पौष सत्ताइस र पृथ्वीनारायण शाह
सिंहदरबारको पश्चिम गेट अगाडि ढिङ्ग उभिएर दायाँ हातको चोर औला ठड्याएको शालिक हो पृथ्वीनारायण शाहको । नेपाल एकिकरण गरेर सबै एक भएको सन्देश स्वरुप उनले एउटा औला उठाएका थिए ।

उनको देहवासन पछि देशमा भएका विभिन्न उथलपुथलहरुले आजको लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा समेत उनले दिएका उपदेशहरु सत्य सावित भएका छन् । ‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’ भनेर उनले त्यत्तिकै भनेका होइनन् । आज पनि ‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’ का रुपमा चिनिएका छन् । जसलाई नियन्त्रण गर्नका लागि सरकारले ठूलो रकम खर्चको छ भने ठूलै संयन्त्रलाई परिचालन गर्नु परेको छ । जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनिन्छ ।

आजभन्दा लगभग ३०० बर्षअघि बाइसे चौविसे राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।
१८ औं र १९औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधुनिक नेपालमा इतिहासबिद्ध डि आर रेग्मी लेख्नुहुन्छ कि पृथ्वी नारायण शाहको जीतको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले ससाना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिँदैन भनेर ।
यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।
२०६२÷६३ को जन–आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ । चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वीजयन्ति होस्, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।
‘नेपाल दुई ढुङ्गाबिचको तरुल हो’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । पृथ्वीनारायण शाहको कुरा गर्दा यीनका साहसी सेनानीहरु कालु पाण्डे लगायतलाई ईतिहासले विर्सन हुँदैन । किर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात स(सम्मान काठमाण्डौ थानकोट नजिक ईन्द्रदहमा उनको समाधी अझै पनि त्यहि ठाँउमा रहेको छ । आधूनीक नेपालको खाका कोर्ने यीनै राजाले नै गोर्खामा देखेको काठ्माण्डौको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रार्दुभाव गरेका हुन् । विक्रम सम्वत् १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्नततिका शाषकहरुले विक्रम सम्वत् २०६३ को जनआन्दोलनको माग अनुरुप शासन सत्ताबाट अपदस्त गराई गणतन्त्रामक नेपाल स्थापित गराईएको हो ।
पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू(भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डौको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यस क्षण काठ्माण्डौको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू–भागहरु जितेका हुन् । परराष्ट्र मामिलामा पनि यीनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।
भक्तपुरको राजपरिवारसंग मितेरि साईनो गाँसेर पनि आक्रमण गरि विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्ध भन्दा पनि राष्ट्रियताले निर्दे्शित राष्ट्रसेवक र योद्धाका रुपमा सदैव नेपाली हृदयमा रहनेछन् ।
युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले किर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि किर्तिपुरवासीहरुले पुराना क्रुरताका कथाहरु भन्दछन् । जे होस् आधूनिक नेपालका यी रचयीताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरुसमक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन् ।
सदन अनि सडक दुबैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिकतै देश अनि देशबासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ । देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन्, यहाँ पाइलाहरु मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडावाट हामी सबैलाई नियाल्दै छन् । (हाम्रो पात्रो डटकमको सहयोगमा)






