वरिष्ठ इन्जिनियर ढुंगानालाई कालो मोसो
चितवन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर प्रकाश ढुङ्गानालाई कार्यकक्षमै कालोमोसो दलेको छन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता इन्जिनियर ढुङ्गानामाथि सेवाग्रहीसँग घुस खाएको र सुकुम्बासीलाई बसोबास गरिरहेको ठाउँबाट हटाएर विचल्ली बनाउन दलालसँग मिलेमतो गरेको आरोप लगाएकाे छ । आइतबार बिहान कार्यालय समयमै नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कायकक्षमै पुगेर कालोमोसो र जुत्ताको माला लगाएका थिए । ‘भ्रष्ट’ढुङ्गानालाई कार्वाही गर्नुका पछाडि ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ ।

छरिएको पर्चामा भनिएको छ ।
१. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको,
२. घरजग्गा र बाटोको सिफारिस गरे बापत सेवाग्राहीबाट कमिशन लिने गरेको,
३. नयाँ प्लटिङ्ममा बाटो सिफारिस गरेबापत कमिशन लिने गरेको,
४. घोल र ऐलानी जमिनलाई भू–माफियासँग मिलेर जग्गा दलालको नाममा नामसारी गरेको,
५. नहर र कुलोको जग्गालाई भू–माफियासँग मिलेर चक्लाबन्दी प्लटिङ् गर्न भूमिका निभाएको, यसबापत कमिशन लिने गरेको र
६. बिदाको दिन सरकारी सवारी साधन प्रयोग गरी भू–माफियासँग मिलेर सुकुम्बासी बस्तीलाई यो जग्गा छोड भनी आतंकित पारेको’ उल्लेख छ । नेकपाले भदौदेखि कार्तिक महिनासम्म जनजागरण तथा प्रतिरोध अभियान चलाइरहेको छ ।






