माया एउटै कि फरक–फरक
आज प्रेम दिवस रे । प्रेम गर्नेहरुको दिन । प्रेम गर्नेहरुको लागि पनि दिन चाहिँदो रहेछ । प्रेम त पल–पलमा हुन्छ । छिन–छिनमा हुन्छ । अनि दुःखमा हुन्छ, सुखमा हुन्छ । प्रेमसँगै हँुदा हुन्छ र टाढा हँुदापनि हुन्छ । यदि हरेक दिनमा प्रेम हुन्छ भने प्रेम दिवस त हरेक दिन हुनु प¥यो नि । किन एक दिन मात्र प्रेम दिवस ?
यो के हो ? मैले बुझ्न सकेकि छैन ।

मैले बुझ्न नसकेको कुरा प्रेमको अर्थ । प्रेमको परिभाषा । के प्रेमको बारेमा बुझ्न यो दिन उपर्युक्त बेला बाहेक अरु दिन कहिले होला र किनकी आजको दिनमा सबैतिर प्रेमको माहोल छाएको छ ।
प्रेम गर्नेहरुको दिनपनि जो आज आएको छ ।
मैले मन मनै सोचे ।
म आज प्रेमको बारेमा बुझ्छु भन्ने निकै अठोट लिएर बिहान साढे नौ बजेतिर म कोठाबाट बाहिर निस्के ।
अव कता जाने । के गर्ने दोधारमा भए एकछिन म ।
अँ, हिजो मेरो अंकल नेपालगंजदेखि सुर्खेत आउनु भएको थियो । उहाँले भन्नुभएको थियो, नानी भोली भेटौला है । मैले सम्झे त्यो कुरा । अनि म कोठाबाट अंकलसँग जान्छु भनि अलि तल चोकसम्म झरे । अनि चोकमा पुगेपछि म एक छिन रोकिए । त्यो चोकको अलि अगाडि एउटा चौतारामा गएर बसे । त्यो चोकमा खासै चहल पहल थिएन ।
यता उता हेदै थिए म । बाटोमा ओहोर दोहोरो गर्ने मान्छेहरु धेरै हिडिरहेका थिए । तर मेरा आँखा एकाक्सी लगभग चौरासी बर्ष पुगेका बाजेमा परे । उहाँ पनि उताबाट म बसेकै चौतारा तिर आउँदै हुनुहुन्थ्यो । फलेर हो वा मेहनदीका कारण हो बाजेले खैरो–खैरो थियो । कमिज सुरुवाल र सुइटर र अझ त्यसमाथि हलुका मैलो कालो कोट । बाजेको घाँटी पुरै छोप्ने गरी बाँधेको गलबन्दी । आँखामा चस्मा हातमा एउटा लट्ठी ।
उहाँ म भएतिरै आउनुभयो । म नजिकै बस्नुभयो ।
अनि मैले बाजेसँग बोल्ने कोशिष गरे
घर कहाँ हो नि हजुरबुबा ? मैले प्रश्न गरे । कुराको थालनी भयो ।
पुख्र्यौलि घर त दैलेख हो नानी । अहिले यता ल्याए छोरा बुहारीले सुर्खेतको हावा खुवाउन, बाजेले बताउनु भयो । उहाँले दिएको जवाफ रमाइलो थियो ।
ए अनि अहिले कता हिडनु भयो त ?
कता हुनु नि नानी । यसो यतैतिर घरमा एक्लै बस्न अल्छी लाग्छ ।
हजुरको छोरा बुहारी नाति–नातिनिहरु को–को छन् हजुर बुवा ?
उहाँ बोल्दा बोल्दै विचमा रोकेर बोले म ।
छन् नि नानी किन नहुनु । तर सबै आ–आफ्नो काममा गएका छन् । छोरा बुहारी अफिस गए ।
एउटा नाति थियो । ऊ पनि आज के भाले टाइनडे कि के रे साथीहरुसँग खै कता गयो ।
भालेटाइनडे होइन हजुर बुवा भ्यालन्टाइडे हो । खै के हो नानी बुझि नसक्नु छ । मुसु–मुसु हाँसे म ।
अनि उहाँले एकछिन पछि भन्नुभयो अनि नानी चाहीँ न गको घुम्न एक्लै बसेकी छौ नि ?
