राज्यमन्त्री त पाम न हजुर
शेर भनेको वनको राजा । अर्थात सिंह । बहादुर भनेको बलवान । अर्थात बलियो । देउवा भनेको दयावान । अर्थात दिनेवाला । पछिल्लो चरणमा मैले शेर बहादुर देउवालाई यसरी नै बुझ्ने गरेको छु । शेर बहादुर देउवा अहिले देशको प्रधानमन्त्री भएका छन् । सिंह जस्तो राज गर्न सक्ने बलवान मान्छे त्यो पनि दयावान भएकोले मेरो देशको शासन सत्तामा कुनै कमीकमजोरी होला भन्ने मलाई लागेकै थिएन र छैन पनि ।

हिन्दीमा एउटा उखान छ ‘शेरका भि बाब होता है’ । कुनै बेला शेर बहादुर देउवालाई असक्षम घोषणा गर्ने कोही महाशेर थिए । तर शेर भनेको वनको राजा हो भने झैँ उनलाई असक्षम घोषणा गर्नेले अहिले वन हेरालुको काम गरिरहनु परेको छ । तर उनी आफ्नो असक्षमतालाई जनताको जनमत नामको दूधले नुहाएर माओवादी नामको पुजारीलाई साँक्षी राखेर पुनः सक्षम हुँदै सिंहदरवार प्रवेश गरेका छन् । यो नेपाली जनताका लागि भन्दा पनि राजनीतिक गर्ने पेशेवरहरुका लागि निकै खुसीको कुरा हो ।
अन्य देशमा एउटा रेल दुर्घटना भएको बेलामा रेल मन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्ने गर्दछन् । उद्योग धन्दा घाटामा गए भने उद्योग मन्त्रीले राजीनामा गर्नेछन् भने जनतामा दंग फैलिन पुग्यो भने गृहमन्त्रीले राजीनामा गर्ने गर्दछन् । तर हाम्रो देशमा चाहे छ घण्टाकै लागि भएपनि किन मन्त्री नहुने भन्ने सोच भएका नेताहरु छन् । त्यसैको उपज हो अहिलेको मन्त्रीमण्डल । अर्थात जम्बो मन्त्रीमण्डल ।
अन्य देशका खेलाडिहरु आफैले बनाएको रेकर्ड तोड्दै विश्वभरी प्रसिद्धि कमाउनका लागि लागिरहेका छन् । हुन त राजनीति पनि खेल हो भनिन्छ । राजनीति गर्नेलाई राजनीीतक खेलाडि भनिन्छ होला । सायद त्यसैले आफैले बनाएको रेकर्ड तोड्दै इतिहासका सेता पानाहरुमा आफ्नो नाम काला मसीले लेखाउने होडबाजी नै चलिरहेको छ । त्यसमा पनि शेरबहादुर देउवा भने अगाडि छन् । इतिहासका पानामा शेरबहादुरको नाम साँच्चिकै फरक फरक रुपमा लेखिने गरेको छ । अझ कति रुप बदल्ने हुन देउवाले र उनको नामलाई कुन कुन रंगको मसीबाट इतिहासका पानाहरुमा लेख्नु पर्ने हो नेपाली इतिहासकारहरुले ।
कतै असक्षम प्रधानमन्त्रीको रुपमा आफ्नो नाम लेखाएका देउवाले कतै नेपाली काँग्रेस पार्टी फुटाएर प्रजातान्त्रिकको सभापतिका रुपमा समेत आफ्नो नाम लेखाउन सफल भए । कतै तत्कालिन विद्रोही पक्षका नेताहरुको टाउकोको मूल्य तोकेर चर्चा कमाउँदै इतिहासमा नाम लेखाएका देउवाले पछिल्लो समयमा तिनै टाउकोको मूल्य तोकेकाहरुसँग अंकमाल गरेर फेरि सक्षम प्रधानमन्त्रीको रुपमा आफ्नो नाम लेखाएका छन् । २०५२ सालमा प्रधानमन्त्री भएका बेला ५२ जनाको मन्त्रीमण्डल बनाएर एकाएक चर्चामा आएका देउवा अहिले २०७४ सालमा ५४ जनाको मन्त्रीमण्डल बनाउँदै फेरि चर्चामा आएका छन् । जसको कारणले उनको नाममा इतिहासको अर्को पाना खर्चिनु परेको छ ।
