खेल्ने अवसर नपाएका ‘प्रकाश’
सुर्खेत ।
दैवको खेल भनौ वा प्रकृतिको नियम । अनौठो छ । संसारमा धेरै मान्छेहरु जन्मिन्छन् । कसैको जन्म सहज हुने गर्दछ भने कसैको असहज । आखिर जन्मिसकेपछि संसारमा बाँच्न पाउनु र संसारका हरेक बस्तुहरुको सही उपयोग गर्न पाउनु कुनै पनि मानवको नैसर्गिक अधिकार नै हो । सपाङ्ग भएर जन्मेका पनि पछि विभिन्न कारणले अपाङ्ग बन्न सक्छन् भने कोही जन्मदै अपाङ्ग हुन्छन् । सपाङ्गहरुले अवसर प्रदान गरेको खण्डमा अपाङ्गता भएकाहरु पनि सपाङ्ग सरह आफ्नो जीवनको लागि मात्र होइन समाज र देशको लागि पनि केही गर्न सक्छन् भन्ने प्रशस्त उदाहरणहरु छन् । एउटा अपाङ्ग साहित्यकार झमक घिमिरेले मदन पुरस्कार प्राप्त गर्ने कृतिको रचना गर्न सक्नु यसको बलियो उदाहरण हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं ८ मा बसोबास गर्ने प्रकाश अधिकारी जन्मदै अपाङ्ग भएर जन्मिए । विस्तारै हुर्कदै जाने क्रममा उनी पढ्न लेख्न मात्र होइन खेल तर्फ पनि आकर्षित हुन थाले । प्रकाशको दायाँ हात र दायाँ खुट्टा असक्त अवस्थामा छ । उनी हिडडुल गर्न सक्छन् तर दायाँ हातले लेख्न सक्दैनन् । दैनिक रुपमा गर्नु पर्ने कामका लागि उनले अरुको सहायता लिनु पर्दछ । तरपनि घर परिवारको सहयोगले उनी पढाईसँगै ब्याडम्यान्टिन खेल खेल्न थाले । सुरुका दिनहरुमा केही असहज भएपनि विस्तारै उनले खेललाई अगाडि बढाउँदै लैजाने क्रममा शारीरिक रुपमा समेत उनलाई कसरत हुन थाल्यो । जसले गर्दा उनले खेल क्षेत्रमा प्रगति गर्न थाले ।
वीरेन्द्रनगरको विद्याज्योति माध्यमिक विद्यालयबाट एसइई पास गरेर अहिले उनी काठमाडौंको ऋत ऐकेडेमीमा कानून अध्ययन गरिरहेका छन् । भविष्यमा कानूनी क्षेत्रमा दक्ष बन्ने लक्ष्य लिएर कानून पढिरहेको भएपनि उनलाई खेलप्रतिको मोह भने निकै बलियो छ । हात र खुट्टामा समेत समस्या भएपनि सुर्खेत बसाईको क्रममा उनले आफू जस्तै खेलाडि साथीहरु त भेट्न सकेनन् तर सपाङ्ग खेलाडिहरुसँगै उनले ब्याडम्यान्टिन खेले ।
शारीरिक रुपमा अपाङ्ग भएपनि खेल क्षेत्रमा समाज र राष्ट्रको लागि योगदान दिने धोको बोकेका प्रकाश पारा ब्याडम्यान्टिनको क्षेत्रमा खेल्ने अवसर नजुटेको निकै खिन्न छन् । नेपाल पारा ब्याडम्यान्टिन संघ पनि छ । तर त्यसले सामान्य खेलाडिहरुको जस्तै अवसर प्राप्त गर्न सकेको छैन । प्रकाश भन्छन्, ‘पारा ब्याडम्यान्टिन खेल खेल्ने अवसर पाउन सकेको भए राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै नेपालको लागि योगदान दिन सक्थे ।’ उनी झट्ट हेर्दा असामान्य जस्ता देखिएपनि उनसँग वीरेन्द्रनगरका सपाङ्ग खेलाडिहरु समेत हायलकायल हुने गर्दछन् । मान्छेका विभिन्न इच्छा र आकांक्षाहरु हुन्छन् । सबै पूरा हुन सक्दैनन् भन्ने प्रकाशले राम्रोसँग बुझेका छन् । तर पनि पूरा हुन सक्ने इच्छाहरुका लागि अवसर ठूलो कुरा भएको बताउँछन्, प्रकाश । ब्याडम्यान्टिन खेल्ने क्रममा उनले शारीरिक रुपमा अपाङ्ग भएको महसुस नै गर्दैनन् ।
