सोध्नेछ उसले तिमीलाई म एउटा कुरा देखाउ ? अलिकति डर अलिकति आशा र अलिकति कौतुहलतामा तिमीले स्वीकृतिले टाउको हल्लाउने छ्यौ अनि भन्नेछ हरिले ‘यी हेर त जमुना मेरो बत्ति बल्ने घडी ।’ सफल रहोस् तिम्रो सुहागरात पनि ।
जमुना, हजार दुःखकष्टहरु खेप्न तयार हुनु तर माइतीको इज्जत र प्रतिष्ठामा आँच आउने काम कहिल्यै नगर्नु । अनि मेरो साथीत्वमा कहिल्यै दाग नलगाउनु । तिमीलाई थाह छ नि मैले तिमीलाई पाउनका लागि साथी बनाएकै होइन अनि तिमीले पनि । हामी हिन्दु संस्कारमा जन्मे हुर्केका मान्छे । यो पृथ्वीमा भएका चरा, ढुङ्गा, झार, बृक्ष, किरा, पशुलाई त हामी देवताको रुपमा पूजा गर्छौ र उनीहरुलाई माया गर्छौ भने तिमी हामी त मान्छे हौ मान्छे । त्यसैले एक अर्कालाई माया ग¥यौ । यसमा हामी दुबै दोषि छैनौं । न त प्रकृति नै दोषि छ । त्यसैले कसैलाई पनि दोष दिनु हुँदैन ।
हो, घरजम भइसकेपछि पहिलेको जस्तै फुर्सद नहोला तिमीलाई । तर पनि माया गर्न कहिल्यै नछोड्नु है । बस, मेरो शरीरमा एक थोपा रगत रहेसम्म म पनि माया गरिरहने छु तिमीलाई । तिम्रो सफल दाम्पत्या जीवनको शुभकामनासँगै भयंकर बधाई ।







