Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

माधवी उपन्यासको परिचयात्मक पुनःस्मरण – कालजयी किताब

भरत कुमार साउद

माधवी मदनमणि दीक्षितको पहिलो उपन्यास हो । प्रबन्धात्मक कृतिका निमित्त वस्तु इतिहास, पुराण, लोकवाङ्मय र कल्पित अनि मिश्रितसमेत गरी चार स्रोतबाट ग्रहण गर्ने परम्परा छ । दीक्षितले यस उपन्यासको आख्यान ‘महाभारत, उद्योगपर्व’ को १०६ अधयायदेखि १२३ अध्यायसम्म विस्तारित माधवी र गालवको उपाध्यानबाट ग्रहण गरेका हुन् । दृष्टान्त कथाका रूपमा आएको महाभारतीय छोटो विषयलाई मौकिलताका साथ व्यापक पुनर्निर्माण गरिएको छ । यस क्रममा डार्विन, फ्रायड, माक्र्स आदिका चिन्तन, वेद, उपनिषद्, पुराण, पुरातत्व, मानवशास्त्र, समाजशास्त्र, इतिहास, धर्म, दर्शन, कला, संस्कृति जस्ता धेरै थोकको संश्लेषण गरिएको पाइन्छ । यो दीक्षितको जीवनभरको अध्ययन, मनन, शोधखोज र चिन्तनको परिणतिका रूपमा देखिएको छ ।
कसैबाट केही लिइन्छ भने त्यसको सट्टामा केही दिन सक्ने पनि हुनुपर्छ भन्ने मान्यताका साथ उपन्यासको थालनी भएको छ । गालवले सोही मान्यताका आधारमा गुरु दक्षिणा दिएरै छाड्ने अठोट गरेको छ । गुरुऋण, पितृऋण र देवऋण सजिलै चुकाउन नसकिने ठानिन्छ । गुरु, पिता र मातालाई देवता सरह मान्ने संस्कार पनि पूर्वमा रहेको छ । उपन्यासको नायक गालव गुरुऋण चुकाउन र नायिका पिताको ऋण चुकाउन प्रयत्नशील छन् र अन्ततः चुकाएका पनि छन् । उपन्यासका सतहमा यस्तो उद्देश्य रहे पनि गहिराइमा अर धेरै धेरै उद्देश्य संश्लिष्ट देखिएका छन् । मानिस जति सचेत हुँदै जान्छ ऊ उति नै स्वाधीन बन्न खोज्छ । त्यसका लागि उसले चर्को हठ पनि गर्न सक्छ तर पछि त्यस हठको उसले ठूलै मूल्य चुकाउनुपर्ने पनि हुन सक्छ । स्वाधीनताको रहर हुनु त राम्रो हो तर त्यसको प्राप्ति त्यति सहज छैन । भीक्षार्थी बन्दै हिँडेर प्राप्त गरिने स्वाधीनताको मूल्य कति नै महत्वको होला भन्ने जस्ता कुरा बोध गराउनु पनि यसको उद्देश्य नै हो । यो गालवको जीवनबाट व्यक्त भएको छ । त्यस्तै दृढ दृष्टिकोण नभएको व्यक्तिसँग गरिने प्रेमले जग हसाउनु सिवाय केही प्राप्ति हुन्न भन्ने वैचारिकता सञ्चार गर्नु पनि यसको उद्देश्य बनेको छ, जुन माधवीले गालवलाई गरेको प्रेमबाट प्रकट भएको छ । त्यस्तै जति नै ठूला र महान् ठानिएका व्यक्ति पनि अन्ततः आफ्नो आदर्शबाट च्यूत हुन सक्छ, मानिस प्रशस्त मानवीय सीमाले भरिएको प्राणी हो भन्ने कुरा सञ्चार गर्नु पनि यसको उद्देश्य देखिएको छ । यो सन्दर्भ विश्वामित्र, गालव, वशिष्ठ जस्ता पात्रहरूको चरित्रबाट प्रकट भएको छ । यी बाहेक अझ गहन उद्देश्य त उत्तर वैदिककालीन समाजको अन्तरद्वन्द्व देखाउँदै त्यहाँ देखिन थालेको सकारात्मक परिवर्तन निरूपण गर्नु हो । यस क्रममा उपन्यासमा आर्य–आर्य, अनार्य–अनार्य, आर्य–अनार्य, दास–मालिक, अध्यात्म भौतकिता जस्ता पक्षहरूबीच भएका वेमेल, मतभेद, झैझगडा वा द्वन्द्व संघर्षलाई प्रस्तुत गर्दै तद्युगिन मानवीयता र अमानवीयताको लेखाजोखा गर्ने काम एकातिर भएको छ भने अर्कातिर विारेधाभास चरित्रले भएका युग व्यवस्था र व्यक्तिको कर्मलाई वा अमानवीयताले भरिएको विसङ्गत परिस्थितिलाई धक फुकाएर व्यङ्ग्य पनि गरिएको पाइन्छ । त्यस्ता युग जीवनका मानवता विरोधी कुरूपतालाई व्यङ्ग्य गर्दै दास मोचन बाध्यात्मक अवस्था देखाउन खोज्नु यसको उद्देश्य बनेको छ ।
माधवीे पुराण इतिहासको वा उत्तरवैदिककालीन समाजको विषयमा आधारित उपन्यास हो । यसमा यायावरीय चरित्र मार्फत् तद्युगीन समाज व्यवस्थाको व्यापक पर्यवेक्षण गरिएको छ । इतिहासमा लुप्त र गुप्त कतिपय सन्दर्भहरूको उपन्यासकारले विभिन्न स्रोतको गहन अध्ययन गरी प्राक्कल्पनाका रूपमा पुनर्निर्माण गर्ने काम पनि गरेका छन् ।
उपन्यासमा मूलतः तद्युगीन समाज व्यवस्थाको व्यापक पर्यवेक्षण गर्ने क्रममा त्यतिखेर देखिएका समाज र जीवनका विधिवता, बाध्यता र विद्रूपतालाई गहनता साथ नियालिएको छ । यसले ऐतिहासिक यथार्थतालाई वा त्यस युगको गतिक्रमलाई आधुनिक चेत सहित प्रस्तुत गरेको छ । इतिहास यहाँ ऐतिहासिक सत्य बोध गराउने मात्रै भन्दा पनि ऐतिहासिक गति सहितको रहेको हुँदा यसमा भविष्य चेत पनि संश्लिष्ट देख्न सकिन्छ । स्वाधीन जीवनको प्रक्षेपण यसको काम्य विषय बनेको छ । अरुको ऋणबाट मुक्त भएर बाँच्न चाहने व्यक्ति आकांक्षा अनि अनिच्छित यान्त्रिक जीवनका पीडा यसमा सुसाएका छन् । त्यस युगमा व्यक्तिको स्वाधीनता र मानवता संकटग्रस्त थियो । मातृतन्त्री पछि उदाएको पितृतन्त्रीमा नारी जीवन कहरपूर्ण थियो नै । त्यस बाहेक विपन्न वा निम्न वर्गको जीवन पनि दासदासीका रूपमा रहेको थियो । उपन्यास तिनै संकटग्रस्त मानव समाजको पक्षधर भएर प्रकट भएको छ । उनीहरूले व्यहोर्नु परेको संकटका अनेकन स्रोतहरूलाई उपन्यासले राम्रैसँग उधिनेर देखाएको छ । त्यसप्रति उपन्यासकारको प्रतिद्वन्द्वी भाव ठाउँ ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष शैलीमा प्रकट पनि भएको छ । तसर्थ उपन्यास व्यापक मानवतावादी समतावादी दृष्टिचेतले बुनिएको स्पष्टै देखिन्छ ।
