Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

मैना : असल साथी

बतासको सिरसिर आवाजले त्यति धेरै असर गर्न नसकेपनि खोलाको सुसाहटले भने मनलाई एकाग्र बनाउनै दिएको थिएन । उताबाट आएको रुमखोला र यताको मलुका खोलाको संगमस्थल । त्यसको पारी पट्टि हिजो राती परेको तुसारो अझैँ सुकेको थिएन । त्यसको चिस्याहटको असर मेरो अन्तरमनसम्म पुगेको थियो । मेरा पाइलाहरु छिटो छिटो चल्न चाहन्थे । तर खुट्टाले उक्लनै मानिरहेका थिएनन् त्यो उकालोमा । मनले जतिसुकै हतार गरेपनि के लाग्दो रहेछ र ।

खगेन्द्र अधिकारी अमृत

कुनैदिन १५ मिनेटमै पार गर्ने उकालो देखेर आज मेरा पाइलाहरु किन हडबढाइरहेका छन् म आफैलाई थाह छैन । आतुर छ मेरो मन तिमीलाई भेट्न । हुन त धेरै हतार गरेको बेलामा पनि कहाँ हिड्न सकिन्छ र । अलिक माथी पुगेपछि एउटा चौतारी बिनाको पिपलको बोट । अनि त्यसको नजिकै पानीको कल कल बगिरहेको धारा । सुस्ताए अलिकति । सुर्खेतको झुप्रा खोलाबाट पाइपमा भरेर ल्याइएको शुद्धिकरण गरेको पानी पिएको मान्छे म । धेरै दिन भएको थियो ढुङ्गेधाराको पानी आफ्नै हातको अञ्जुली बनाएर पिउन नपाएको । पुस महिनाको चिसोको कुनै वास्ता नगरी पिएँ धित् मरुञ्जेल पानी । शान्त भयो मेरो मन र मेटियो त्यो उकालो हिडेको जम्मै थकाई ।

हेरे फेरि एक पटक बाँकी उकालोतिर । लामो सास तान्न मन लाग्यो । रोके भित्रैदेखि आएको त्यो सास पनि । किनकी मान्छेले माया पाउनका लागि प्रकृतिको नियमलाई उलंङ्घन गरिदिन्छन् । त्यो उकालो हिड्नु के नै छ र । फेरि नहिडेको बाटो पनि होइन क्या रे । यसरी नै मन बुझाएँ र थाले फेरि घुँडामा हात राख्दै उक्लिन ।

जब पैँयूको रुख नजिकै पुगे तब देखियो तिम्रो बासस्थान । अलिकति भएपनि राहत भयो । त्यसपछि तिमीलाई भेट्न पाउने आशामा अलि सजिलै हिड्न थाले म । हुन त तिम्रो मायाको आभाषले मेरो थकान मेटाई दिएको पनि हुन सक्छ । कतिपय कुराहरु नचाहेरै पनि हुने गर्दछन । कतिपय कुराहरु चाहेर पनि हुँदैन । जुन मान्छेको भाग्यमा हुन्छ त्यो समय, परिवेश र वातावारण आफै सिर्जना गर्दछ । सायद त्यसैले त मान्छेहरु भाग्यमा विश्वास गर्छन् होला ।

हिरालालको गाउँमा पुगेपछि एक पटक उनलाई भेट्नै पर्छ मैले । किनकी कर्ण सिंह, म र हिरालाल सबै भन्दा धेरै मिल्ने साथी हौंँ । भौगोलिक कारणले होस या पेशागत कारणले अहिले हामी वर्षमा एक पटक कहिले काँही मात्र भेट्ने अवसर प्राप्त गर्छौ । त्यसैले उनको घरमा पस्दै गर्दा मेरो मनले दुईटा कुराको आँकलन गरिरहेको थियो । एउटा म हिरालाललाई भेट्दैछु । उनी नामले मात्र होइन काम र व्यवहारले पनि हिराका लाल जस्तै । अर्थात लालहिरा वा हिरालाल । उनको पिताजी परलोक भइसकेपछि म उनको घरमा पहिलो पटक जान लागेको छु । निकै माया गर्ने मान्छे हिरालालका पिता पनि । त्यसैले मनको एउटा कुना अध्याँरो भएको छ मेरो । एक छिन हिरालालसँगको भलाकुसारी पश्चात म निस्कने योजनामा छु त्यहाँबाट तर निकै कर गरिरहेका छन उनले मलाई । आजको रातमा आफ्नै झुपडीमा व्यतित गरिदिनका लागि ।

