Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

चुलाकोट मालिका र भक्तजनको अगाध विश्वास

नेपालको कर्णाली प्रदेश सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले अत्यन्तै समृद्ध छ । हिमाल, पहाड, तालतलैया, नदीनाला तथा अनगिन्ती मठ–मन्दिरहरूले भरिपूर्ण यस प्रदेशमा कैयौँ यस्ता पावन स्थानहरू छन्, जसको ऐतिहासिक र धार्मिक महत्व अपार छ । तिनै पवित्र स्थलहरूमध्ये एक हो— चुलाकोट मालिका ।


कर्णाली प्रदेशका दुई ऐतिहासिक तथा सुन्दर जिल्लाहरू दैलेख र जाजरकोटको भौगोलिक संगमस्थलमा अवस्थित सुयाडा लेखको उच्च पहाडी टाकुरामा चुलाकोट मालिकाको पवित्र धाम रहेको छ । समुद्री सतहदेखि निकै उचाइमा रहेको सुयाडा लेख प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो । यहाँबाट चारैतिर देखिने हरियाली डाँडाकाँडा, कञ्चन हिमश्रृङखलाहरू, र चिसो स्वच्छ हावापानीले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ ।
विगतका दिनहरूमा विकट भौगोलिक अवस्थितिका कारण यहाँ पुग्न निकै कठिन र कष्टकर बाटो पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । तर, पछिल्लो समय नेपालको पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग सुयाडा लेख हुँदै निर्माण भएपछि यस क्षेत्रमा अभूतपूर्व रूपान्तरण आएको छ । राजमार्गको विस्तारसँगै चुलाकोट क्षेत्रमा सडक सुविधा पुगेको छ । यसले गर्दा पहिले पैदल हिँडेर पुग्नुपर्ने यस दुर्गम धार्मिक थलोसम्म पुग्न अब भक्तजन, दर्शनार्थी तथा आन्तरिक पर्यटकहरूलाई निकै सहज र सुलभ बनेको छ ।
त्यही सुयाडा लेखको मनोरम डाँडाको नजिकै मालिका बज्यैको मठ (मन्दिर) अवस्थित छ, जसलाई स्थानीय भाषा र लोकपरम्परामा चुलाकोट वा चुलाकोट मालिका भनेर चिनिन्छ । चुलाकोट नाम पछाडिको स्थानीय जनविश्वास र भौगोलिक स्वरुप पनि उत्तिकै रोचक छ । यो मन्दिर केवल एक भौतिक संरचना मात्र नभई हजारौँ श्रद्धालु भक्तजनहरूको अगाध आस्था, विश्वास, श्रद्धा र भरोसाको केन्द्रविन्दु हो ।
चुलाकोट मालिकाको स्थापनाको इतिहास दैलेख जिल्लाको हालको भगवतीमाई गाउँपालिका वडा नं. ४, तुर्सू निवासी बासुदेव अधिकारीसँग प्रत्यक्ष रूपमा जोडिएको छ । लोककथा तथा स्थानीय धार्मिक इतिहास अनुसार धेरै वर्ष पहिले बासुदेव अधिकारी एक साधारण किसान र पशुपालक मात्र थिएनन् विद्वान ज्योतिष र पण्डित थिए ।
एक दिन बासुदेव अधिकारी सुयाडा लेखको हरियाली वनजङ्गलमा आफ्ना बाख्राहरू चराउन गएका थिए । दिउँसोको समयमा बाख्रा चराउँदै गर्दा निरन्तरको थकान र चिसो हावाका कारण उनलाई अल्छी लाग्यो र उनी त्यहीँ एउटा रुखको छहारीमा दिउँसै निदाए । निद्राकै अवस्थामा उनले एक अलौकिक र दिव्य घटनाको अनुभव गरे । जुन रुख अहिलेपनि जस्ताको त्यस्तै अवस्थामा छ ।
