Loading... आजः २६ आश्विन २०८३, सोमबार । Monday 12th October 2026

एकै पटक २२ प्रमुख जिल्ला अधिकारीको सरुवा : सुर्खेतमा कार्की

गृह मन्त्रालयले फेरि २२ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३१ जनाको सरुवा गरेको छ । सरुवा हुनेमा १० सहसचिव र १२ उपसचिव छन् । गृह मन्त्रालयले यसअघि साउन २६ गते १० सहसचिव र २१ उपसचिवसहित ३१ जनाको सरुवा गरेको थियो । सरकारले निर्वाचन घोषणा गरेलगत्तै गृहले ठूलो संख्यामा सीडीओ हेरफेर गरेको हो ।

गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढालाई मकवानपुरको सीडीओ बनाइएको छ भने मन्त्रालयकै आसमान तामाङलाई सिन्धुपाल्चोक पठाइएको छ । गृहका सहसचिव सीताराम कार्कीलाई सुर्खेत, नारायणप्रसाद भट्टराईलाई बर्दिया, सुर्खेतका महादेव पन्तलाई ललितपुर, क्षेत्रीय प्रशासन कार्यालय कास्कीका विष्णु पोखरेललाई इलाम, बर्दियाका विष्णुबहादुर थापालाई बाग्लुङ, गृहका चन्द्रमान श्रेष्ठलाई उदयपुर र गृहकै लोकनाथ पौडेललाई गुल्मीको सीडीओ बनाइएको छ ।

त्यसैगरी, गृहकै उपसचिव विष्णु पौडेललाई जुम्ला, दिलीप लामिछानेलाई रामेछाप, विश्वराज न्यौपानेलाई दैलेख, बद्रिनाथ गैरेलाई कालिकोट, सिद्धराज जोशीलाई बैतडी, अध्यागमनका चेतराज बराललाई भोजपुर, भक्तपुरकी सहायक सीडीओ लक्ष्मीदेवी हुमागाईंलाई पाँचथर, मकवानपुरका सहायक सीडीओ हरि पन्तलाई मनाङ, अध्यागमनका पुष्पराज शाहीलाई जाजरकोट, अध्यागमनकै एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक सीडीओ किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ।