Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

छुवाछुत घटाउन प्रतिबद्ध

सुर्खेत, ६ मंसिर ।

जातिय विभेद तथा छुवाछुत घटाउन खालका योजना छनौट गर्ने बराहताल गाउँपालिका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र दलित महिला सदस्यहरुसहितको सहभागितामा बिहीबार (आज) भएको संवाद कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् ।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले आफ्नो कार्यकालमा बराहताल गाउँपालिकाबाट जातिय विभेत तथा छुवाछुत अन्त्य गर्ने उद्देश्य रहेकाले सोही अनुसार योजनाहरु छनौट गरिने बताए । गाउँपालिकामा जातिय छुवाछुत र महिनावरी हुँदा महिलालाई गरिने छुवाछुत बिक्राल रहेको भन्दै अध्यक्ष वस्नेतले त्यसको अन्त्यका लागि ठोस योजना गरेरै अगाडी बढ्ने बताए । ‘बाहिर हेर्दा मात्रै नदेखिएको हो गाउँमा छुवाछुत र छाउप्रथाको बिकराल अवस्था छ’ कार्याशालामा बोल्दै अध्यक्ष वस्नेतले भने,‘यसको अन्त्यका लागि ठोस कार्ययोजना बनाएर अगाडी बढौँ ।’ उपाध्यक्ष शोभाकुमारी शर्माले गाउँपालिकाले हरेका योजनामा जातिय विभेद तथा छुवाछुत घटाउने, लैंगीकमैत्री एवं समावेशीतामा ध्यान दिएको भन्दै आगामी दिनमा अझै प्राथमिकता दिइने प्रतिबद्धता जनाइन् । उनले जातिय विभेद र छुवाछुत मुक्त गर्नका लागि वस्ती स्तरबाट योजना ल्याउन पनि वडा अध्यक्ष र दलित महिला सदस्यहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा सहभागी दलित महिला सदस्यहरु र अन्य सरोकारवालाहरुले गाउँपालिकाले जातिय विभेद र छुवाछुत अन्त्य गर्नका लागि उचित नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै सरोकारवालाहरुले शिक्षा, रोजगारी, आयआर्जनमूलक र चेतनामूलक कार्यक्रम ल्याई जातिय छुवाछुत जस्ता कुरिती अन्त्य गर्नुपर्नेमा जोड दिए । वडा नं. ७ की सदस्य देवि बि.क.ले दलित विद्यार्थीहरुलाई छात्रबृति, विद्यालय पोशाक, दिवा खाजा, अभिभावकका आयआर्जनका लागि योजना ल्याउनुपर्नेमा सुझाव दिइन् ।

वडा सदस्य कृष्णा नेपालीले स्थानीय तहमा दलित महिलाहरुको सहभागिता भएपनि आवश्यक जातिय छुवाछुत अन्त्यका लागि खासै पहल हुननसकेको तितो यर्थाथलाई केलाउँदै त्यसका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताइन् । साझा आवाज कार्यक्रम अन्तर्गत गाउँपालिकासंगको सहकार्यमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले स्थानीय नेतृत्व र स्थानीय योजना निर्माण संयन्त्रसंगको संवाद कार्यक्रममाको आयोजना गरेको हो । कार्यक्रममा सचिव भीम शाही÷परियारले स्थानीय सरकार आफैमा अधिकार सम्पन्न भएको हुँदा गाउँपालिकाले दृढ इच्छाशक्तिका साथ काम गरेमा जातिय विभेद तथा छुवाछुत अन्त्य गर्नसक्ने दाबि गरे ।

उनले यससम्बन्धी आवश्यक नीति बनाई गाउँपालिकाबाट पहिलो कार्यकालमै जातिय विभेद तथा छुवाछुत अन्त्य गर्न सुझाव समेत दिए । साझा आवाजका जिल्ला परियोजना संयोजक इन्द्र रसाइलीले सहजीकरण गरेको कार्यक्रम संस्थाका अध्यक्ष रुद्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।