Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

अघोषित प्रेमीलाई पत्र

मिति २०७३, फागुन ५

प्रिय अघोषित प्रेमी,
आजसम्म दिन नसकेको सबै माया !

आजसम्मका सबै प्रणय दिवसहरू प्रेमिका बिना नै बिताउनु परेकोमा दुःखी छौ होला । हरेक वर्ष झैँ यो वर्ष पनि निराश भयौ होला आफ्नो प्रेम नभेटेकोमा । साथीहरूले आफ्ना प्रेमलिला सुनाउँदा मनमा काउकुती लाग्दो हो, मनले एउटा परीको कल्पना गर्दो हो र उनीसँगको एउटा बेग्लै दुनियामा आफ्नै प्रेमलिला रच्न मनको उडान हुँदो हो ।

प्यारा, यस्तो तिमीलाई मात्र होइन, मलाई पनि हुन्छ । म पनि कल्पिन्छु आफ्नो भर्चुअल प्रेमको कथा र रमाउँछु आफैँ भित्र । मलाई मात्रै रहर नभएको कहाँ हो र ! रोज डेमा तिमीलाई रातो गुलाब उपहार दिने, मलाई मात्रै रहर नभएको कहाँ हो र ! प्रणय दिवसमा तिमीसँगै प्रेमका कुरा गरेर दिन बिताउने । युगल जोडी हात समाएर हिँडेको देख्ने बित्तिकै म तिमीलाई कल्पिन थाल्छु । जब हृदयभरीका गुनासा पोख्ने कोही भेट्दिन, तब तिमी साथ भइदिए कति जाती हुन्थ्यो भन्ने सोच्छु, तिमी अर्थात मेरो अघोषित, अपरिचित र स्वयम् मेरो लागि आजसम्म गुमनाम प्रेम ।

जसरी शान्ति भनेको युद्धको अनुपस्थिति मात्र होइन, त्यसरी नै प्रेम भनेको पनि घृणाको अनुपस्थिति मात्रै होइन । प्रेम स्वतन्त्रता हो, प्रेम सुविचार हो र सुशासन हो । प्रेम परिवर्तन मात्र होइन, विकाससहितको सकारात्मक परिवर्तन हो । प्रेम गर्नेहरू अरुलाई पीडा दिन त के, कसैको पीडा देख्नसम्म पनि सक्दैनन् । समाजलाई प्रेम गर्नेहरू विकासका भोका हुन्छन् । आफ्ना जनताको सहज जीवनशैली र गुणस्तरीय जीवनका लागि आफू दिनरात खटिन्छन् । हाम्रो देशका राजनीतिज्ञ, व्यापारी र समाजसेवीहरूले प्रेम गर्न जानेका भए अहिले सिँगो देश प्रेममय हुने थियो । हो प्यारा, पहिले त हामीले यी हुनेखाने भनौदाहरूलाई नै प्रेमको पाठ सिकाउन जरुरी छ, प्रेम गर्न सिकाउन जरुरी छ र जरुरी छ एउटा प्रेममय देशको निर्माण गर्नु ।

राजा, मलाई विश्वास छ, तिमी पनि म जस्तै समाजलाई प्रेम गर्नमै व्यस्त छौ होला । एकदिन बाबुआमाबिहीन टुहुराहरूको अभिभावक बनेर उनीहरूको मुहारमा मुस्कानको गुलाब फुलाउन तल्लिन तिमीले प्रेमीकाको सामिप्यतामै हराउन खोज्नू हुँदैन । आज आफ्नो मुनालाई गाउँघरमै छाडेर परदेश भाँसिएका लाखौँ मदनहरूलाई स्वदेशमै अवसर सृजना गर्छु भनेर लागि परेको तिमी, मात्रै आफ्नो सुन्दर घरबार बसाउनमा व्यस्त हुनु पनि हुँदैन । पिर पटक्कै नलिनु, यसरी समाजलाई प्रेम गर्दा गर्दै आफ्नो प्रेम चाहिँ देख्नै पाउँदिन की भनेर । यता तिम्रो प्रेम पनि समाजलाई प्रेम गर्न मै व्यस्त छे । तिमीलाई प्रेम गर्नु पहिले मैले प्रेम गर्नुछ यो समाजका असहायहरूलाई, बन्नुछ निमुखाहरूको प्रेम जसले उनीहरूको जिन्दगीमा प्रेमको इन्द्रेणी पोत्नेछ । हामीले यस्तो समाज बनाउनु पर्छ, जहाँ प्रेम बिहिन कोही नहुन् ।

