Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

लोकतान्त्रिक गणतन्त्र कि निरंकुशी साम्यवाद

नेपालको संविधान २०७२ ले नेपाललाई लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था भएको मुलुकको परिचय दिएको छ । कुनै पनि देशले आफ्नो देशको शासन व्यवस्था कस्तो हुने भन्ने बारेमा संविधानमा नै उल्लेख गरेको हुन्छ । संविधान बमोजिम नै देशको शासन व्यवस्था संचालन हुने हुनाले नै संविधानलाई मूल कानूनको रुपमा व्याख्या गर्ने गरिन्छ । अतः त्यो संविधानको अक्षरस पालना हुनु पर्दछ र शासन व्यवस्था संचालन गर्नेहरुले पनि संविधानको पालना गराउनु पर्दछ । संविधान बमोजिम बनेका कानूनहरु पनि संविधान जत्तिकै महत्वपूर्ण हुन्छन् । त्यसैले ति कानूनहरुको पालना गर्नु गराउनु पनि सबै नागरिकदेखि सरोकारवाला, सरकारी संयन्त्र र प्रशासनिक क्षेत्रको समेत अधिकार, कर्तव्य र जिम्मेवारी हुने गर्दछ ।


शाब्दिक रुपमा हेर्ने हो भने लोकतन्त्र जत्तिको अपनत्व भएको शासन व्यवस्था अरु हुँदैन जस्तो देखिन्छ । किनकी यो शब्दले नै लोकको तन्त्र अझ लोकले लोकका लागि गरिने तन्त्र भन्ने स्पष्ट बोलेको छ । अनि गणतन्त्रले जनतालाई जनताद्वारा नै गरिने शासन व्यवस्थाको व्याख्या गर्दछ । अतः लोकतन्त्र र गणतन्त्र एक अर्काको परिपूरक झैँ भएर बस्ने शासन व्यवस्था हुन । हाम्रो देशका नेताहरुले यी दुबै शासन व्यवस्थालाई एकै साथ संचालन गर्ने र नेपाली जनतालाई सक्दो छिटो समृद्धि प्रदान गर्ने भन्दै लागु गरेको देखिन्छ । तर यी दुई शासन पद्धतीको शुरुवात एकै साथ हुनुमा राजनीतिक स्वार्थ लुकेको अहिले स्पष्ट भएको छ । वामपन्थी विचारधारा राख्नेहरुले गणतन्त्र र दक्षिणपन्थी विचारधारा राख्नेहरुले लोकतन्त्र अंगालेको स्पष्ट भइसकेको छ । त्यसैले नेताहरुकै स्वार्थका कारण नेपालमा लोकतन्त्र र गणतन्त्र एक अर्काको परिपूरक हुन सकिरहेका छैनन् ।

वर्तमान संविधानको निर्माण हुनु भन्दा अगाडि ७ राजनीतिक दल एकातिर र १ राजनीतिक दल माओवादी मात्र एकातिर भएको अवस्थामा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि मात्र १२ बुँदे सहमति भएको होइन । तत्कालिन अवस्थामा राजतन्त्रका विरुद्धमा लाग्नका लागि पनि त्यो सहमति भएको थियो । त्यति मात्र होइन गिरिजाबाबुलाई देशको पहिलो राष्ट्रपति बन्ने सपनाको भूत सवार भएपछि ति सहमति भएका होलान् । तर शान्ति प्रक्रिया हुँदै शासन सत्ता कब्जा गर्दै देशलाई निरंकुशी साम्यवादमा पु¥याउने लक्ष्य राखेकाहरुले गिरिजाबाबुको राष्ट्रपति बन्ने सपनालाई यो जुनिमा पुरा नहुने गरी ध्वस्त पारिदिए । जसका फलस्वरुप पहिलो संविधान सभाबाट निर्वाचित भएकाहरुले संविधानको निर्माण गर्न सकेनन् । आफ्नो राजनीति स्वार्थ पूरा नभएको कुरालाई लुकाएर राजनीतिक दलहरुले फेरि जनताका आँखामा छारो हाले र दोस्रो संविधान सभाको निर्वाचन भयो । त्यसपछि मात्र संविधान लेखियो र जारी भयो ।