अनेक बाहनाबाजी गरे मैले र निस्किएँ त्यहाँबाट । किनकी भेट्नु थियो मैले तिमीलाई । कति धेरै दिन भएको थियो तिमीसँग भेट्न नपाएको । मैना, मन अघाउन्जेलसम्म बस्नु थियो तिमीसँग । अनि सुन्नु थियो तिम्रा जीवनका आरोह र अवरोहहरुलाई । अनि सुनाउनु थियो आफ्नो जीवनको अधुरा, मधुरा तितामीठा कहानीहरुलाई । कुनै कुराको ढाँटछल नगरी भनिदिनु छ मैले आफ्ना कहानीहरुलाई । अनि सुन्नु छ तिमीले म प्रति गरेका मायाका पवित्र शब्दहरुलाई । पुसको महिनामा न्यानो हुने गरी ताप्नु छ एक तछला माया रुपी आगोका कोइलाहरु र तताउनु छ वर्षौदेखि चिसिएको ह्दयलाई । अनि सेक्नु छ मायाको तातोले तिम्रो मनलाई ।

यी सबै यथार्थताहरुलाई मनको केन्द्रबिन्दुमा पोको पारेर लम्किरहेको थिएँ म तिमी बस्ने पवित्रस्थलतिर । शित र तुषारोले खाएका गहुँका काल्नै काँल्लाँमा हिडिरहेको बेला त्यो बाटो बाहेक अरु केही देखिरहेको थिइन म । मेरो आँखाले सिर्फ तिमीलाई खोजिरहेका थिए । जब म तिम्रो घरको आँगनमा पुगे तब एक्कासी भीरबाट खसेको कुपिण्डो जस्तै भएँ म । देखिन तिमीलाई । अनि घरको ढोका पनि बन्द । किन ? हेरे तल माथि । दायाँबायाँ । कतै तिर नदेखेपनि छिमेकीबाट समाचार लिनु बाहेक कुनै उपाय रहेन मसँग । त्यसैले सोधेँ तिम्रा छिमेकीलाई । तिमी त आमा बासँगै बस्ती सरेर तपाई पसि सकिछ्यौ ।

तिम्री ठूलीआमा नाता पर्ने तिम्रो छिमेकीबाट यो खबर थाह पाएपछि खसे एक पटक छाँगाबाट । सकिन अड्किन कतैपनि । आखिर केही न केही खबर हुनु पथ्र्यो । तर अहँ । साँच्चिकै तिमी निष्ठुरी जस्तै देखियो । किन केही खबर गरिनौ तिमीले मलाई । म आमा बासँगै तराई बस्ती सर्दैछु भनेर । रोक्दैन थिएँ म तिमीलाई । आखिर रोक्न सक्ने क्षमता पनि त थिएन । तर पनि गाउँ ठाउँको बारेमा जानकारी त राख्न सक्थे । एक टुक्रा कागजमा चार अक्षर लेखेर पठाउन सक्थ्यौ तिमीले । कि तिम्रा आमा बा बस्ती सरेको ठाउँमा हुलाक नै छैन र ? के हुलाकी हिड्दैनन् तिम्रो घरको बाटो भएर ।

तिम्रो घरको बन्द ढोकासँगै आफ्नो सास पनि बन्द गरिदिउँ जस्तै भएको छ मलाई । सकिरहेको छैन सहजतापूर्वक स्वास लिन पनि र सक्दिन पनि बन्द गरिदिन । के मैले एकातर्फी मात्रै माया गरिरहेको थिएँ र तिमीलाई ? तिमीले नै भनेकी होइनौं मान्छेको जीवनमा दुईटा साथीहरु हुन्छन् भनेर । एउटा जीवन साथी र एउटा असल साथी । मैना मैले तिमीलाई जीवन साथी बनाउन सकुला नसकुला तर असल साथी बनाउन मलाई अरु त के भगवान आए पनि रोक्न सक्ने छैनन । किनकी जीवन साथी भौतिक रुपमा सँगै भएपनि असल साथी मानसिक रुपमा ऐना जत्तिकै सत्य हुने गर्दछ । कहिल्यै छोड्दैन ऊ मनमा बस्न । जहाँ बस्छ त्यहाँ शितलता प्रदान गर्छ । दुःखको बेलामा म रोएँ भने मसँगै रोइदिने गर्छ । रुन त मसँगै रुने गर्छ तर आफ्नो होइन मेरो आँसु पुछ्ने गर्छ । सुखको बेला म भन्दा अगाडि ऊ खुसी हुन्छ । मेरो सुखका लागि ऊ जुनसुकै मूल्य पनि चुकाउन तयार हुन्छ । आफूले पाएको दुःख लुकाएरै भएपनि सुखमा परिणत गरिदिने कोसिस गर्छ । त्यसैले विश्वका महान साहित्यकारहरुको भनाई पनि छ, जन्मदिने आमा भन्दा पछिको कोही आफन्त छ भने त्यो असल साथी मात्र छ ।

