Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने दिन धेरै टाढा छैन : लामा

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व स्थानीय विकास सहायक मन्त्री माननीय रेशम लामाले राप्रपाको नेतृत्वमा सरकार बनाउने दिन धेरै टाढा नभएको बताउनु भएको छ । चैत्र ३० गते मिडिया नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

अब हुने स्थानीय निर्वाचन मात्र होइन तीनै तहका निर्वाचनमा जनता राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट हाल्न आतुर छन् उहाँको कथन थियो । केही दलहरुले आफू निर्वाचनमा हार्ने डरले निर्वाचन भाँड्न खोजिरहेका छन् तर स्थानीय तहको निर्वाचन छिटो भन्दा छिटो गरी जनतालाई स्थानीयतहका प्रतिनिधिहरुबाटै सहज रुपमा कार्य संचालन गर्नु पर्छ भन्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी भएकोले पनि हामी निर्वाचन हुनु पर्छ भन्नेमा छौ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

संविधानको कार्यान्वयन गर्दै स्थानीय तह लगायत सबै तहका निर्वाचन गर्न र गराउनका लागि नै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी भएको समेत उहाँले स्पष्ट पार्नु भएको छ । स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिद्धान्त र एजेण्डालाई मनन् गरेर जनताले भोट हाल्ने भएकोले आफ्नो पार्टीको जीत हुनेमा विश्वस्त रहेको जिकिर गर्दै उहाँले भन्नुभयो – हिजोका दिनमा ४ जना सांसदमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले चौथो दलका रुपमा स्थापित भएको छ । यो राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रवाद र जनताको मायाले गर्दा हो । अब आवश्यक बहुमत हुँदै दुई तिहाइ प्राप्त गरी नेपाललाई हिन्दुराष्ट्र बनाउने कार्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढिसकेको छ ।

निर्वाचन आयोगले हाम्रो एजेण्डा हाम्रो विधानबाट हटाएर ठूलो गल्ती गरेको छ । निर्वाचन आयोग आफ्नो गल्ती सच्याउन तयार भइसकेको छ । यदि उसले गल्ती सच्याएन भने हामी जनताको बिचमा बौद्धिक आन्दोलन गर्छौ र आफ्नो एजेण्डालाई स्थापित गराउँछौ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् सांसद सीता लुईटेल ज्ञवालीले भन्नुभयो – महिलालाई प्रमुख २ पद मध्ये एक पद दिने संवैधानिक व्यवस्था भएपनि जहाँ पनि महिलालाई उपप्रमुखको पदमा राख्ने जुन प्रबृत्ति देखिएको छ त्यसलाई चिर्नका लागि पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले पहल शुरु गरिसकेको छ । अब हुने निर्वाचनमा केवल ३३ प्रतिशतको नारा लगाएर महिलालाई उपप्रमुखमा मात्र स्थान दिने होइन । प्रमुख बनाएर कार्य संचालन गर्ने वातावरणको सिर्जना गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढेकोले पनि महिला दिदीबहिनीहरुको आकर्षणको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ ।

कार्यक्रममा उपस्थित पूर्व सहायक महामन्त्री एवम् युवा नेता मुकुन्द श्याम गिरीले अबको केही दिन भित्रै उम्मेद्वारहरुको ढुङ्गो लाग्ने बताउनु भएको छ । पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो – नेपाली जनताले करिब १९ बर्ष देखि अनुभव गर्न नपाएको स्थानीय निर्वाचन अहिले हुन गइरहेको छ । यतिबेला नेपाली जनताको राजनीतिक चेतना धेरै विकसित भइसकेको छ । त्यसैले कसैको लहलहैमा भन्दा पनि बौद्धिक क्षमताका आधारमा नेपाली जनता भोट हाल्नेछन् । अब नेपाली जनतालाई कसैले भ्रम छरेर आफ्नो दुनो सोझ्याउने योजना बनाएको छ भने त्यो केवल सपनामा मात्र सिमिति हुनेछ । त्यसैले सचेत नेपाली दाजुभाइ दिदीबहिनीहरुले राष्ट्र र राष्ट्रियताको बचाउका लागि पनि यस पटकको भोट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिनेमा म विश्वस्त छु ।