Loading... आजः २३ कार्तिक २०८२, शनिबार । Saturday 8th November 2025
ताजा खबर
  

प्रकाशको माइती देशको चुनाव (भिडियो सहित)

सुर्खेत |

हिन्दू नारीहरुको पवित्र चार्डका रुपमा मानिने तीजको रौनक बजारमा शुरु भइसकेको छ । के गाडि के पसल के होटल तीजका गीतहरु गुञ्जायमान भइरहेका छन् । वर्षदिनसम्म घरमा काम गर्दाका पीडाहरुलाई गीत मार्फत व्यक्त गरेर मन हलुका बनाउने चार्ड हो तीज । तर समयको परिवर्तनसँगै श्रीमान्बाट वा सासुबाट वा नन्द र अमाजुबाट बुहारीहरु पीडित हुने क्रम घट्दै गएपछि तीजका गीतका शब्द र भाकाहरु पनि फेरिन थालेका छन् ।


कुनै बेला हरिदेवी कोइरालाका गीतहरुले निकै चर्चा कमाएका थिए । उनकै अधिकांश गीतहरु रेडियोमा बज्थे भने अधिकांश नेपाली नारीहरुका मुखमा झण्डिएका थिए । तर अब राजनीतिक परिवर्तन र नारीहरुले प्राप्त गरेको शिक्षा र चेतनाको विकासक्रमले हिजोका दिनहरुमा हरिदेवी कोइराला जस्ता गायिकाहरुले गाउने गीतहरु सुन्दैनन् स्रोताहरु । त्यसैले अहिलेको समाजलाई चित्रण गरेर तयार पारिएका गीतहरु त्यो पनि युगल रुपमा महिला र पुरुषहरुले गाउने र सँगसँगै नाच्ने गर्दछन् ।

यस्तै प्रकृतिको तीज गीत सुर्खेती कलाकार प्रकाश शाहीले बजारमा ल्याएका छन् । भरखरै सम्पन्न भएको स्थानीयतहको निर्वाचनलाई आधार बनाएर तयार पारिएको प्रकाश शाहीको गीतले यतिबेला ढपक्कै बजार ढाकेको छ । माइती देशको कौवा पनि चेलीको लागि निकै प्यारो हुने कुनै जमाना थियो । तर यसपालि कलाकार प्रकाश शाहीलाई माइती देशको चुनाव प्यारो भएको छ । विशेष गरी निर्वाचित भएका नेताहरुलाई सम्मान दिने शब्दहरुलाई संकलित गरेर उनले गीत तयार पारेका छन् ।
तीजको बेलामा चेलीहरु माइतीमा आउने र वर्ष दिनको एक दिन भएपनि विशेष पक्वान खाने चलन अनुसार उनीहरुले पनि आफ्नो गच्छे अनुसारको कोशेली ल्याउने परम्परालाई निरन्तरता दिन परिवर्तित समय अनुसार चुनाव जितेका माइतीलाई कोशेली स्वरुप फूलमाला ल्याएको र त्यही फूलमालाले सम्मान गरेको प्रसंगलाई राम्रोसँग उठाउन सकेकोले आफूले समय सान्दर्भिक कार्य गर्न सकेको बताउँछन् प्रकाश शाही ।

पेशाले शिक्षक भएपनि कलाकारिता क्षेत्रमा फरक खालको पहिचान निर्माण गरेका प्रकाश शाहीले यस गीतको लय तथा शब्दहरु आफै सिर्जना गरेका हुन् । बहुमुखी प्रतिभाका धनी प्रकाश लेखन, गायक र नृत्यमा समेत कलात्मक तरिकाले कला प्रस्तुत गर्न सक्षम छन् ।
सपना जिएमको समेत स्वर रहेको माइती देशको चुनाव बोलको गीतको म्यूजिक भिडियोमा देवी थापा र दिव्या ओलीको अभिनय रहेको छ भने अन्य भूमिकामा सुर्खेतका चर्चित कलाकारहरुले निर्वाचित प्रतिनिधिको अभिनय गरेका छन् ।