शर्माको ‘अनुपमा’ फागुन भित्रै आउने

८ फागुन २०७३
पार्बती थापा / सुर्खेत
उपन्यासकार सुशिल शर्माद्वारा लिखित उपन्यास ‘अनुपमा’ फागुन भित्रै प्रकाशनमा आउने भएको छ । काँक्रेविहार मिडिया प्रा.लि. सुर्खेतले प्रकाशन गर्ने उक्त उपन्यास लेखकको तेस्रो कृति हो ।
यस भन्दा अगाडि उहाँले ‘नपुरिने घाउ’ यात्रा संस्मरण २०६६ र ‘सुर्खेतको इतिबृत्ति’ २०६८ प्रकाशित गरी सक्नुभएको छ । लेखकका अनुसार २०६६ सालदेखि नै लेख्न शुरु गरिएको भएपनि भरखरै अनुपमाले पूर्णता पाएको छ । फागुन भित्रै सबै पाठकहरुको हात हातमा पु¥याउने लक्ष्यका साथ लागिएको छ । शर्माद्वारा लिखित सुर्खेतको इतिबृत्ति सुर्खेतीहरु माझ निकै चर्चाको विषय बनेको पुस्तक हो ।
एउटा नेताको देहवासन भइसकेपछि ती नेताको श्रीमतीले आफ्नो श्रीमानले देखाएको बाटोमा हिड्न र आफू राजनीतिक क्षेत्रमा स्थापित हुनका लागि गरिएको संघर्षदेखि राजनीतिक क्षेत्रमा भएका राम्रा नराम्रा क्रियाकलापहरु समेतलाई विषयवस्तुको रुपमा उतारिएको लेखकले बताउनु भएको छ । सामाजिक, ऐतिहासिक, राजनीतिकदेखि प्रेम कहानी समेतलाई कथाबस्तु बनाइएको भएपनि

उपन्यास अन्तमा वियोगान्तक रहेको लेखक शर्माले जानकारी दिनुभएको छ । राजन काफ्लेले आवरण डिजाइन गर्नुभएको उपन्यास अनुपमाको वितरण भने काठमाडौँबाटै हुने शर्माले बताउनु भएको छ । आफूले पैसा कमाई होला भन्ने आशा राखेर साहित्य लेखन नगरेको भएपनि किताब निःशुल्क बाड्दै नहिड्ने योजना रहेको समेत उहाँले बताउनु भएको छ । किताब निःशुल्क बाँड्दै हिड्नु जो सुकै लेखकको लागि दुःखको कुरा भएको समेत उहाँले औल्याउनु भयो ।
गीत, गजल, कविताका क्षेत्रमा समेत कलम चलाउने शर्मा सुर्खेतबाट प्रकाशित हुने काँक्रेविहार दैनिक पत्रिकाका सम्पादक समेत हुनुहुन्छ ।






