कविता – नयाँ वर्ष
आयो यो नव वर्ष जोश भरियो साह्रै रमायो मन 
हुन्छन् यी वन फाँट, शैल हरिया पाई नयाँ जीवन ।
बन्छन् सार्थक शब्द मानव गला, सङ्गीतको स्पर्शले
छाला, कान र नेत्र,नाक भरिए सौन्दर्य उत्कर्षले ।।
क्वैलीको छ सदाबहार मधुरो वाणी नसुन्ने छ को
छन् नौला वनकुञ्ज,फूल; लहरा ‘आहा !’ नभन्ने छ को ?
लाग्छन् सुन्दर पुष्पपुञ्ज हँसिला छन् फूल नानाथरी
नौला कुञ्ज सजाउँदा प्रकृतिले छायो नयाँ माधुरी ।।
गोठालो फलफूल खोज्न वनमा घुम्दै गयो आशमा
चारो खोज्न उडी गए विहग जो फिर्ता भए वासमा ।
पक्का काफल पाक्छ एक खगले आई बतायो गयो
पन्छी चिर्बिर गानले जग सबै भूस्वर्गजस्तै भयो ।।
हावा साँझ बिहान शीतल चली आनन्द बेग्लै हुने
मान्छे, फूलसँगै वनस्पति खुसी , सम्पन्न सारा बने ।
उड्छन् फूल चुसी सकेर पुतली उद्यानका माझमा
फुट्छन् मूल अनेक यो हृदयमा वैशाखका साँझमा ।।
पन्छी स्वाद लिई सहर्ष फलको सन्देश दिन्छन् छिटो
‘पाक्यो काफल’भन्दछन् वनचरी चाखेर मानी मिठो ।
लायो दृष्टि जता उतैतिर भुल्यो माधुर्य देखी मन
लाग्ने गर्छ सुवर्ण बिस्कुन न हो ऐॅसेलु पाक्दा वन ।।
धर्तीभित्र अनन्त हुन्छ कि कसो सौन्दर्यको माधुरी
आई जेठ बजाउँदैन कहिले वैशाखझैॅ बाँसुरी ।
सारा वृक्ष,पहाड कुञ्ज वनका साँच्चै नयाँझैॅ बने
बेग्लै फुर्ति,उमङ्ग,जोश,थपिने वैशाख आयो भने ।।
▶शार्दूललिक्रीडित◀









