Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

दोस्रो चरणको निर्वाचन उत्साहपूर्ण रुपमा : रोल्पाको भनभनेमा मतदान स्थगित

१४ असार, काठमाडौं । दोस्रो चुनाव अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जजानकारी दिएको छ । तर रोल्पाको भनभनेमा मतदान स्थगित भएको छ ।  रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएका छन् । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो । एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ । एसिडले चारवटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

 सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदाताहरुले मतदान गरिरहेका छन ।

८ हजार ३६४ मतदान केन्द्र मध्ये केही केन्द्रमा वर्षातको कारणले मतदान शुरु हुन केही ढिलाई भएको छ । बाँकी सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।

पूर्वी पहाडका केही स्थानमा वर्षा भइरहेको भन्दै आयोगले भनेको छ, ‘वर्षातका बावजुद मतदाताहरु बडो उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भइरहनुभएको जानकारी प्राप्त भएको छ ।’

वैतडी जिल्लाको सुरनया गाँउपालिकाको भूमिराज नि.मा.वि. मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गरेका छन् । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीया कलशी भट्टले भूमिराज नि.मा.वि., तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छन् ।

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।