नयाँ संविधान बमोजिम लोकतान्त्रिक गणतन्त्रमा संघीय पद्धति अनुसार भएका निर्वाचनमा लोकतन्त्र वा गणतन्त्र भन्ने विषयले नजानिँदो रुपमै निकै कसरत गर्न पुग्यो । जसका कारण जुन जुन बाटोमा हिडेका भएपनि निरंकुशी साम्यवादमा पुग्ने लक्ष्य लिएका दुई ठूला पार्टीहरु एक भए । अर्कातिर लोकतान्त्रिक गठबन्धनको नाम दिएको एउटा झुण्ड अहिले पनि संसदको एउटा कुनामा बसेर अलाप विलाप गरिरहेको छ । साम्यवाद वा समाजवाद । यो निकै व्याख्या र विश्लेषणको विषय हो । साम्यवादमा के हुन्छ र समाजवादमा के हुन्छ । साम्यवाद लागु भएका देशहरुमा के भएको छ र समाजवाद लागु भएका देशहरुका के भएको छ । त्यसको विश्लेषण केवल नेताहरुले आफनो स्वार्थका लागि गरिरहेको छन् । जनता समक्ष त्यसको यथार्थ पुगेकै छैन । जसका कारण निर्वाचनको समयमा लगाइएका मीठा नाराहरु र खुवाइएका ललिपपहरुका कारण मात्र कम्यूनिष्टहरुले वर्तमान दुई तिहाईको सरकार निर्माण गरेका होइनन् । एकातिर काँग्रेसको चरित्रहिन पारा र अर्कोतिर २६ सिटमा पुगेको राप्रपाको सत्तामोह पनि यसको कारक तत्व हो ।

भोट असुल्न सकिन्छ भनेर ल्याएका अनेकन् नाराहरु आज ओझेलमा परेका छन् । कुनै दिन मगराँत, किराँत, गण्डक, मधेशी, थारुहट जस्ता राज्य हुने हल्ला अहिले निमिठ्यान्न भएका छन् । वर्तमान प्रधानमन्त्रीले पाँच हजार बृद्धभत्ता सहित नमस्कार गरेर तपाईको दैलोमा आउँछौ नभनेका होइनन् तर उनी अबको चार वर्षपछि आउने चुनावमा फेरि त्यस्तै भ्रमको खेती गर्न आफ्नो वाचा पूरा गर्नेछन् ।

त्यतिबेलासम्म अस्ति भरखरै १२ करोड राष्ट्रको ढुकुटी आफ्ना आसे, पासे, झोले र गासेहरुलाई बाँडे झैँ बाँडिरहनेछन् । धर्म निरपक्षता भएको देशको प्रधानमन्त्रीले एउटा धार्मिक कार्यक्रममा गएर देशको प्रतिनिधित्व गरेर होली वाइन नामक अमुक चीज मिसाइएको पदार्थको सेवन गर्नु भन्दा ठूलो घात के हुन सक्छ । तर सहशीलतामा बस्न बानी परेका नेपालीहरुले त्यसको विरोध त के कुरा काट्ने आँटसम्म गरेनन् । यस्ता गतिविधिले देशमा निरंकुशी साम्यवादको छनक दिन थालेको भान भइरहेको छ ।

अर्कोतिर लोकतन्त्रलाई बचाइ राख्नका लागि अहम् भूमिका निर्वाह गर्नु पर्ने प्रतिपक्ष काँग्रेस आफ्नै पार्टी भित्रको धमिलो पानीलाई सङ्लो पार्न नसकेका कारण राजनीतिक रुपमा तङ्रिन सकेको छैन । २०७४ सालमा भएका तीन तहका चुनावमा नराम्रोसँग थिलो थिलो भएको काँग्रेस सौताको रिसले पोइको काखमा सु गरिरहेको छ । कुनै दिन रुगा र सुगा ( रुख र गाई, सूर्य र गाई) को नारा लगाएर समानुपातिकमा २६ सिट प्राप्त गर्न सफल राप्रपा आफ्ना ख्ट्टामा आफैले हालेको बन्चरोका कारण राष्ट्रिय पार्टी बन्न नसकेको सत्यता नेपाली जनताका अगाडि स्पष्ट छ । जसको कारण राप्रपा अहिले प्रतिनिधि सभामा १ सिटे पूजारीको काम गरिरहेको छ । त्यो भन्दा तलका अन्य साना पार्टीहरु र नयाँ अंकुरण भएका पार्टीहरु त दुई ठूला कम्यूनिष्टहरु मिलेर बनेको नेकपाका अगाडि भुसुना जस्तै भए । यस्तै कारणहरुले गर्दा अब नेपालको शासन व्यवस्थामा एक तर्फी हालिमुहाली हुने लक्षण देखिएको छ । जुन लक्षणको अन्तिम रुप भनेको निरंकुशी साम्यवाद नै हो । जसका लागि साम, दाम, दण्ड, भेदको प्रयोग भइरहेको छ । त्यसकै बलियो उदाहरण हो ओली ज्यूले पिउनु भएको होली वाइन ।

भौतिक विकासको दृष्टिले विकासशील अवस्थामा रहेको देशमा यति छिटै निरंकुशी साम्यवादको परिकल्पना गरिदैछ कि यसले दुरगामी रुपमा के असर पार्ला त्यसको परिकल्पना गरिएको छैन । आज विभिन्न लोभ र लालचका नाममा एकमत बनाउन सकेपनि कुनै दिन नेपाली जनता आफ्नो जन्मभूमिको एक चिम्टी माटोको टीका लगाएर भाग्न बाध्य हुनेछन् र उनीहरुको नाम इतिहासका पानमा मात्र सिमित हुनेछ । यसको बारेमा कसैले चिन्ता गरेको देखिदैन । जसरी आज माओवादी नामक कुनै पार्टी इतिहासका पानामा सिमित भएको छ । माओवादीको अब इतिहास बाहेक अरु केही रहेन । छैन अब माओवादीको विउ । कुनै दिन ओलीले भनेका थिए, एक दिन नेपालमा न माओवादी रहनेछ न माओवादीका नेताहरु रहनेछन् । जुन कुरा आज सत्य सावित भएको छ । न आज माओवादीका नेता छन् न आज माओवादी पार्टी नै छ । छन् भने इतिहासको साँक्षीको रुपमा शरीरमा गोली लागेका तिलकराम मगर छन् । छन् भने छोराको हत्याको बदलामा न्याय मागिरहेका नन्दप्रसाद अधिकारीका लासहरु वीर अस्पतालको फ्रिजमा छन् । मुक्तीराम अधिकारीका फोटोहरु साँक्षी छन् । डेकेन्द्र थापाका शालिकहरु चोक चोकमा खोजिरहेका छन् आफ्ना हत्याराहरुलाई । त्यो भन्दा बाँकी रहेन माओवादीसँग र यहाँ भन्दा धेरै लेखिने छैनन् इतिहासका पानाहरुमा पनि माओवादीका कथा र व्यथाहरु । आज सत्ता प्राप्त गर्नकै लागि गरिएको थियो यी सब नाटकहरु । त्यसैले त आजको दुईतिहाइ बहुमतको सरकारले साम्यवादी निरंकुशतामा पुग्ने भ¥याङ्गको निर्माण गरिरहेको छ । यदि पंक्तिकारका यी तर्कहरु गलत हुन भने सत्तारोहण भएको एक वर्षसम्म माखो मारेको देखिएन यो सरकारले । माखो मार्ने काम सरकारको होइन भनेर हास्यास्पद मजाक गर्ने प्रधानमन्त्रीले नेपाली जनतालाई भनिदिए हुन्छ के सरकारको काम जनतासँग कर उठाउने र नेतालाई नगद बाँड्ने मात्र हो त ?

देशलाई फेरि एक पटक निरंकुशताबाट बचाउने हो भने नेपाली काँग्रेसले एक कदम अगाडि बढ्नै पर्छ । पार्टी भित्रका गुट र उपगुटका राजनीतिक फोहोरी खेल छोड्नै पर्छ । देश र जनताको लागि उसले फेरि एक पटक इतिहास रच्ने हो भने प्रजातान्त्रिक मूल्य र मान्यता राख्ने राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याएर त्यसको नेतृत्व गर्दै अगाडि बढ्न आवश्यक छ ।

हिन्दु राष्ट्रको नारा लगाउन, धार्मिक सहिष्णुता भित्रको भाइचारालाई काँधमा बोकेर हिड्न काँग्रेसले लाज मान्ने हो भने छोडिदेओस् पशुपति शमसेरको जिम्ममा र लागोस् उनकै पछाडि । लोकेन्द्रबहादुर चन्दको अनुभव, पशुपति शमसेरको बुद्धि र काँग्रेसका योद्धाहरु एकै स्थानमा उभिएर नेपाललाई निरंकुशी साम्यवादबाट बचाउने शंखघोष गर्ने हो भने मात्र नेपाल लोकतन्त्रिक, प्रजातन्त्रमा अडिग हुन सक्ला अन्यथा न्याउरी मारी पछुतो बाहेक अरु केही हुने छैन । बेलैमा सचेत भए राम्रो ।