सुर्खेतमा पनि मनाइयो गणतन्त्र दिवस
१५ जेठ २०७४
सुर्खेत ।
दशौं गणतन्त्र दिवस सुर्खेतमा पनि एक औपचारिक कार्यक्रम गरी मनाइएको छ । जिल्ला समारोह समितिको आयोजनामा वीरेन्द्रनगर बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको सभा हलमा औपचारिक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि एवम् मध्यपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौडेलले भन्नुभयो – नेपाल गणतान्त्रिक संविधान कार्यान्वयनको दिशामा अगाडि बढिसकेको छ । जसको पहिलो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचन भइसकेको छ । स्थानीय तहले जनप्रतिनिधिहरु पाइसकेको अवस्था छ । करिब १५ वर्षसम्म कर्मचारीहरुले दोहोरो भूमिका खेल्दै कार्य गरे अब जनप्रतिनिधिहरुसँग सहकार्य गर्दै अगाडि बढ्न कर्मचारीहरुलाई अनुरोध गर्दछु । साथै उहाँले भन्नुभयो – अबको परिवर्तन भनेको विकासको परिवर्तन हुनुपर्छ । अब सिंहदरबारमा धाृउनु नपर्ने भएकोले पनि विकास निर्माणका कार्यहरु गर्न सहज हुने भएकोले जनप्रतिनिधिहरु हरेक क्षण र पलमा खट्नु पर्ने बेला आएको छ । राजनीति कर्मी र कर्मचारीहरु बीच समन्वयको विकास हुनु पनि जरुरी छ । अब पनि बोल्ने होइन काम गर्ने समय आएकोले नेपाली जनताले अधिकार प्राप्तिको लागि फेरि अर्को आन्दोलन गर्नु पर्ने अवस्था आउने
छैन ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका का.वा. प्रमुख मोहनमाया ढकालले शुभकामना मन्तव्यको क्रममा भन्नुभयो – हामी निर्वाचित जनप्रतिनिधिहरु सबै राजनीतिक दल, कर्मचारीहरुसँग प्रतिस्पर्धी भएर होइन परिपूरक भएर काम गर्न तयार छौ । अनि मात्र स्थानीय तहलाई सुन्दर, समुन्नत र समृद्ध बनाउन सकिन्छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारी लगायत नवनिर्वाचन वडा अध्यक्ष एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।





