एमालेले हावा खाने निश्चित भएकै हो त

नेपाल सतिले सरापेको देश भनेर धेरैले आफ्ना वाक्यांशहरुमा उल्लेख गर्ने गरेका छन् । जसले राम्रो गर्न खोज्छ उसैलाई असर पर्दै र पार्दै जाने हाम्रो संस्कार नै हो भन्दा फरक नपर्ला । देशमा जब जब संकट आउँछ तब काँग्रेसले त्यसको नेतृत्व आफ्नो हातमा लिने र अन्य राजनीतिक पार्टीको सहयोगमा सफलता प्राप्त गर्दै आफ्नो इतिहास बनाउने गरेको छ । २००७ सालको क्रान्तिदेखि २०६२÷०६३ सम्मको आन्दोलन मात्र होइन संविधान लेखनको कार्यमा समेत काँग्रेसलाई यो आसिरवाद हात लाग्यो । भरखरै जनयुद्धबाट शान्ति प्रक्रियामा आएको तत्कालिन माओवादीले देशको प्रमुख पार्टी बन्ने हैसियत राख्यो । जनताको जनमतको आधारमा सबै भन्दा धेरै सांसद सदस्य संख्या बनाएर सिंहदरबार छिरेको माओवादी अनुभव हिन थियो । जसका कारण उसले संविधान निर्माण भन्दा पनि पशुपति, राष्ट्रपति र सेनापतिमा हात हाल्यो । एउटा सेनापति प्रकरणमा माओवादीको नेतृत्वमा भएको सत्ता नै परिवर्तन भयो । यसबाट पनि स्पष्ट के हुन्छ भने राजनीति गर्नु निर्वाचन जित्नु मात्र होइन जीतको परिमाणलाई कार्यान्वयनमा उतार्नु पनि हो ।
पंक्तिकारलाई राम्रोसँग याद छ । २०५२ सालमा देशबासी एमालेको समर्थनमा ओइरिएका थिए । त्यतिबेला एमालेका साथीहरुले निर्वाचनमा बिरालो उम्मेदवार बनाए पनि चुनाव जितिन्छ भनेर ठूलै दम्भ देखाएका थिए । एमालेले बनाएको अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका दुईवटा कार्यले एमोलाई त्यहाँसम्म पु¥याएको थियो । यो काँग्रेसीहरुले पनि स्वीकार्नै पर्छ ।
आफ्नो गाउँ आफै बनाऊँ र बृद्ध एवम् विधवा भत्ता । अल्पमतको सरकार ढलेपछि पनि राजनीतिक कालखण्डमा एमाले धेरै पटक सरकारमा गएको छ । माधव, झलनाथ, केपी जस्ता नेपालका राजनीतिक हस्तीहरु प्रधानमन्त्री भइसकेका छन् । जत्ति मनमोहनको नेतृत्वको सरकारले जनमुखी कार्यक्रम ल्याउन सकेको थियो त्यत्ति अरु एमालेहरुले ल्याउन सकेनन् । अहिले पनि एमालेका वडादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरु त्यही कार्यको ब्याज खाइरहेका छन् ।
२०५२ सालमा भएको एमालेको जनमतबाट अन्य राजनीतिक दलहरु डराएका थिए । कतै दुईतिहाइ नै ल्याउने त होइन भनेर । तर आफै बसेको पार्टीले गरेका ५२ बुँदे अपराधरुलाई छताछुल्ल पार्दै वामदेव गौतमले एमालेको वाम नेत्र फुटाए । त्यसपछि काँग्रेसले बहुमत ल्याउन नसकेपनि एमालेले बहुमत ल्याउन सकेन ।
संविधान सभाको पहिलो निर्वाचनसम्म आइपुग्ने बेलामा एमालेले जनता सामु छरेको आन्तरिक गुटबन्दीको बिउ धेरै झाँगिइसकेको थियो । अर्कोतिर काँग्रेसको रुखका जराहरु मक्किइसकेका थिए । भरखरै जंगलबाट आएको सिंहरुपी माओवादी सिंहदरबारमा उच्च मान र सम्मानका साथ बस्ने अवसरको सिर्जना यसैकारणले भएको हो ।