शुरुमै व्याख्या गर्ने कोसिस गरेको छु । देउवा अर्थात दयावान । म यो देशको नागरिकता प्राप्त नागरिक । त्यो पनि अंगिकृत, जन्मको आधारमा नभई वंशजवाला । साँच्चिकै देउवा दयावान नै छौ र देश र जनताको भलो चाहन्छौ भने यो २०७४ सालमा सरकारको नेतृत्व गरिरहेको बेलामा ७४ जनाकै मन्त्रीमण्डल निर्माण गर्न सकेको खण्डमा तिम्रो नाम सुनौला अक्षरले होइन नेपाली जनताले पञ्चधातुले नै लेख्ने छन् इतिहासको अर्को पानामा । हिजोका दिनमा प्रजातन्त्रको लागि आन्दोलन गरिरहेका बेलामा उनी अशक्त बनेका छन् । उनको बोलि स्पष्ट छैन । यसमा उनलाई एक तिलको दाना बराबर दोष दिन चाहन्न म ।
मेरो देशका प्रधानमन्त्रीसँग यो पंक्तिकारले त्यति धेरै आशा र भरोसा त गरेको छैन । पूर्व पदाधिकारीहरुको लागि आजीवन सेवाको व्यवस्था हुने भएकोले एक पटक सार्वजनिक पदधारण गर्न सकेमा जो कोहीको भविष्य उज्जवल हुने देखियो । त्यसैले प्रधानमन्त्री ज्यू मलाई विना विभागीय नै भएपनि फुल मन्त्री नभएपनि राज्यमन्त्री भएन भने सहायक मन्त्रीसम्मको व्यवस्था भएको भए म आजीवन हजुरकै गुणगान गाउने थिएँ । त्यसैले प्रधानमन्त्री ज्यू बरु ७४ सालमा ७४ जना मन्त्रीहरुको व्यवस्था गर्ने व्यवस्था गरेर भएपनि मलाई अगाडि जुनसुकै आलु जोडिएको भएपनि पछाडि मन्त्री जोडिएको पद चाहियो ।
कुनै पनि देशको प्रधानमन्त्रीको जिम्मेवारी त्यस देशका नागरिकहरुको चाहनाको पुरा गर्नु हो । आफ्ना नागरिकहरुको चाहना र आवश्यकतालाई पुरा गर्न नसक्ने त असक्षम पो घोषणा हुन्छन् त । त्यसैले मेरो चाहना पनि मन्त्री हुने र आजीवन जनताले तिरेको करबाट भत्ता पचाउने भएकोले कुनै पनि हालतमा मलाई मन्त्री बनाइयोस् ।
यही पत्रिकाको सहायतामा मैले मेरो माग हजुर समक्ष राखेको छु । म गोविन्द केसी जस्तो अनसन बसेर आफ्नै शरीर कमजोर बनाउन चाहन्न । सडकमा आन्दोलन गरेर जनताको सम्पत्ति जलाउन चाहन्न । टायर बाल्ने हिम्मत छैन मसँग । न त हिजोका दिनमा माओवादीले चलाएको जनयुद्ध झैँ म एकल युद्ध चलाउन सक्छु ।
अबका दिनमा नेपाली जनतामा भ्रम नहोस् । शेर बहादुर देउवा सक्षम प्रधानमन्त्री कि असक्षम भनेर । प्रत्येक नेपालीहरुको आवश्यकतालाई परिपूर्ति गर्न सक्ने सक्षम प्रधानमन्त्रीको रुपमा नेपाली जनताले दयावान देउवालाई पाएका छन् । त्यो पनि देशको तेस्रो पार्टीको सहयोगमा तपाइ प्रधानमन्त्री बन्नु भएको छ । दोस्रो पार्टीका अध्यक्षले भनेका थिए झिड्गाले सराप्दैमा डिड्गा मर्दैन भनेर । एमालेले जति रोइकराइ गरेपनि केही हुनेवाला छैन । ओलीले उखान मात्र फलाक्ने हुन उनको सराप लाग्ने हैन । तर फेरि यो देशको प्रधानमन्त्री बन्ने तपाईको पालो आउँछ आउँदैन । त्यसैले म जस्ता कतिलाई मन्त्री बनाउन सकिन्छ यतिबेला नै दयाराखी मन्त्री पद दान दिए भविष्यमा इतिहासले सम्झेला नसम्झेला हामी बिर्सने थिएनौ ।






