Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

मन्त्रालयको स्वीकृति बिना सरकारी जग्गामाथि मनोमानी

सम्वाददाता

नेपालगन्ज, १८ माघ २०७३

शहरी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको आदेशलाई वेवास्ता गर्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष लक्ष्मणराज पौडेलले नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा एक संस्थालाई स:शुल्क भाडा दिएका छन् ।

अख्तियारले लेखेको पत्र

कोहलपुर नगर विकास समितिका अध्यक्ष लक्ष्मण राज पौडेलले अनुमती पत्रमा आफै हस्ताक्षर गरी मिति २०७३/०९/१९ गते चलानी नं. २३६ अनुसार रुद्राक्ष फिल्मस् प्रालिलाई फागुन ४ देखि १४ गतेसम्म मन्त्रालय तथा अख्तियारको आदेशको बेवास्ता गर्दै स:शुल्क भाडामा न्यूरोड
कोहलपुरको जमीन महोत्सवको लागि दिएका छन् ।

शहरी विकास मन्त्रालयले लेखेको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले (२०७३/०३/०८ चलानी नं. २६०८) शहरी विकास मन्त्रालय सिंहदरबार काठमाडौंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २८(१) को देहाय (ख) बमोजिम नगर विकास समितिको स्वामित्वमा रहेको जग्गाको सन्दर्भमा नेपाल सरकारको पुर्व स्वीकृति नलिई कोही कसैलाई वितरण गर्न नमिल्ने तथा दिनु परेमा प्रक्रिया र कार्यविधि सहितको वस्तुपरक मापदण्ड बनाई नेपाल सरकारको पुर्व अनुमति लिनु पर्ने खालको निर्णय कार्यान्वयनको लागि पत्र पठाएको थियो ।
अख्तियारबाट प्राप्त भएको पत्रको अनुसार शहरी विकास मन्त्रालयले मिति २०७३/०३/२४ गतेको चलानी नम्बर २८४२ अनुसार निर्णय कार्यान्वयन गर्न गराउनको लागि शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, बाँकेमार्फत ८ वटा नगर विकास समितिहरुलाई पत्र समेत पठाइएको थियो ।
कोहलपुर नगर विकास समितिले असोज १६ गते र माघ ३ गते सम्पन्न गरेको बैठकमा महोत्सवको लागि नेपाल सरकारको स्वामित्व अर्थात कोहलपुर नगर विकास समितिको स्वामित्वको जमीन भाडा वा निशुल्क दिने विषयमा कुनै कुरा नउठाइएको समितिका एक सदस्यले बताए ।
कोहलपुर नगर विकास समितिका अध्यक्ष पौडेलले बोर्डलाई जानकारी नै नदिई पत्रमा आफैले हस्ताक्षर गरी महोत्सवको लागि जमीन स–शुल्क जमीन उपलब्ध  गराएका छन् ।
मन्त्रालय र अख्तियारले जग्गा नदिने विषयमा जारी गरेको पत्रलाई बेवास्ता गर्दै कोहलपुर नगर विकास समितिले व्यक्तिगत स्वार्थपुर्तिको लागि जग्गा दिइएको भन्ने खालको अहिले टिकाटिप्पणी समेत शुरु हुन थालेको छ । कोहलपुर क्षेत्रमा हुने महोत्सवको फाइदाको विषयमा करिब ५० लाख भन्दा बढी मुनाफा हुने चर्चासँगै कोहलपुर नगर विकास समितिका अध्यक्ष पौडेलले आफुमाथिका कुनै पनि निकायलाई कुनै जानकारी नगराई तथा पुर्व स्वीकृत नलिई ठुलै रकमको चलखेलमा परी जग्गा दिएको भन्ने खालको टिकाटिप्पणी हुने गरेको पाइएको छ ।
कोहलपुर नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनको लागि ठुलै रकम खर्च गरिएको तथा खर्च भएको रकम असुली गर्नको लागि यस्ता कार्य  गरेको हुन सक्ने खालको कुरा पनि अहिले बाहिर आउन थालेको छ । शहरी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेशलाई बेवास्ता गरी जग्गा भाडामा दिने विषयमा सम्बन्धित सरोकारनिकायले छानबिन गर्नु पर्नेमा कोहलपुर क्षेत्रका बासिन्दा अहिले एक देखिएका छन् ।
कोहलपुर क्षेत्रमा हुने महोत्सवको कारण बजारमा ध्वनि प्रदुषण हुनुको साथै व्यापारमा समेत अवरोध हुन सक्ने आसपासका व्यापारीले बताएका छन् । राजनीतिक नियुक्तीको आधारमा नेपाली काँग्रेसको तर्फ कोहलपुर नगर विकास समितिको अध्यक्ष पदमा आसिन हुन पुगेका अध्यक्ष लक्ष्मणराज पौडेलले अहिले गरेको यो कार्यप्रति नेपाली काँग्रेस बाँकेका सभापति श्रीमती किरण कोइराला भन्नुहुन्छ – ‘पार्टीभन्दा पनि जुन सुकै पदमा बसेका  पदाधिकारीहरु नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन नियम अनुसार कार्य गर्नु पर्छ ।’ उहाँले घुमाउरो पाराले ऐन नियम अनुसार काम गर्ने जो कोहीको विषयमा छानबिन हुन जरुरी हुनुको साथै गलत कार्य भएकै हो भने दोषी ठहर भए कानुन अनुसार कारवाही समेतको धारणा राख्नु भयो ।