वर्तमानमा रहेर प्राचीन युग जीवनलाई आधुनिक दृष्टि चेतनाले सम्भव भएसम्म यथातथ्य रूपमा बोध गराउन खोज्नु यसको खास चुनौती बनेको छ । उपन्यासकारको श्रमपूर्ण शोधखोजले त्यसलाई धेरै हदसम्म सल्टाएको छ । यो आफ्नो समयमा उपलव्ध स्रोत, साधन अनि एकल व्यक्तिको लगन तथा दृष्टिकोणद्वारा निर्मित रचना हो । पछिल्ला शोधखोज र अध्ययनको विस्तृतिले यसको विषयका बारेमा सामान्य संशोधनको अपेक्षा देखाइ रहन सक्छ । यो कुरा तेस्रो संस्करणको भूमिकामा स्वयं लेखकले नै सकारेका पनि छन् । त्यसैले यसप्रति न्याय गर्ने हो भने यसको लेखन प्रकाशनको ऐतिहासिकतालाई अनि यो इतिहासको ग्रन्थ नभई उपन्यास हो भन्ने कुरालाई पनि भुल्न हुन्न । त्यस दृष्टिले हेर्दा नेपाली उपन्यास परम्परामा दौलत विक्रम विष्टको ‘एक पालुवा अनेकौं याम’ र भवानी भिक्षुको ‘आगत’ पछि देखिएको यो अर्को बृहत् उपन्यास हो । अघिल्ला दुई मूलतः नेपालकै ऐतिहासिक परिवेशमा सीमित थिए भने यो उत्तर वैदिक कालीन व्यापक क्षेत्रमा अडेको छ । अघिल्ला दुईले भन्दा यसले अझ बढी ऐतिहासिक चुनौती समेटेर निर्मित भएको छ । नेपाली उपन्यास परम्परामा नै यो पहिलो उत्तर वैदिक कालीन गतिशील समाजको चित्रण गरिएको वृहत् उपन्यास पनि हो । यसका पूर्वीय प्राचीन ऐतहासिक विषय, प्रचुर बौद्धिकता, व्यापक परिवेश, वृहद् संरचना र तद्युगीनताको आभास दिने संस्कृतनिष्ठ जटिल स्वरूपको भाषाले निश्चय नै धैर्यशील, बौद्धिक र प्राचीनताका अनुरागी गम्भीर पाठकको अपेक्षा गर्दछ ।
मण्डलक जनपदमा जवा, सुपर्ण नागजेय, गालव र जवासुपर्णका छरछिमेकीसँगको सरसल्लाहबाट आख्यानले यतनको मार्ग समातेको छ । यत्नका रूपमा सुपर्ण र गालव नहुषनन्दन अहिच्छत्रनरेश ययातिका दरबारतिर प्रस्थान गछृन् । बाटामा अनेकौं प्रकारका पणि, कर्षणका प्रारम्भिक अवस्था, गोत्रपरिचय, ललाम लाउने प्रचलन आदिसँग परिचित हुँदै स्थलमार्गका अतिरिक्त जलमार्ग र निषादराज सौरभको जीवनचर्याका माध्यमले धीवर समाजसंस्कृति, वनदस्यु, सागरदस्यु आदिजस्ता सामाजिक विकृतिका पक्षहरूको समेत सम्यक् ज्ञान गर्दै नागवंशीय समाजमा उसले आतिथेयजाया अतिथिसपर्यामा आएजस्तै धीवर समाजमा पनि अतिथिसपर्याका निमित्त सुन्दरी दासी सहशयनार्थ पठाउने प्रच लन बोध गर्दछ । नागवंश र धीवरवंश दुवैमा नारी स्वतन्त्र छे । यौनसहिष्णुता छ । जाया, भार्या, पत्नी तथा गृहिणीका रूपमा नारी कुनै पनि पुरुषसँग आपूmले चाहे अनुसार वस्न सक्छे । उसले जन्माएका सन्तान पूर्णरूपेण बाबुका हुन्छन् । सुपर्णले नै जवालाई दुई सन्तानजायाका रूपमा लिएको छ । दौहित्रशुल्क लिेन प्रचलन पनि छ । पुत्रमन्थको तान्त्रिक विधि र पुत्रेष्टीयज्ञका याज्ञिक विधिहरू विस्तारै मिसिँदै जान थालेका छन् । समाज विस्तारै आकारवान् बन्दैछ । कापालिक समाज पनि सृजना भएको छ । सामन्तहरूको उत्पत्ति भइसकेकाले दासत्वमा परिएला कि भन्ने भय पनि छ ।