सपना तथा प्रत्यक्ष अनुभूतिमा मालिका बज्यै (भगवती देवी) ले उनलाई प्रत्यक्ष दर्शन दिनुभयो । देवीले सो स्थानमा आफ्नो उपस्थिति रहेको र त्यहाँ आफ्नो मठ स्थापना गरी नियमनिष्ठापूर्वक पूजाआजा गर्न बासुदेवलाई आदेश दिनुभयो । यो कुनै साधारण सपना मात्र थिएन, बरु एक प्रत्यक्ष अलौकिक साक्षात दर्शन थियो ।
ब्युँझिएपछि बासुदेव अधिकारीले उक्त स्थानको दिव्य महत्व बुझे र देवीको आदेश शिरोधार्य गर्दै त्यही सुयाडा लेखमा मालिका बज्यैको मठको स्थापना गरे । सोही समयदेखि नै सुयाडा लेखमा मालिका बज्यैको नियमित पूजाआजा, अनुष्ठान र आराधना सुरु भएको मानिन्छ । बासुदेव अधिकारीको सोही भक्ति र समर्पणका कारण आज चुलाकोट मालिका कर्णालीकै एक प्रख्यात सिद्धपीठका रूपमा स्थापित भएको छ ।
चुलाकोट मालिका मन्दिरसँग धेरै अनौठा, रोचक र अद्भुत जनविश्वासहरू गाँसिएका छन् । जसमध्ये ट्याउरे बुढा र गाईको वरदानको कथा अत्यन्तै चर्चित छ ।
स्थानीय लोककथा अनुसार, मालिका बज्यैले स्थानीय ट्याउरे बुढा नाम गरेका एक व्यक्ति र उनका सन्तानहरूमाथि ठूलो कृपा र वरदान प्रदान गर्नुभएको थियो । बज्यैले प्रसन्न भई ट्याउरे बुढाका सन्तानहरूलाई गाई वरदानका रूपमा दिनुभएको मान्यता छ । यस वरदानसँगै देवीले एउटा विशेष धार्मिक नियम र परम्परा पनि बाँधिदिनुभयो ।
बज्यैको दिव्य आदेश अनुसार, ट्याउरेका सन्तानहरूले पालन गरेका गाईहरूबाट प्राप्त हुने दूधको पहिलो धार (दुधको पहिलो भाग) सधैँ मालिका बज्यैलाई नै समर्पण गर्नुपर्छ । कालान्तरमा तिनै ट्याउरेका सन्तानहरूलाई अदरकोटी बुढा भन्न थालियो ।
आजको आधुनिक युगमा पनि यो परम्परा यथावत् जीवितै छ । हाल अदरकोटी बुढा परिवारका सदस्यहरूले ल्याएको दूधको धार पहिले मालिका बज्यै दिनु पर्दछ । अनि मात्र अरुहरुले ल्याएको दूधको धार दिने परम्परा रहेको पूजारी कृष्णप्रसाद अधिकारीको भनाई छ । यदि यो नियम उल्लंघन गरियो वा देवीलाई दूध नचढाई आफैँ प्रयोग गरियो भने गाई बिरामी पर्ने वा दूध सुक्ने जस्ता अनिष्ट हुन्छ भन्ने कडा जनविश्वास रहेको छ । यो दूधको धार चढाउने परम्पराले मानव, प्रकृति, पशु र देवीबीचको अटुट सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।
चुलाकोट मालिका मन्दिरको पूजाआजा र रेखदेखको जिम्मेवारी स्थापना कालदेखि नै एउटा निश्चित वंश र परिवारले सम्हाल्दै आएको छ ।
मन्दिरका संस्थापक बासुदेव अधिकारीका वंशज÷सन्तानहरू नै परम्परागत रूपमा यहाँका पुजारीका रूपमा कार्यरत छन् । बासुदेवपछि उनका छोराहरू र क्रमिक रूपमा नाति–पनातिहरूले मन्दिरको नित्य पूजा र मेला पर्वका बेला गरिने विशेष पूजा सम्हाल्दै आएका छन् । वर्तमान पुजारी कृष्णप्रसाद अधिकारीका अनुसार, पुजारीका सन्तानहरूमा जेठो वा योग्य व्यक्ति क्रमिक रूपमा मन्दिरको मुख्य पुजारी हुने परम्परा पुस्तौँदेखि निरन्तर चलिआएको छ । यसले धार्मिक शुद्धता र वंशानुगत निष्ठालाई कायम राखेको छ ।