गम्भीर प्रश्न तेसियो मेरो अगाडि । हा… हा… हा… एक्लै छु नि त हजुर बुवा । माया गर्ने मान्छे नै छैनन् ।
भावुक कुरालाई मजाकमा भनिदिएँ मैले ।
माया गर्ने मान्छे छैन रे ? किन छैन तिमीले चिन्नै सकिनौ माया गर्ने मान्छेलाई । उहाँका शब्दसँगै मैले उहाँको अनुहारमा हेरे तर केही बोल्न सकिन ।
एक छिनमा उहाँ नै बोल्नुभयो । हेर नानी यो ढुङ्गाले माटोलाई माया गरिरहेछ । माथि बादलले आकाशलाई । ऊ ति विद्यार्थी हेर त उनीहरुले पुस्तकलाई माया गरेका छन् । तिमी आफैले आफैलाई माया गर्छेउ । अझ पनि भन्छ्यौ कोही छैन माया गर्ने भनेर ।
अनि मैले सोधे– हजुर भन्दिन न माया भनेको के हो ?
म जुन प्रश्नको जफाव खोज्ने विचारमा थिएँ ।
त्यही प्रश्न सोध्न मन लाग्यो अनि भन्दिए उहाँको अगाडि ।
हजुर बुवा गम्भीर हुँदै बोल्नुभयो । नानी मायाको परिभाषा कस्ता–कस्ता बुद्धिजिविहरुले त दिन सकेका छैन म त के होर र ?
जफाव नपाउने संकेत सुनेर म निराश भएँ ।
उहाँ फेरी बोल्न थाल्नुभयो नानी आमाले सानोमा खाना दिनु हुथ्यो र बुबाले स्कुल पढाउनु हुन्थ्यो र हजुर बुवाले मिठाइ ल्याइदिनु हुन्थ्यो । अनि म उहाँहरुलाई नै माया गर्थे । मायाको अर्थ जसले खान लाउन दिन्छ ।
र सुरक्षा गर्छ । मेरो लागि त्यही नै हो जस्तो लाग्यो माया ।
जव म स्कुल पढदै गएँ । स्कुल पढ्ने साथीले जस्तो सुकै परिस्थितमा साथ दिन्थे मैले उनीहरुलाई नै मायाँ गरे जस्तो लाग्यो । माया भनेको दुःख सुखमा साथ दिने मान्छे प्रति देखाउने स्वभाव हो ।
जव म क्याम्पस पढ्दै गर्दा जसले मलाई माया गरि मलाई दुखी हुँदा हँसाई एक्लो महसुस गर्दा साथ दिई त्यतिबेला लाग्यो अँ हो यो पो रहेछ त माया भनेको । तर क्याम्पस पढिसके पछि मलाई अव सबैले छोडिसकेका थिए । मेरो हजुर बुवा, आमा बुबा अनि मेरी कलेजकी साथीले पनि । त्यति बेला मलाई लाग्यो यो माया भनेको छोडेर जानेको याद मात्र रहेछ । जुन मेटाएर पनि मेटिदैन ।
फेरि विस्तारै आफुलाई सम्हाल्दै बसे । मैले शिक्षक पेशा अंगाले तव फेरि लाग्न थाल्यो माया त ति विद्यार्थीहरुलाई गरिँदोरहेछ । अनि पढाउने पुस्तकलाई गरिँदोरहेछ । त्यति बेला मेरो मायाको परिभाषा थियो । आफ्नो पेशा प्रतिको इमान्दारिता ।
अनि केही बर्षपछि मैले विवाह गरे । अव मलाई श्रीमतिको माया पो लाग्न थाल्यो । उसको साथ नै माया भन्ने भयो । फेरि केही बर्षपछि छोरा जन्मियो उसैसँग खेल्न रमाउन थाले । त्यतिबेला आफ्नो सन्तानको खुसी नै माया भयो मेरो लागि ।
धेरै बेर बोल्नुभयो हजुर बुवा । पछि मेरो अनुहारमा हेदै भन्नुभया,े नानी अहिले मेरो लागि माया के हो थाहा छ ?
मैले अहँ थाहाँ छैन, मैले भने ।
यि हेर, यो मेरो लट्ठी, यो चस्मा यि दुबैलाई माया गर्छु म । मेरो लागि माया भनेको जे ले आफूलाई साहारा दिन्छ र बच्नलाई चाहिन्छ त्यहि नै माया हो ।
यति भनि सकेपछि उहाँ लर्खराउदै उठ्नुभयो र हिड्नु भयो आफ्नो बाटो । अलि पर पुगेपछि एक छिन रोकिएर भन्नुभयो, मायाको अर्थ समय र परिस्थिति अनुसार फरक–फरक हुन सक्छ नानी ।
यति भनेर उहाँ पहिले जुन बाटो आउनु भएको थियो । जताबाट आउनु भएको थियो उतै तिर लाग्नुभयो । मैले उहाँलाई परैसम्म गएको हेरिरहे । अनि एक छिनपछि म पनि अँकललाई भेट्न गए ।









