Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

मानवीय मूल्य अमूल्य छः मन्त्री भण्डारी

सुर्खेत ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मानवीय मूल्य अमूल्य भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको विपद जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि २ दिने प्रशिक्षण कार्यशालामा उनले यस्तो बताएका हुन् ।


कार्यशालामा बोल्दै मन्त्री भण्डारीले भने, ‘आम जनताका बीचमा विपद जोखिम न्यूनिकरणका कार्यक्रम विस्तार गर्नु आवश्यक छ ।’ २०७२ को भूकम्पको घाउ पुरिन बाँकी रहेको बताउँदै २०७१ सालमा आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरुलाई स्थापित गर्न प्रदेश सरकार लागिरहेको उनले बताए । विपद जोखिम न्यूनिकरणका लागि साधन, स्रोत र जनशक्तिलाई प्रभावकारी रुपमा तयार गर्न सामुहिक रुपमा सबै क्रियाशील हुनु पर्नेमा जोड दिँदै संघ, प्रदेश र स्थानीय तहका सरकारहरु एकिकृत रुपमा अगाडि बढ्न आवश्यक रहेको उनको कथन थियो ।

विपद व्यवस्थापनका लागि आवश्यक सामग्रीहरुको संकलनका लागि प्रदेश सरकारले जनभकारी कार्यक्रम कार्यक्रम संचालन गरिरहेको छ । हरेक घरमुलीलाई पारिवारिक विपत कार्ययोजना निर्माण गर्न लगाउने हो भने क्षति न्यूनिकरणलाई क मगर्न सकिने मन्त्री भण्डारीको भनाई थियो । उनले थपे, ‘समय सापेक्ष, स्थान र परिवेश अनुसार सचेतना तर्फ अगाडि बढ्नु आवश्यक छ ।

कार्यशालामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले विपद जोखिम व्यवस्थापनमा संघ र प्रदेश तथा प्रदेश र स्थानीय सरकार बीचको समन्वयकारी भूमिका हुनु पर्नेमा जोड दिए । यसैगरि सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुर्खेत जिल्लामा बाढी पहिरो, आगलागी र सवारी दुर्घटना, आत्महत्याका घटनाहरु ज्यादै उच्च जोखिमका रुपमा रहेको बताए । प्रजिअ अधिकारीका अनुसार गत आ.व. ०७५/०७६ मा सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको थियो भने चालु आ. व. को ५ महिनामा ८ जनाको ज्यान गइसकेको छ भने आत्महत्याबाट १७ जनाले ज्यान गुमाएको तथ्याँक छ ।

विपद जोखिमका हिसावमा भूकम्पका दृष्टिकोणले नेपाल एघारौं स्थानमा रहेको छ भने वातावरण जलवायू संकटमा चौथौ स्थानमा रहेको छ । जसले गर्दा राज्यको आर्थिक र सामाजिक दायित्वमा बृद्धि हुने भएकोले विकास निर्माणका कार्यमा बाधा पुग्ने गर्दछ । भूकम्पीय विपद जोखिममा पश्चिम नेपाल अत्यन्तै उच्च तहमा रहेको भुगर्वविदहरुले बताउँदै आएका छन् ।

कार्यशालामा प्रतिष्ठानका उप कार्यकायरी प्रमुख नारायणप्रसाद मलेगो, विपद जोखिम व्यवस्थापन विज्ञ पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, पूर्व उपसचिव डा. नारायण बहादुर थापा उपनिर्देशक अचला दाहाललगायतले सहजिकरण गरेका थिए । कार्यशालामा सरकारी कार्यालय, विभिन्न संघ संस्था, सरोकारवालाहरु, सुरक्षा संयन्त्रलगायतबाट २९ जनाको सहभागीता रहेको थियो ।