विश्वामित्रले शुनःशेपलाई वरुणबलिबाट उन्मुक्ति दिए पनि यो सबैतिर प्रचारित र परिपालित भइसकेको छैन । ययातिराजमा वरुणबलिप्रथा प्रबल रूपमा छ । राजपुत्रीलाई महामाया वारुणीमा नियुक्त गरेर वरुणपूजकहरूले मोजमस्ती गर्ने प्रथा दृढ छ । हलिमकले माधवीको शीलभञ्जन गरेको छ, जसलाई ऊ अत्यन्त घृणास्पद रूपले जीवनको तुरीयावस्थासम्म सम्झन्छे । अहिच्छत्र महामायाका रूपमा रहँदा वरुणबलि दिएको त्यो शिशुको र हलिमकको सम्झनाले माधवीलाई पटकपटक व्यथित तुल्याएका छन् । अबुझ अवस्थाका आफ्नै कृत्यका प्रति बोधावस्थामा गरिने पश्चातापका रूपमा यसलाई लेखले प्रस्तुत गरेका छन् ।
ययातिप्रासादमा गालवको प्रस्ताव सुनेर श्यामकर्ण प्राप्तिका निमित्त निसेक (निक्षेप) का रूपमा माधवीलाई गालवका जिम्मा लगाइन्छ । यहाँदेखि उपन्यासाख्यानले विकासावस्था प्राप्त गरेको छ । ययातिका प्रासादमा गालवले कौशिक–आश्रम र मण्डलक जनपदमा पाएको भन्दा भिन्ने प्रकारका खानपान, रहनसहन र बे्ग्लै प्रकारको जीवनशैलीको पनि अनुभव गर्ने मौका पाउँछ । जीवनमै पहिलोपटक उसले आभिचारिक कृत्य सम्पन्न गरेर दासदासी, रजत र स्वर्णखण्डलगायत हात्तीघोडासमेत दानमा पाएर माण्डलिक जनपदतिर पठाउने सुखद अनुभव पनि गर्दछ । आख्यानको विकासको अवस्थामा देखापर्ने आन्तरिक र बाह्य उल्झनविल्झनहरू पनि कसिला र खँदिला बन्दे गउका छन् । स्थलमार्गबाट शीघ्रगामी अश्वारोहीद्वारा प्रयोजनसहितको समाचार निर्दिष्ट स्थानमा पु¥याउने व्यवस्था, राजपुत्रीअनुकूलका यात्रासामग्रीको व्यवस्था, पार्षदगणहरूको व्यवस्था, मुद्रिकादि परिचयपत्रको व्यवस्था जस्ता नूतन कार्यहरूका माध्यमले विकसित समाजमा हुने औपचारिक कृत्यका परम्पराहरूसँग पनि गालव परिचित हुँदै गएको छ । असुर साम्राज्यका वैभव, विपन्नता, विशिष्टता र अविशिष्टताको ज्ञान प्राप्त गर्दै गालव अहिच्छत्रबाट सरयुकिनारस्थ वनायुप्रान्तमा रहेको चोलामाताकोम पितृसत्तात्मक धीवर समाजको सामाजिक संगठन, विसर्जन अवस्थातिर लागेको मातृसत्तात्मक समाजका अवस्थितिहरूको पनि ज्ञान प्राप्त गर्दै गालव र माधवी अयोध्यानरेश हर्यश्वका नगरमा प्रवेश गर्दछन् । यृुवासुलभ मनस्थितिका कारण माधवी र गालवमा आकर्षण र विकर्षणका मनोभावहरू पनि देखापर्दछन् । बाटैमा प्रसङ्गवशात् एक पुत्र एक श्यामकर्ण घोडाको दस्तु पनि निर्णय गर्न पुगेका छन् ।
