Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

रहेनन साहित्यकार केवल

जेठ १३, २०७४

काठमाडौं  

पत्रकार एवं साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्यसम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढलेका उनलाई उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले तत्क्षण उनको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्ने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रुपमा काम गरेका थिए। पछिल्लो समयमा पनि उनी नेपाली जनसरोकार मासिकको सम्पादक थिए। साथै अवधि भाषाको ‘बटोही’ द्वैमासिकमा पनि उनी कार्यरत थिए।

केवलका आधा दर्जन कृति प्रकाशित छन्। पछिल्लो पटक उनको गुरुङको उद्भव र संस्कृतिसम्बन्धी पुस्तक प्रकाशनमा आएको थियो। केवलका बुबासहित दाजुभाइ चितवनबाट बसाइँसराइ गरी जाने क्रममा अन्तै पुगेका थिए। उनका बुबा मात्र तनहुँ पुगे र त्यहाँ तिवारीको सट्टा केवल लेख्न थाले।

साहित्यकार मेदिनीले पनि पितालाई पछ्याउँदै केवल नै लेख्न थालेका हुन्। तनहुँको रुपाकोट पुर्ख्यौली थलो भएका केवल हाल दाङको लमहीमा स्थायी बसोवास गर्दै आएका थिए। पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी छन्।