Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

वोरिङको पानी पिउछन् चारकुनेबासी

सुर्खेत ।
झुप्रा बहृत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सुर्खेतको वीरेन्द्रनगर उपत्यका भित्रको खानेपानीको व्यवस्थाको जिम्मा लिएको छ । तर ७२ घण्टासम्म पनि धारामा पानी आउँदैन आजभोलि ।


आकाशबाट मनसुनी वर्षा समेत नभएकोले भएका इनार कुवाहरू पनि सुक्न थालेपछि खानेपानीको अभावले यति बेला काकाकुल जस्तै बनेको छ सुर्खेत । उपभोक्ताहरू भन्छन् झुप्रा बहृत नामको मात्र बृहत हो पानी दिने कार्यमा बृहत हुन सकेन । जनचेतना कृषि सहकारी संस्था लाटीकोइली १ चारकुनेले सिंचाइको निम्ति बनाएको डिपवोरिङबाट आएको पानी पिउन बाध्य भएका छन् चारकुने बासीहरू ।

जनचेतना कृषि सहकारी संस्था लाटीकोइली १ चारकुनेले यसै वर्षदेखि कृषि उत्पादनमा बृद्धि गर्नका लागि डिपवोरिङको शुरूवात गरेको छ । झुप्रा बृहतको पानीको बहाब शक्ति कमजोर भएकोले उकालोमा नचढ्ने भनिए पनि डिपवोरिङको पानी पुगेपछि पानी थाप्नका लागि भाँडा कुँडा बोकेर लाइनमा बस्दा पनि उपभोक्ताहरू रमाइरहेका देखिन्थे । घर नजिकै पानी आएको देखेर उनीहरू जति खुसी थिए त्यत्तिकै उदास पनि झुप्रा खानेपानीको धारातिर हेर्दै गर्दा ।