तातै खाउँ जलि मरिजाउ भन्ने भावनाबाट माथि उठ्न नसकेको माओवादीले अपरिपक्कहरुलाई सांसद बनाएर लग्यो । हुन त पार्टीदेखि सरकारको नेतृत्व गर्ने प्रचण्ड पनि आफै परिपक्क हुन सकेका थिएनन् । जनताले आशा र भरोसाका साथ हेरिरहेका बाबुरामको अर्थ नीतिले उनी माथि अझ बढि भरोसा गर्ने अवस्थाको सिर्जना ग¥यो । तर कसाइँबाट जीवनदान पाउने आशा गरेको बलीको बोका झैँ भए नेपाली जनता फेरी एकपटक । बाबुराम जब प्रधानमन्त्री भए तब पार्टीको आन्तरिक गुटकै कारण उनलाई असफल बनाइयो । जुन पीडा आज बाबुराम नयाँ शक्ति नामक पार्टीको संयोजक भएर ओकलिरहेका छन् ।
काँग्रेसको गुटबन्दीको कारण अहिलेसम्म पार्टीको केन्द्रिय समितिले पूर्णता पाउन सकेको छैन । वर्तमान संसद संख्यामा सबै भन्दा ठूलो पार्टी अर्कालाई ज्यू हजुरी गर्दै सरकारमा बसेर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पोस्ने काम गरिरहेको छ । संविधान निर्माणको श्रेय आफूले लिन पाउनु पर्ने उद्घोष गरिरहेको पार्टीले आफ्नै पार्टीको केन्द्रिय समितिको विस्तार गर्न सकेको छैन भने कसरी यसले संविधानको श्रेय लिन पाइन्छ । संविधान निर्माणको श्रेय त सबै दलहरुले पाउनु पर्छ । एउटाले बनाएको संविधान होइन यो । अझ काँग्रेस एमाले र माओवादीले नेपाली जनतासँग माफी माग्नु पर्छ । किनकी संविधान माथि सुझावहरु संकलनको कार्यमा आएका सझावलाई नसमेटेर लत्याउने अधिकार कस्ले दियो तिनीहरुलाई ?
स्थानीयतहको निर्वाचन आउन अब तीस दिन मात्र बाँकी छ । एमाले भित्र गुटको राजनीति शुरु भइसकेको छ । काठमाडाँै जस्तो देशको राजधानी रहेको जिल्लामा समानान्तर समिति समेत खडा भै सकेको छ । संचारको युगले फड्को मारिसकेको अवस्थामा यो सरुवा तर सञ्चो नहुने रोग जिल्ला–जिल्ला, गाउँ–गाउँ र वडा–वडामा पुग्नेछ । निर्वाचनको आडमा आएर नाम एक पार्टी दुई बनेको एमालेले फेरी पनि नराम्रोसँग हावा खाने निश्चित जस्तै भएको छ । केपी ओली प्रधानमन्त्री भएको बेलामा हावाबाट निकाल्ने भनेको बिजुली अहिलेसम्म ननिस्कनुको कारण एमालेले आफै हावा खाने योजना बनाएको जस्तो लाग्यो ।
भाषण गर्ने बेलामा जनतासँग बहुमत माग्ने तर बहुमत पाउने वातावरणको सिर्जना गर्न नसक्ने एमालेलाई जनताले विश्वास गर्ने वातावरणको सिर्जना कहिले हुन्छ ? एमालेजनहरुले बेलैमा सोचे हुन्छ । व्यक्तिगत र गुटबन्दीको राजनीतिबाट जबसम्म तिमीहरु माथि उठ्न सक्दैनौ तबसम्म तिमीहरु कुँवाबाट बाहिर आउन सक्ने छैनौ ।
गाउँमा जाने हो भने जता पनि एमालेकै कुरा हुने गरेको छ स्थानीय तहको निर्वाचनको विषयलाई लिएर । तर अन्तिममा जब निर्वाचनको दौड हुन्छ तब यिनीहरु यत्ति नराम्रोसँग पछारिने छन् कि त्यतिबेला यिनीहरुलाई हात समाएर उठाइदिन हिजो एमालेबाट अर्को पार्टीमा गएर स्वार्थपूर्ति नभएकाहरु पुनः घर फर्केको उद्घोष गर्दै आउने बाहेक अरु हुने छैनन् । त्यसैले पनि एमालेले जनताको जनविश्वासलाई बचाई राख्न सक्दैन भन्ने प्रमाणित हुन्छ । यद्यपी यो रोग काँग्रेस, माओवादी लगायतका अन्य पार्टीमा समेत नभएको भने होइन । तर एमालेमा हुनुपर्ने भन्दा पनि बढी छ । नयाँ बर्षको अवसरमा मेरा पाठकहरुलाई मंगलमय शुभकामना ।






