गाउँका महिलाहरूमा अझैँ परिवर्तन आएको छैन
क्वीकखबर सम्वाददाता
सुर्खेत ।
साविक मध्यपश्चिमको सदरमुकामको रुपमा रहेको सुर्खेत जिल्ला नेपालको संविधान निर्माणसँगै भएको प्रादेशिक संरचना अन्तर्गत ६ नं. प्रदेशको राजधानीको रुपमा प्रस्तावित भएको छ । राजधानी बन्नका लागि हुनुपर्ने आधारभूत विकासका पूर्वाधारहरु पूरा हुन पनि आवश्यक छ । केवल भौतिक पूर्वाधारहरु निर्माण हुँदैमा त्यहाँ सबै कुरा पूर्ण हुन्छ भन्न पनि सकिँदैन |
मानव जीवनमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने शिक्षा, स्वास्थ्य, जनचेतना, रोजगारी लगायत आर्थिक तथा सामाजिक रुपान्तरणको जरुरी पनि हुने गर्दछ । सुर्खेत जिल्लालाई सुगम जिल्लाको रुपमा व्याख्या गरिए पनि वीरेन्द्रनगर नगरपालिका देखि लगाम करिब ९६ किलोमिटर पश्चिममा पर्ने लगाम गाविसका महिलाहरु अहिलेपनि स्वास्थ्य, शिक्षा, रोजगारी, भूस्वामित्वबाट बञ्चित रहेको अवस्था छ ।
लगाम गाविसको वडा नं. ५ मा बस्ने लालमती गौतम अहिलेसम्म गाविसको कार्यालयमा बर्षमा १ पटक मुस्किलले पुग्ने गर्दछिन् । उनलाई गाविसको कार्यालयमा के के काम हुन्छन् तर त्यहाँबाट महिलाहरुले के के सेवा पाउँछन् भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी छैन । गाविस लगायत समाजमा गर्नु पर्ने काममा लालमतिका श्रीमान् कृष्णप्रसाद गौतमले नै गर्ने गर्दछन् । एकातिर शिक्षाको कमी र अर्कोतिर घरको कामधन्दाले फुर्सद नहुने भएकोले पनि उनी अहिलेसम्म गाउँघरमा हुने कुनै पनि सामाजिक काममा नपुगेको बताउछिन् । उनले हामीसँगको कुराकानीमा भनिन् – खै गाउँमा पहिले पहिले कता प्रौढ शिक्षा पढाइ हुन्छ त भन्थे तर मलाई त छोराछोरीको स्याहार गर्दैमा साँझ विहान फुर्सद नहुने अनि यो ढल्किसकेको उमेरमा पढेर पो के फाइदा भन्ने लागेर पढ्न नै गइन । तर उनले आफू नपढेपनि छोराछोरीलाई भने पढ्न पठाउन सकेकोमा खुसी व्यक्त गरिन ।
लालमति त एउटा प्रतिनिधि पात्र मात्र हुन । लगाम गाविसका अधिकांश महिलाहरु घरायसी कामको कारणले गर्दा बाहिर जान सकेका छैनन् । लगाम गाविसका महिलाहरु भूस्वामित्वबाट समेत बञ्चित छन् । सदरमुकाम टाढा भएकोले आउन जान समेत समस्या हुने र घरको काममा समेत बाधा पुग्ने भएकोले पुरुषहरु नै सदरमुकाम आउने र जग्गाको कारोबार गर्ने गर्दछन् ।
घरायसी समस्या टार्नका लागि उक्त गाविसमा भएका एक दुई समूहबाट सानोतिनो ऋण लिने गरेका भएपनि ठूलो ऋणको लेनदेन भने पुरुषहरुकै हातमा रहेको छ । गाउँमा भएका समूहहरुबाट लिएको ऋण उत्पादनशील कार्यमा भन्दा पनि घरमा चाहिने नुन, तेल किन्नमा खर्चिने र घ्यू तथा बाख्रा पाठा बेचेर त्यो ऋण तिर्ने गरेको बताउँछिन् उक्त गाविस वडा नं. ४ निवासी पञ्चकला थापा मगर ।