अयोध्यानरेश हर्यश्वकी जाया बनेर माधवी एकपटक घोडामा विनिमित बन्न लागेकी छ । केशशुल्काका रूपमा ऊ प्रथमपटक हर्यश्वकी अङ्कशायिनी बनी । यौनानुभव त उसले हलिमकबाटै प्राप्त गरिसकेकी भए पनि सोद्देश्य सुरतक्रीडाको यो प्रथम अनुभव हो । गालवले पनि वसन्तोत्सवमा आयोध्यानगरमा स्वतन्त्र यौनाचारको अनुभव गर्छ र क्षत्रीयबाट गर्भिणी बनेर सन्तानोत्पादन गरेपछि ऋषिश्रामबाट विमोचित हुने वचन पाएकी गैरिकालाई गालव विमोचन प्रदान गर्दछ । उसैका कारणले ययातिप्रसादामा पनि एकजोडी दासदासीले विमोचन पाएका थिए । हर्यश्वको दासशालाको दृश्यबाट मानव स्वतन्त्रताका लागि कति दृढ संकल्परत हुँदो रहेछ भन्ने ज्ञान गालवलाई भएको छ । अर्धव्यापार, अर्धकृषि र दासस्वामीको शृङ्खलाबाट निर्मित त्यस राजवैभवका गुणावगुणमा गालव आकण्ठ डुबेपछि मात्र दासमोचन गर्ने आफ्ना गुरुको अभियानलाई राम्ररी बुझ्दछ र भल्लाक्ष, पुष्पिका, गैरिका आदिलाई विमोचन गर्न ऊ तत्पर हुन्छ ।
काक्षीवती घोषाको ब्रह्मवादीपन र उसका जीवनको दारुण घटनाले र पाठशालामा उससँग प्रन आएका कालदन्तादि शिष्यहरूका कोलिक परम्परा श्रवणादि र राजाका खुशीलाई राज्यकै खुसीका रूपमा लिनु पर्ने सामन्तीप्रथाका केही विशष्टि पक्षसँग समेत गालव परिचित भई जीवनजगत्बोधको तेस्रो सापानरुढ हुन्छ । प्रचलित कौमुदी महोत्सवभन्दा अतिरिक्त वसन्तोत्सवको घोषणाले सामन्तहरूको चरित्रलाई उजागर गरेको छ भने दासशालाको एउटा दासले ‘अमोहमस्मि’ (म आत्मा हुँ, म अमर छु) भन्दा हर्यश्व जति डरायो र त्यसलाई मार्ने आदेश दियो, त्यसबाट तानाशाहहरू अति नै कायर हुन्छन् र आपूmलाई चुनौती दिने व्यक्ति, समूह, संगठनलाई अति नै दमन गर्न थाल्छन् भन्ने कुरो पनि उजागर भएको छ । दुई महिनाको वसुमना हर्यश्वका जिम्मा लगाएर माधवी र गालव काशीतिर प्रस्थित हुन्छन् ।
अयोध्याको दाससमाजको अध्ययनपछि अर्को श्यामकर्णप्रापितका व्यजमा माधवीलाई लिएर गालव काशीतिर प्रस्थान गर्दछ । बाटधान महाहट्टाका विधिव्यवहारबाट पनि उसले सांसारिक विविधताको अनुभव सँगेल्छ भने काशीनरेश दिवोदासको अर्धकृषिप्रधान राज्यसंगठनसंयन्त्रको ज्ञान, महाप्रोहित यातुधानसँगको शास्त्रार्थ,म हाकापालिक शंखग्रीवसँगको शास्त्रार्थ, कौमुदी–महोत्सवको जलक्रीडाजनित व्याधिग्रस्त अवस्था र त्यसबेला माधवीद्वारा आपूmलाई मृत्युबाट जोगाउन गरिएको सेवासुश्रुषादिबाट पनि उसले लोकरीतिको गहन ज्ञान लिएको छ । काशीनरेशसँग गालवले पहिले एक पुत्र तीन शयामकर्ण, पछि दुई श्यामकर्ण भनेर दलाली गरे पनि हर्यश्वप्रासादमा बाँधिएको रीति ‘एक पुत्र एक श्यामकर्ण’ नै स्वीकार्दछ ।