धार्मिक अनुष्ठान, हवन, जप र वैदिक पूजाका लागि पुजारीका साथमा पुरोहितको आवश्यकता पर्दछ । बासुदेव अधिकारीका छोरा पुजारी रविलाल अधिकारीको पालामा दशेराका खनाल ब्राह्मणहरूलाई मन्दिरको हर्ता अर्थात् पुरोहितका रूपमा अघि सारिएको थियो । त्यसबेलादेखि आजसम्म दशेराका खनाल ब्राह्मण परिवारले नै मालिका मन्दिरको पुरोहित्याइँ गर्दै आएका छन् । पूजाको मुख्य कार्य पुजारी अधिकारी परिवारले र कर्मकाण्डीय एवम् मन्त्रोच्चारणका कार्यहरू खनाल ब्राह्मण पुरोहितहरूले गर्ने सुन्दर समन्वय यहाँ देख्न पाइन्छ ।
चुलाकोट मालिका केवल स्थानीयस्तरमा सीमित मन्दिर मात्र होइन, यसको राष्ट्रिय र ऐतिहासिक महत्वलाई ध्यानमा राखेर राज्य स्तरबाट पनि मान्यता दिइएको छ । वर्तमान पुजारी कृष्णप्रसाद अधिकारीका अनुसार, नेपाल सरकारबाट समेत मालिका बज्यैका नाममा गुठी सञ्चालन हुँदै आएको छ । सरकारी गुठीमार्फत मन्दिरको विशेष पर्व पूजा तथा मन्दिरको संरक्षणका लागि निश्चित व्यवस्थापन गरिँदै आएको छ । यसले मालिका मन्दिरको पौराणिक महत्व र सरकारी स्वीकार्यतालाई पुष्टि गर्दछ ।
चुलाकोट मालिकामा वर्षभरि नै भक्तजनहरूको आउजाउ भइरहे पनि वर्षको एकपटक यहाँ भव्य र ऐतिहासिक धार्मिक मेला लाग्ने गर्दछ ।
प्रत्येक वर्षको भाद्र शुक्ल त्रयोदशी, चतुर्दशी र पूर्णिमा गरी तीन दिनसम्म चुलाकोट मालिकामा भव्य धार्मिक मेलाको आयोजना हुन्छ । भाद्र शुक्ल त्रयोदशीका दिनदेखि नै दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, सुर्खेत, रुकुम, जुम्ला लगायतका विभिन्न जिल्लाहरूबाट हजारौँ भक्तजनहरू पैदल तथा गाडीमार्फत सुयाडा लेखतर्फ प्रस्थान गर्छन् । उकालो बाटोमा बज्यैको जयकारा लगाउँदै हिँडेको दृश्य अत्यन्तै मनमोहक र धार्मिक भावनाले ओतप्रोत हुन्छ ।
मेलाका तीन दिनसम्म सुयाडा लेखमा हजारौँ मानिसहरूको उपस्थिति रहन्छ । भक्तजनहरू रातभर मन्दिर परिसरमा जाग्राम (भजन, किर्तन) बस्छन्, भजनकीर्तन गर्छन् ।
भक्तजनहरूको दृढ विश्वास छ कि चुलाकोट मालिका बज्यैसँग साँचो मनले मागिएको जुनसुकै वरदान वा मनोकाङ्क्षा पूरा हुन्छ । पुत्र नभएकाहरूलाई सन्तान प्राप्ति हुने, रोगव्याधबाट मुक्ति पाइने, खेतीपाती र पशुधनमा वृद्धि हुने तथा परिवारमा सुख–शान्ति छाउने जनविश्वास छ । भाकल पूरा भएपछि भक्तजनहरूले पूर्णिमाका दिन बज्यैलाई ध्वजा, घण्ट, त्रिशुल, दियो र दूध चढाएर पूजाअर्चना गर्दछन् ।
