Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

साना तथा मझौला आयस्तर आयोजनाले फेर्दैछ कृषकको जीवन

सुर्खेत ।
सुर्खेतको साविक लाटीकोइली गाविसको वडा नं. १ हालको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा साना तथा मझौला आयस्तर बृद्धि आयोजनाले कृषकको जीवन फेरिँदै गएको छ ।


सुर्खेत उपत्यकामा पिउने पानीको समेत हाहाकार भइरहेको बेलामा साना तथा मझौला आयस्तर बृद्धि आयोजना र नेपाल राष्ट्र बैंकको आर्थिक सहयोग एवम् स्थानीयको जनश्रमदान गरि ६३ लाख ३ हजार ४ सय ८४ रुपैयाँको लगानीमा तयार हुँदै गरेको साना तथा मझौला आयस्तर बृद्धि आयोजनाले कृषकको जीवनमा परिवर्तनको शुरूवात भएको हो ।

उक्त साना तथा मझौला आयस्तर बृद्धि आयोजना अन्तर्गत १३ लाख ५० हजार ३ सय ५० रूपैयाँ बराबरको खर्चमा एउटा डिपबोरिङ र दुई वटा पोखरी निर्माण भएपछि प्राय कृषि पेशामा निर्भर रहेका उक्त वडाको चारकुनेमा बसोबास गर्ने अधिकांश किसानहरू खुसी देखिन्छन् ।
कूल ६३ लाख ३ हजार ४ सय ८४ रुपयौँको आयोजनामा ३१ लाख १९ हजार ४ सय १२ रूपैयाँ बराबरको जनश्रमदान गरेका छन् स्थानीयहरूले । प्रायः अर्काले फलाएको तरकारी खरिद गरी बिक्री गर्दै जीवन धानेका कृषकहरू उक्त डिपबोरिङबाट आएको पानीले सिंचाइ गरेर आफैले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न पाएकोमा दंग छन् ।


जनचेतना कृषि सहकारी संस्था लाटीकोइली १ चारकुनेले उक्त आयोजना सम्पन्न गर्ने जिम्मा पाएको छ । २०७२ सालको फागुन ११ गते सम्झौँता भएको आयोजना २०७३ सालको फागुन ३ गते सम्पन्न भइसक्नु पर्ने थियो । कतिपय प्राविधिक कारणले गर्दा म्याद थप गरी २०७४ असार मसान्तमा सम्पूर्ण काम सम्पन्न गर्ने गरी अघि बढिरहेको जनचेतना कृषि सहकारी संस्थाका अध्यक्ष काशीराम शर्माले जानकारी दिए ।

आयोजना निर्माणको क्रममा निकै बाधा अड्चनहरू व्यहोर्नु परेको अनुभव भएपनि ती अनुभवले धेरै पाठ सिकाएको र राम्रो कार्यको लागि सबैले साथ दिएकोले आफू खुसी रहेको बताउँछन् निर्माण तथा खरिद समितिका अध्यक्ष भीमबहादुर खड्का ।

स्थानीय २८ जना किसानहरू व्यवसायिक खेतीमा लागेका छन् भने उक्त आयोजना अन्तर्गत नै ७ वटा फलामको र ७ वटा बाँसको टनेल समेत तयार भइसकेका छन् । लोकबहादुर बस्नेत, तुलसी चन्द, भगिराम जैसी, जगत महतारा, ललित खड्का लगायतले टनेलमा बेमौसमी तथा मौसमी तरकारी उत्पादन शुरू गरिसकेका छन् ।

कुनै पनि कृषि खेतीको लागि मल, बिउ, जल र जमिनको आवश्यकता पर्दछ । जमिन थियो मल पनि बनाउन सकिन्थ्यो बिउसम्म किन्न सक्थ्यौ तर जलको अभावमा जमिन बाँझो रहने गर्दथ्यो जनचेतना कृषि सहकारी संस्थाको पहलमा अन्य दातृ निकायहरूले प्रदान गरेको अनुदानको कारण अब जलको पनि व्यवस्था भएको छ । यो भन्दा ठूलो किसानहरूको लागि अरू के होला ? अनुहार भरी खुसीका रेखाहरू दौडाउँदै भन्छन् ललित खड्का । पानी र बिउको समेत जोहो गरिदिनेहरुले तरकारी खेतीमा लाग्ने रोगको किटनाशक औषधीको जोहो नगरि दिएपछि भने किसानहरु चिन्तित पनि छन् । कृषक ललित खड्का भन्छन् – करिब २५ देखि ३० हजारसम्मको काँक्रा र १० देखि १५ हजारसम्मको टमाटर तथा बोडी फलाउने योजनाका साथ लागेको छु तर के गर्नु काँक्रामा रोग लाग्न शुरु भइसक्यो । उनले लगाएको काँक्रामा भरखर फल लाग्न शुरु भएको छ भने अर्को तिर पात पहेलिएर झर्ने रोग समेत लागिसकेको छ ।

यो योजनाले किसानहरुलाई भने विहान बेलुका मात्र नभई दिनमा पनि बेफुर्सदी बनाएको छ कृषक भगिरामको कथन थियो । तर उता कृषक जगत महताराको टनेलमा भने काँक्रा राम्रो फलिरहेको छ ।

योजनाले उत्पादित कृषिजन्य बस्तुहरूको खरिद बिक्रीको लागि करिब ७ लाख बराबरको लगानीमा तरकारी संकलन केन्द्रको (भवन) समेत निर्माण कार्य भइरहेको छ ।