वैष्णवी धर्मनिष्ट कृषितन्त्रमा आधारित अर्थतन्त्र र समानताको पूर्ण प्रत्याभूति भएको भोजनगरमा पनि अन्तजस्तै गरी विदतमा आफ्नो कुरो गालव–माधवी दुबे राख्तछन् । अयोध्याको संसदमा काक्षीवती घोषाबाहेक नारी–उपस्थिति निषिद्ध भएकाले माधवीको इच्छा बुझ्न संसदले विशेष निर्णय गरेको थियो भने काशीमा पनि संसदमा नारी–उपस्थिति निषिद्धवत् नै थियो । तर यहाँ भने विद्वत्सभाकक्षमा नारी–पुरुष सरोबारी बसेका थिए । गालवले आफ्नो प्रस्ताव राखेर माधवीको इच्छा बुझिसकेपछि शिविले माधवीबाट एक सन्तानका निमित्त भएको एउटै श्यामकर्ण घोडा दासविमोचनयागमा लागेका आचार्य विश्वामित्रकहाँ पठाउने व्यवस्था मिलाइयो । यो माधवीको तेस्रो सन्तान भएकाले र बस्यौंनीको सुत्केराले उसको शरीर क्षीण भएको छ, अनुहारमा पीत आभा छाएको छ । कान्तिमा म्लानिमाले मुखै गाँजेको छ र अनासक्ति बढ्दै आएको देखिन्छ । त्यहाँको चलनअनुसार गालवले पनि कसैले छोडेर बाँझै बसेको खेत जोत्नुपर्ने भयो । आफ्नो खेतीबाट अन्न नउब्जिएसम्म राज्यको अन्नभण्डारबाट पछि शोधभर्ना गर्ने गरी उसको शव्यशालामा अन्न प्रदान गरियो । यसरी कर्षण गर्न लाग्नुभन्दा पहिले गालवको आपूm अर्को एउटा श्यामकर्णको अनुसन्धानमा जाने र माधवी पुत्रवती भएको खवर पाउनासाथ आइपुग्ने कुरो गर्छ । तर माधवी, शिवि र अरले विरोध गरेपछि ऊ कर्षणकर्ममा लाग्न बाध्य हुन्छ । ‘महाभारत’ मा गालवले सुरुदेखि नै राजालाई माधवी दिएपछि पुत्रोत्पत्तिको समाचार पुगेपछि आएर माधवी लाने गरेको छ ।
रोपाइँको सुरुवात शिविले गर्ने, नवान्नप्रासन पनि शिविको उद्घोषबाट प्रारमभ हुने, निश्चित अन्न राज्यको भाण्डारगारमा बुझाउनुपर्ने जस्ता केही प्रचलनले कर व्यवस्थाको प्रारम्भ हुन लागेको सङ्केत दिन्छन् । कौमुदी–महोत्सवको प्रचलन यहाँ पनि छ । अयोध्यामा जस्तो यौनस्वेच्छाचारीपन यहाँ त्यति छैन । अतिथिसपर्याका निमित्त जाया वा दासी पठाउने प्रचलन पनि छैन । यहाँ कोही कसैले दास वा अधीन हुँदैन÷छैन भनिन्छ । तर पनि समाज–सञ्चालनार्थ केही पदीय श्रेणी र अनुशासनका शृङ्खला निर्मित छन् । यसैबीचमा एकदिन सुपर्ण नागजेय आइपुग्छ । गालव, माधवी र उसका बीचमा चौथो श्यामकर्ण घोडाका बारमो चर्चा हुन्छ । सुपर्ण दिगन्तचारी भएकाले अब चोथो श्यामकर्ण घोडा कहीँ पनि नभएकाले रूपादमा यथार्थ कुरो गरी एक पत्रुका निमित्त माधवी नै अर्पण गर्ने परामर्श दिन्छ । याजक ऋषिव्रतनिरत ऋषिले जाया वा दाससङ्ग्रह गर्लान् र ? भन्ने आशंकाको निवारण नागजेयले असम्भवको आदेश दिनाको रहस्य यही हुन सक्ने बताउँछ ।