चुलाकोट मालिका केवल एउटा धार्मिक आस्थाको थलो मात्र नभई यो सिङ्गो क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने अपार सम्भावना बोकेको स्थान हो । सडक सञ्जालको विस्तार हुनुअघि यहाँको पर्यटन निकै सीमित थियो । तर अहिले मध्यपहाडी राजमार्ग मन्दिरको नजिकैबाट गएकाले यहाँ पुग्न सुलभ भएको छ । सडक पहुँचले गर्दा वृद्धवृद्धा, बालबालिका तथा टाढा–टाढाका पर्यटकहरू पनि सजिलै आउन सक्ने वातावरण बनेको छ ।
यदि यस क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने हो भने स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन आउन सक्छ । धार्मिक पर्यटकको आगमन बढ्दा स्थानीय बासिन्दाहरूले होटेल, लज र होमस्टे (सामुदायिक आवास) सञ्चालन गरी आम्दानी गर्न सक्छन् । स्थानीय स्तरमा उत्पादन हुने ओखर, मह, जडीबुटी, स्थानीय दाल, घिउ र हस्तकलाका सामग्रीहरूको बिक्री–वितरण बढाउन सकिन्छ । सवारी साधन सञ्चालक तथा साना व्यापारीहरूका लागि रोजगारीका नयाँ अवसरहरू सिर्जना हुन्छन् ।
चुलाकोट मालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय भगवतीमाई गाउँपालिका, जाजरकोटका स्थानीय तहहरू, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारका पर्यटन मन्त्रालयले सकारात्मक पहल गर्नुपर्ने देखिन्छ ।
मन्दिर परिसरमा खानेपानी, बिजुली, धर्मशाला, शौचालय र भ्यु–टावर जस्ता आधारभूत पूर्वाधारको निर्माण गर्ने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुलाकोट मालिकाको धार्मिक तथा प्राकृतिक महत्वको प्रचारप्रसार गर्ने । उच्च पहाडी संवेदनशील पर्यावरणलाई ध्यानमा राख्दै फोहोरमैला व्यवस्थापन र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा नियन्त्रण गर्न सकेको खण्डमा यसलाई धार्मिक पर्यटनसँग जोडेर लैजान सकिने थियो ।
अन्तमा, दैलेख र जाजरकोटको पावन सिमाना सुयाडा लेखमा मुस्कुराइरहेकी चुलाकोट मालिका बज्यै केवल एक मन्दिर वा स्थान मात्र नभएर कर्णालीको अमूल्य धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहर हुन् । बासुदेव अधिकारीको भक्तिबाट सुरु भएको यो पावन धाम आज हजारौँ–लाखौँ भक्तजनहरूको भरोसा र आस्थाको केन्द्र बनेको छ ।
ट्याउरे बुढाका सन्तानले चढाउने दूधको धारको परम्परा होस् वा अधिकारी र खनाल परिवारले पुस्तौँदेखि धान्दै आएको पूजा–पुरोहित्याइँको निष्ठा, यसले हाम्रो सनातन संस्कृति र परम्पराको सुन्दर झलक दिन्छ । मध्यपहाडी राजमार्गको पहुँचसँगै विकासको नयाँ क्षितिज उघ्रिएको यस क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट सही योजना र प्रवर्धन हुन सकेमा चुलाकोट मालिका कर्णालीकै प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । यसले स्थानीय बासिन्दाको जीवनस्तर उकास्नुका साथै समग्र देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पु¥याउनेछ । जय चुलाकोट मालिका बज्यै ।