भनिन्छ, अजिङ्गरको आहारा दैवले पूरा गरेको हुन्छ । चाहे सपाङ्ग होस् वा अपाङ्ग भगवानले कुनै न कुनै सीप वा कला दिएका हुन्छन् रे । एकातिर आफ्नो मिहिनेत र अर्कोतिर सबैको साथ र सहयोगले नै अपाङ्गता भएकाहरुले आफ्नो प्रतिभाालाई प्रष्फुटन गर्न सक्छन् । हाम्रो समाज अपाङ्गहरुलाई दयाभावले हेर्ने गर्दछ । नेपाल सरकारले समेत उनीहरुलाई दयाभावले हेर्ने गरेका कारण प्रकाश जस्ता अनेक प्रतिभावानहरु बाहिर आउन सकेका छैनन् । अपाङ्गता भएकाहरुलाई दया होइन अवसर दिनु पर्ने प्रकाशको भनाई छ ।
समाजले हेर्ने दृष्टिकोण र राज्यले निर्माण गरेको कानूनको अक्षरस पालना नभएसम्म पारा खेलाडिहरुले अवसर पाउन नसक्ने प्रकाश दाबी गर्छन् । उनी भन्छन्, ‘नेपालबाट पारा ब्याडम्यान्टिन खेल्नेहरुको संख्या एकदम न्यून छ । तर पनि अन्तर्राष्ट्रिय क्षेत्रमा खेल्नका लागि पहुँचवालाहरुको हालीमुहाली हुने भएकोले पनि खेल क्षेत्रमा देशले सोचे अनुसार प्रगति गर्न सकेको छैन ।’
अवसर प्रदान गरेको खण्डमा पारा खेलाडिहरुले ब्याडम्यान्टिनलगायतका सबै खेल खेल्न सक्छन् । ओलम्पिकमा खेलाइने खेलहरुमा पाराहरुले पनि अवसर पाउनु पर्ने प्रकाशको भनाई छ । २०७४ सालमा वीरेन्द्रनगरमा भएको माध्यमिक विद्यालयहरुको जिल्ला स्तरीय ब्याडम्यान्टिन खेलमा सपाङ्ग खेलाडिहरुसँग तेस्रो स्थान ओगट्न सफल भएको सम्झँदै प्रकाशले भने, ‘जबसम्म पारा खेलाडिहरुलाई हेयको भावले हेरिन्छ र राज्यले पनि फरक कित्तामा राखेर व्यवहार गर्छ तबसम्म नेपालका पारा खेलाडिहरुले प्रगति गर्न सक्दैनन् ।
सुर्खेतको ब्याडम्यान्टिन संघका अध्यक्षदेखि पारा ब्याडम्यान्टिन संघका अध्यक्षलाई समेत भेटेर उनले आफ्नो रुचि र क्षमताको बारेमा बताइसकेका छन् । राष्ट्रिय ब्याडम्यान्टिन संघको प्रमुख ‘कोच’ र अध्यक्षसमेतलाई उनले आफ्नो क्षमताको बारेमा बताए तर उनलाई अवसर प्रदान गर्न कोही अगाडि सरेनन् । बरु उल्टै आफ्नो खर्चमै विदेश जाने उपाय बताए । जसले गर्दा जीवनमा आफूले ओलम्पिक खेलमा भाग लिन पाउँछु पाउँदिन भन्नेमा अहिले पनि प्रकाश द्विविधामा छन् ।
छोरालाई खेल्ने अवसर जुटेको खण्डमा उसका लागि आफूले गर्न सक्ने कुनै कुरामा कमी हुन नदिने प्रकाशका बुबा पञ्चरत्न अधिकारी बताउँछन् । सुरुका दिनमा छोराको शारीरिक अवस्था देखेर निकै चिन्तित बनेकी प्रकाशकी आमा लक्ष्मी अधिकारी छोराले खेलमा सपाङ्गहरुसँगै खेलेर उनीहरुलाई जित्न सक्ला भन्ने नलागेको बताउँछिन् । सुरुमा हिड्न सक्ने भइदिएको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर हुर्कदै जाने क्रममा उसले पढाइसँगसँगै खेललाई अगाडि बढाएको छ । त्यसले आफूलाई निकै सन्तुष्टि मिलेको बताउँछिन् प्रकाशकी आमा ।