उशीनर शिवि जन्मेको दुई महिनापछि गालव र माधवी विश्वामित्र कोशीको आश्रम बगाएकाले चम्पानगरमा नयाँ राज्याश्रम बनाएर बसेका छन् भन्ने खबर पाएर चम्पानगतिरै प्रस्थान गर्दछन् । बाटामा पुनः नयाँ–नयाँ जीवनशैली र भर्खरै वन सल्काएर बनाइएका बिरौटा, खेतबारी, कतै हलोको चलन, कतै केवल च्याप्टो शिलाखण्डका माध्यमले खनेर गरिने खेती आदिको अवलोकन गर्दै गालव र माधवी चम्पानगरमा पुग्छन् । स्नार्थ आएको विश्वामित्रका आँखा माधवीको सौन्दर्यमा विमुग्ध भएर गालावलाई ‘यस्ती रत्न लिएर पहिल्यै आपूmकहाँ आएको भए त भइहाल्थ्यो नि’ भन्छ । अन्तजस्तै एक घोडाको विनिमितदेय एक पत्रुका निमित्त विश्वामित्रले माधवीको हात समाउँछ । आपूm बूढो भएकाले आफ्नो बदलामा आफ्नै बहिनीपुत्र अमत्र्यलाई विश्वामित्रले नियोगका निमित्त नियुक्त गर्छ । यही मौकामा माधवीको फेरि गर्भधारण भएपछि गालव र ऊ विमुक्त हुने, स्वतन्त्र किसिमले बस्ने र पुत्र जन्मिएपछि ऋषिलाई खबर गरी यहाँबाट हिँड्ने वाचा गराएर गालवको पनि दीक्षान्त गराउँछे । माधवी मानसिक रूपले अमत्र्यलाई घृणा गर्छे । यौनउद्वेग पनि उसमा कम हुँदै आएको छ र ऋषिका स्थानमा नियुक्त उसको भानिज युवकै भए पनि बूढै अनुभव गर्छे । प्रथम सहवासबाट गर्भ रहँदैन । दोस्रोपटकबाट गर्भ रहेकाले कहोला जरिताका घरमा गएर दुबे बस्छन् ।
पुत्र अष्टक विश्वामित्रको जिम्मा लाएपछि वृद्ध नरेश ययाति राजपाट पुत्रहरूलाई सुम्पेर आपूm प्रतिष्ठानपुरमा वानप्रस्थी जीवनयापन गरिरहेको खबर पाएकाले विश्वामित्रले माधवीका निमित्त दिएका यावत् कुराहरू अस्वीकार गरी एक जोर शरीरका कपडा लाएर पैदलै प्रतिष्ठानपुरतिर प्रस्थान गर्दछन् । पैदल हिँड्नुपरेकाले थकान, कष्ट र अन्योलका अनेक क्षणलाई उनीहरूले आत्मसात गर्नु परेको छ । लोकदर्शन र परिभ्रमणात्मक ज्ञानका दृष्टिले मात्र होइन, गालव उपनिषत्निर्माता, उपाध्याय र अब विस्तारै आचार्य बन्दै गएको छ । बाटामा एक दिन गालव व्यामोहित भएर माधवीको अधरोष्टचुम्बनका निमित्त लालसा प्रकट गर्छ । तर आपूm सम्राटमा फिर्ता भएपछि उसले पाणिग्रहण नगरुन्जेल गालवजस्तो साधक, उपाधयाय र मुनिवृत्तिवालालाई यसो गर्न सुहाउँदैन भनेर पन्साउँछे । यसबाट गालवमा आवेश आउँछ । ऊ एकातिर हिँड्छ, राति पनि फर्कदैन । माधवी आफैँ खोज्न हिँड्छे । माधवीमा पनि पश्चातापबोध भएको छ । यो घटनचा पनि माधवी गालव स्वयम्बर पूर्वसङ्केतका रूपमा आएको छ । यसरी प्रतिष्ठानपुरमा पुगेपछि ययातिमा उनकी कन्या माधवी प्रत्यावर्तन गरेर उपन्यासको कथावस्तु टुङ्गिएको छ ।