प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, पदबाट निलम्बित
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावको प्रस्तावक मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।

‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ,’ कांग्रेस नेता विश्वकर्माले अनलाइनखबरसँग भने ।
२५१ सांसदको हस्ताक्षरसहित परेको महाअभियोग प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि नाम छ तर, उनको हस्ताक्षर छैन । कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भने हस्ताक्षर नै छ ।
नेपालको इतिहासमा महाअभियोगको सामना गर्ने कार्की पहिलो महान्यायाधीश हुन् । सुशीला कार्कीलाई महाअभियोग लगाउनुको मुख्य र तात्कालीक कारण आइजीपी प्रकरण नै भएको बताइएको छ ।
कार्की स्वतः निलम्बित
कांग्रेस र माओवादी सांसदहरुले महाअभियोग दर्ता भएलगतै प्रधानमन्यायाधीश कार्की स्वतः निलम्बित भएकी छन् । महाअभियोग दर्ता भएको सूचना राष्ट्रपति कार्यालय र संवैधानिक अंगहरुमा पठाइएको छ ।
महाअभियोग लागेर कार्की निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।
कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश हुन् । उनले गत २०७३ असार २७ गते कार्यभार सम्हालेकी थिइन् ।
अन् लाइन खबर