तिमी सोचीरहेको होलाउ, आखिर दुबैको उद्देश्य समाजलाई नै प्रेम गर्नु हो भने किन सहकार्य नगर्ने भनेर ? तिमीसँगै सहयात्रा गरेर समाज र तिमी दुबैलाई उत्तिकै निश्चल प्रेम दिने सोच म मा पनि नभएको होइन । तर सोचेँ, कतै तिम्रो प्रेमको सागरमा डुबेर मेरो समाजप्रतिको प्रेम कम हुने पो हो की ? मलाई भेटेपछि तिमी पनि आम प्रेमीहरू जस्तै आफ्नै घरबार सिँगार्न मै व्यस्त हुन्छौ की ? मलाई डर लाग्छ, कतै हाम्रो प्रेम पनि एउटा घर, सानो परिवार र रोजीरोटीको लागि गुजारा चलाउनमै सिमित रहन्छ की ?

मलाई त्यो भन्दा केही फरक प्रेम गर्नुछ । मलाई यस्तो प्रेम गर्नुछ जसको दायरा आकाश जस्तै पराकिलो होस् । मलाई यस्तो प्रेम गर्नुछ जसबाट पछुतो होइन, बरु आत्मसन्तुष्टिको आभाष गर्न पाइयोस् । मलाई यस्तो प्रेम गर्नुछ जहाँ कुनै बालक, कुनै वृद्धा र कुनै असहाय र अशक्तहरू प्रेम बिहीन हुन नपरोस् । र मलाई थाहा छ, तिमीपनि यस्तै प्रेमका लागि संघर्ष गरिरहेका छौ यो भूगोलको कुनै माटोमाथि ।

जुनदिन यो समाजको मुहार प्रेममय बनाउन सकिन्छ, जुन दिन यहाँका हरेक व्यक्तिले प्रेम पाउँछन् र प्रेम गर्छन्, जुन दिन व्यथिति र छलकपटलाई प्रेमले धुलो चटाउँछ, जुनदिन देशका युवाहरु प्रेम र आकर्षणबीचको फरक चिन्न सक्षम हुनेछन्, जुन दिन गाउँबाट सहर पसेका युवापुस्ता आफूले प्रेम गरेको व्यक्तिलाई भन्दा आफ्नो अध्ययन र सुन्दर भविष्यनिर्माणलाई प्राथमिकतामा राखेर परिश्रम गर्नेछन् र जुन दिन प्रेमको वास्तविक परिभाषा यथार्थमा झल्किनेछ, हो त्यसपछिका दिनहरूमा हामीलाई प्रणय दिवस मनाउन कुनै फेब्रुअरी १४ कुर्न पर्दैैन । हो प्यारा, त्यसपछिका हरेक दिन प्रेममय हुनेछन्, हाम्रो जीवन मात्र होइन, यो समाज, यो देश र यो विश्व नै प्रेममय हुनेछ ।

तिमी निसङ्कोच आफ्नो सामाजिक प्रेम कायम राख्नू र नभुल्नु स्वयम्लाई प्रेम गर्न । म पनि आफूलाई प्रेम गर्दै समाजप्रतिको प्रेममा लागि पर्दैछु । एकदिन हामी दुबैको प्रेमले सार्थकता पाउनेछ र तिमीले त्यही प्रेममय समाजभित्र मलाई भेट्नेछौ, म तिमीलाई भेट्नेछु । जीवनको त्यो वसन्त पार गर्दासम्म आफूले नपाएको प्रेमको क्षतिपूर्ति हामी दुबैले पाउनेछौँ, त्यो प्रेममय समाजले हामी दुबैलाई धेरै नै प्रेम गर्नेछ ।
उही तिम्री अघोषित प्रेमीका
– बिनिता कार्की

साभार : उज्यालो अनलाइन