एकातिर सिंचाईको सुविधा नहुनु र अर्कोतिर बजारको अभावका कारण बारीहरु बाँझै छन् तर तरकारी खेती गर्ने तर्फ अहिलेसम्म त्यहाँका बासिन्दाहरुलाई कुनै व्यवस्था हुन सकेको छैन । तरकारी खेती त गरिन्छ तर आफैले घरमा खानका लागि भन्छिन् – लगाम गाविस वडा नं. ४ कै निवासी कृष्णा थापा मगर । आफ्नै बारीमा टनेल समेत निर्माण गरेर तरकारी खेती गरिरहेकी कृष्णा भन्छिन् – आफूले खाएर नसकेको वरपर छिमेकीहरुलाई बाँड्नु बाहेक अरु उपाय छैन । उनले निकै आशाका भनिन् – उत्पादन भएको तरकारी पु¥याउन सक्ने व्यवस्था हुने हो भने तरकारी खेती गरेरै भएपनि आत्मनिर्भर बन्न सकिन्थ्यो होला । हिउँदको समयमा बाहेक अरु बेलामा यातायातका साधनहरु पुग्दैनन् त्यो ठाउँमा । त्यो पनि कृष्णा थापा मगरको घरदेखि करिब पौने घण्टा पैदल हिड्नु पर्छ यातायातको साधन भेट्नलाई ।
सरकारी जागिर गर्ने महिलाहरुको संख्या औलामा गन्न सकिन्छ । छोरीलाई पढाएर खासै उपलब्धि नदेख्ने समाजले पछिल्लो समयमा भने छोराछोरी बराबरी देख्न थालेको कारण युवापुस्ता भने स्कुलदेखि टाढा छैन भन्छिन् – धर्मा बडुवाल । पछिल्लो समयमा छोरीलाई पनि छोरा सहर पढाउन थालेकोमा र आफूले पनि पढ्न पाएको कक्षा ११ मा पढ्ने बडुवाल निकै खुसी देखिन्छिन् । तर अर्कोतिर बालविवाहको समस्याबाट त्यहाँका बालिकाहरु पीडित हुनुपरेकोमा धर्मालाई दुःख पनि लाग्छ । गाविसको औसत प्रतिशत हेर्ने हो भने करिब २५ देखि ३० प्रतिशत बालविवाह हुने गर्दछन् । देखासिकी र लहलहैमा लागेर १५ देखि १८ वर्षको उमेरका युवायुवतीहरु भागी विवाह गर्ने प्रचलन धेरै रहेको र त्यसलाई न्यूनिकरण गर्नका लागि चेतनाकै खाँचो रहेको देखिन्छ । पहिले रहरले विवाह ग¥यो अनि विस्तारै उनीहरुको जीवनमा खटपट पर्ने र पछि बहुविवाहको समस्या समेत खप्नु पर्ने घटना नौला होइनन् ।
लगाम गाविसलाई त एउटा प्रतिनिधि गाविसको रुपमा मात्र लिइएको हो । पश्चिम नेपाल भरी यस्ता समस्याबाट महिलालाई अझैँ पनि पछाडि पर्नु परेको अवस्था छ । सुर्खेतका अन्य गाविसहरु पनि बेतान, बिजौरा, गुटु, विद्यापुर, घाटगाउँ, तरंगा लगायतका गाविसहरु छन् भने पूर्विभेकमा पर्ने बजेडीचौर, घोरेटा, काफलकोट, राकम लगायतका गाविसहरुमा पनि यस्ता समस्या छन् भने खुदै विरेन्द्रनगर, भेरीगंगा र सुवाघाट गंगामाला नगरपालिकाहरुमा पनि यस्ता समस्याबाट महिलाहरुले अझैँ मुक्ति पाउन सकेका छैनन् ।
महिलाहरुलाई पुरुषहरु बराबरको अधिकार सम्पन्न, उनीहरु बराबर दायित्व, जिम्मेवारी बोध गराउनका लागि महिला सशक्तिकरणका कार्यक्रमहरु गर्नुपर्ने, केवल समाजलाई देखाउनका लागि मात्र नभई साँच्चिकै परिवर्तनका लागि काम गर्नु बताउँछिन् हाल गैससमा कार्यरत लगाम ५ निवासी उषा गौतम । कुनै कुरामा पनि महिलालाई अवसरबाट बञ्चित गर्न नहुने उनको धारणा छ । पहिले शिक्षा र पछि अवसर प्रदान गर्नु पर्दछ । महिलाहरुको आर्थिकस्तरलाई उकास्न सकेको खण्डमा उनीहरु आफै घरायसी समस्याबाट छुटकारा पाउन सक्ने तर्क गौतमको छ ।
महिलाको आर्थिक सवलीकरण, चेतनाको विकासका लागि विभिन्न कार्यक्रम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्था भएपनि तिनीहरुको काम कागजको पानामै सिमित भएको छ ।






