राप्रपा लाग्यो संगठन विस्तारमा
क्वीकखबर सम्वाददाता
सुर्खेत ।
राप्रपा र राप्रपा नेपाल २०७३ मंसिर ६ गते एकिकरण भएपश्चात बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी संगठन विस्तारमा लागेको छ । एकातिर संविधान बमोजिम देशमा हुने तीन वटा निर्वाचन र अर्कोतिर पार्टी एकिकरण भइसकेपछि पार्टीको आन्तरिम विधान बमोजिम गर्नुपर्ने वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रिय महाधिवेशन समेतलाई ध्यानमा राखि पार्टी संगठन विस्तारमा लागेको सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष कविराम पुरीले जानकारी दिए ।

वर्तमान अवस्थामा ठूला दल भनाउँदाहरुले बन्द कोठामा बसेर गरेको निर्णय नेपाली जनतालाई थोपर्ने काम गरेका छन् । नेपाली जनताको भावना र चाहना बमोजिम गर्नु पर्नेमा उनीहरुले आफ्नो व्यक्तिगत र दलीय स्वार्थको राजनीति गरेकोले त्यसलाई परास्त गर्नका लागि दुई राप्रपा एक भएर लाग्नुपर्ने आवश्यकताको महसुस भयो त्यसै अनुरुप हामी एक भएका छौ उनको भनाई थियो ।
यही २०७३ फागुन ६ देखि ९ गतेसम्म हुने काठमाडौमा हुने पार्टीको महाधिवेशनका लागि वडा, गाउँ र नगर तहको अधिवेशन माघ ७ गतेदेखि १५ गतेभित्र, क्षेत्रीय अधिवेशन देशभर एकैसाथ माघ २१ गते, जिल्ला अधिवेशन माघ २५ गते गर्ने कार्यतालिमको तयार गरी पार्टी लागिसकेको राप्रपा जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ । यस बीचमा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरु वडा–वडाबाट संगठन निर्माण गर्दै केन्द्रसम्म पुग्ने र ठूला दलहरुले जनतामा छरेको भ्रमलाई चिर्ने भएकोले अब हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी देशकै पहिलो पार्टी हुनेमा आफूहरु विस्वस्त भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतका बरिष्ठ अध्यक्ष मान बहादुर खड्काले जानकारी दिए ।
दुई पार्टी एकिकरण भइसकेपछि कतिपय जिल्लाहरुमा कार्य समितिमा तत्कालिन राप्रपा र राप्रपा नेपालका अध्यक्षहरुले आलोपालो पद सम्हाल्दै आएका छन् भने कतिपय जिल्लाहरुमा सहमतिमा जिल्ला कार्य समिति संचालन भइरहेका छन् । राप्रपा केन्द्रिय कार्य समितिका अनुसार पौष १० गते भित्रमा सबै जिल्लाहरुमा जिल्ला अधिवेशन निर्वाचन समिति गठन गरिसकिएको छ ।
राप्रपाले तत्कालिन अवस्थामा गणतन्त्र स्वीकार गरेको र राप्रपा नेपालले संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको वकालत गर्दै आएको भएपनि गणतन्त्र वा राजतन्त्र बारेमा केन्द्रीय महाधिवेशनले टुङ्गो लगाउने तर सबैले सनातन हिन्दू राज्यको लागि भने एक मत भएर लड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाइसकेको छ । मध्यपश्चिम स्तरीय बृहत कार्यक्रम यही पौष २० गते नेपालगञ्जमा हुने समेत राप्रपाले जनाएको छ ।