पुसको चिसो बतासले मेरा कनसिरीमा घोचेपछि निद्राबाट बिउँझिए झै भएँ म । अमिलो मन, कालो अनुहार लिएर गन्तव्यहिन यात्रामा निस्किएँ । झल्याँस देखेको जस्तो लाग्थ्यो तिम्रो घरको बन्द ढोकामा ठिङ्ग उभिएको तिम्रो तस्वीर जस्तै । तर सकिन ठम्याउन र चम्लिएँ आँखा । त्यसपछि हेर्दै हेरिन तिम्रो घरको बन्द ढोकातिर ।

मैना, म खोजिरहेछु तिमीलाई । मनमा एउटा अठोट लिएर । संसारको कुनै पनि कुनामा भेट्न सफल हुनेछु विश्वास छ मलाई । यो संसार सत्य भन्दा धेरै विश्वासमा अडिएको छ । त्यो पनि राम्रोसँग जान्दछु मैले । तिमीलाई याद छ होला । मैले कुनै दिन भनेको थिएँ सत्य भगवान छन् वा छैनन् तर विश्वासमा भगवान छन् । मलाई लाग्दैन यो संसार त्यति धेरै ठूलो छ । जसरी बाघले सिरुको पातमुनी बाख्रा खोज्छ । हो, त्यसरी नै खोज्नेछु मैले तिमीलाई पनि । मैना याद छ तिमीलाई, कुनै दिन बाख्रा चलाउन गएको बेलामा एक दाना चामल खोज्न घण्टौ बिताएको थिएँ मैले भेटाएरै छोडेको थिएँ ।

जब म भेट्ने छु तिमीलाई । त्यतिबेला चाहे तिमी अर्कैकी भइसकेकी हुनेछ्यौ चाहे मलाई नै पर्खेकी । हुन सक्छ समयको अन्तरालले मैे पनि जीवन साथीको जोहो गरिसकेको हुनेछु र सायद तिमीले पनि । तर मेरो मनले यत्ति दावा गरिरहेको छ मैनाको पनि कोही असल साथी भएको हुने छैन र मेरो पनि । झस्किनेछ्यौ एक पटक तिमी पनि । जब म ठिङ्ग उभिने छु तिम्रो अगाडि । निद्राबाट बिउँझिएको भोको बाघ जस्तै बेर्ने छु आफ्नो अंगालोमा र कस्नेछु मायाको डोरीले । सायद त्यसै गर्नेछ्यौ तिमी पनि । खुसीले रसाउँने छन् हामी दुबैका आँखा । जोडिने छ अधरमा अधर । मनमा मन र मुटुमा मुटु । दैलेखको कट्टी, कट्टीको थुवामा पुग्नका लागि मलुका खोलाबाट उक्लिदा मैले फेरे जस्तै लामो सास फेर्ने छौ तिमी पनि र तिम्रो सोधनी हुनेछ, तिमी अझैँ पनि मलाई माया गर्छौ ? त्यतिबेला केही बोल्न सक्ने छैन म र हेरिरहनेछु तिम्रो नजरमा । हेर्नु त्यतिबेला तिमीले मेरा नजरमा । यदि आफूलाई मेरा आँखाका नानीमा पायौ भने सम्झनु म तिमीलाई अझैँ पनि त्यत्ति नै माया गरिरहेको छु । जत्ति माया बाख्रा चराउन गएको बेलामा गर्ने गर्दथे । मैनालाई ऐन देखाएर माया गरिरहेको झ्ठो नाटक गर्न सक्ने सामथ्र्य छैन मसँग किनकी म मैनाको जीवनसाथी होइन असल साथी हुँ असल साथी ।