Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

विहान साँझ घरधन्दा ‘दिउँसो विद्यालय’

सुर्खेत ।
देशमा राजनीतिक परिवर्तन भयो । यसले विकासको लहर ल्याउला भनेर धेरैले अड्कल पनि काटिरहेका छन् । राजनीतिकर्मीहरु आन्तरिक व्यवस्थापनमा रुमलिरहेका छन् । राजनीतिक परिवर्तनसँगै देशमा सामाजिक परिवर्तन पनि आउँला भन्ने आशा गरेकाहरु भने झन निशास हुनु पर्ने अवस्था छ । शहरी क्षेत्रमा लगाइने नाराहरु अझैंसम्म पनि गाउँमा पुग्न सकेका छैनन् ।


आज भन्दा करिब २ दशक अगाडि गाउँमा जुन अवस्था थियो अझैँ पनि त्यो जस्ताको त्यस्तै छ । गाउँको सामाजिक जनजीवनमा खासै कुनै परिवर्तन आउन सकेको छैन । चाहे त्यो खानपानमा होस् वा जातीय विभेदमा होस् वा लैगिक विभेदमा । अहिलेपनि गाउँमा छोरालाई काखा र छोरीलाई पाखा गर्ने चलनमा परिवर्तन आउन सकेको छैन ।

सुर्खेत, झट्ट सुन्दा सुगम जिल्लाको रुपमा परिचित । अर्कोतर्फ कर्णाली प्रदेशको राजधानी भएको जिल्ला । सुर्खेत भन्ने वित्तिकै वीरेन्द्रनगरलाई नै केन्द्र मानेर आफ्ना गतिविधिहरु संचालन गर्नेहरुले सुर्खेतका दुर्गम गाउँहरुको बारेमा जान्ने कोसिस गर्नै पर्छ । उत्पत्ति एकादशीको अवसरमा सुर्खेतको सिम्ता ३ बाँखर्क नजिकै एउटा मेला लाग्ने गर्दछ । मेला लाग्ने दिनमा रुकुम, सल्यान, सुर्खेत, जाजरकोट र दैलेखसम्मका मेला भर्न आउनेहरुको बाक्लै भीडभाड । अर्कोतर्फ जनसन्देश युवा क्लबको आयोजनामा प्रत्येक वर्ष हुने भलिबल प्रतियोगीता हेर्न आउने खेलप्रेमीहरुको तछाड मछाड । मेलामा व्यापार गर्नका लागि स्थानीय कृषि उपजहरु डोकोमा बोकेर हिड्नेहरुको कमिलाको जस्तै ताँती ।


तर सूर्य ज्योति मावि सुन्तोलामा कक्षा ९ मा अध्ययन गर्ने लक्ष्मी खत्रीलाई भने न मेलाको कुनै मतलब थियो न पढाइको । विहान करिब साढे सात बजेको समयमा नै उनी ठूलो सिमलको रुपमा घाँस काट्न व्यस्त रहिछन् । उनी घाँस काटिरहेको रुखमा झट्ट नजर पर्दा जो कोहीले पनि एकपटक सोच्नै पर्ने हुन्छ कसरी चढिन त्यो अजंगको रुखमा उनी । उमेरले १४ वर्ष पुगिसकेकी भएपनि शहर बजारका केटीहरुको जस्तो कुनै सिंगार पटार थिएन उनीमा । एक दाजु र तीन दिदीबहिनी छन् लक्ष्मीका । सबै भन्दा अगाडिका दाजु मेला हेर्न जानु भएको होला उनले भनिन् । ‘आज मेलाको दिन तिमी विहानै घाँस काट्न अनि यति ठूलो रुपमा चढेर घाँस काटिरहेकी छ्यौ, डर लाग्दैन ?’ हाम्रो प्रश्नमा उनले उत्तर दिइन ‘यो मेरो रहर होइन बाध्यता हो ।’

उनको दैनिकी विहान धेरै थोरै घाँसपात अनि साँझ घरको काममा आमालाई सघाउनु भएपनि दिउँसो भने विद्यालय जान पाएकी छन् । पढेर भविश्यमा जागिर नै खाने योजना बनाएकी लक्ष्मीका अरु बहिनी साना छन् दाजुले खासै घरको काममा सहयोग गर्दैनन् । ‘जोत्ने, ठूला भारी बोक्ने काम भने दाजुले नै गर्छन’ लक्ष्मीको भनाई थियो । घाँस काट्न वा घरको काममा लाग्नै पर्छ भन्ने दबाव भने छैन लक्ष्मीलाई । तर घरको काममा सघाउनु बाध्यता भने छ । सबै काम आमाले मात्र गरेर नभ्याउने भएका कारण आँखा अगाडि देखिएको काम नगरि बस्न उनको मनले नै मान्दैन । सायद त्यसैले होला उनी निकै जोखिम मोलेर त्यस्ता ठूला रुखमा घाँस काट्न गएकी होलिन् सजिलै अनुमान लगाउन सकिन्छ ।


लक्ष्मी त उदाहरण मात्र हुन् । छोराछोरी बराबरी भन्ने नारा केवल कागजका पानामा मात्र सिमित छ । अहिलेसम्म व्यवहारमा लागु हुने सकेको छैन । अझैँ पनि हाम्रो समाजमा छोरा जन्माउने उद्देश्यले पाँच, सात, नौ जनासम्म छोरी जन्माउने र पछिल्लो समयमा विकसित भएको प्रविधिको प्रयोग गरेर भ्रुण हत्या गर्नेको संख्या आकाशिँदो छ । स्थानीय सरकारदेखि संघीय सरकारले समेत छोरी जन्मदा प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याएपनि प्रभावकारी रुपमा लागु हुन सकेका छैनन् । सस्तो लोकप्रियताका लागि कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने पुरानै चलनको अन्त्य हुन सकेको छैन ।


एकातिर छोराछोरी विचको विभेदको अन्त्य हुन नसक्नु र अर्कोतिर छोरीले छोरा सरह बौद्धिक काम गर्न सक्छन् भन्ने मानसिकतामा राम्रो छाप नपरुन्जेल छोरीको अवस्थामा परिवर्तन आउन सम्भव छैन भने लैङ्गिक विभेदको अन्त्य पनि हुन सक्दैन ।