१३ औं महिला जेसिस राष्ट्रिय एकेडेमी सुर्खेतमा हुँदै
सुर्खेत
महिला जेसिजको १३ औंं एकेडेमी सुर्खेतमा यही कात्तिक ११ र १२ गते सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न कार्यक्रमका साथ हुने भएको छ । सुर्खेत महिला जेसिजले एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त एकेडेमीमा हुने कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ ।

कार्यक्रममा महिला सशक्तिकरण, उत्प्रेरणा र नेतृत्व विकाससँग सम्बन्धित प्रशिक्षण समेत हुनेछ । जसका लागि भारतको गुजरातबाट प्रशिक्षण प्रशिक्षकको रुपमा सुनिल गंगवानी आउने कार्यक्रम रहेको छ । त्यसैगरी चितवनकी सामाजिक अभियान्ता सावित्रा भण्डारी, पर्साकी समाजसेवी एवम् उद्यमी सुभदै वर्षा र जुम्लाकी सहकारी अभियान्ता सीता बुढा वक्ताको रुपमा रहनुभएको अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
दुई दिने कार्यक्रममा सुर्खेतका प्रसिद्ध पर्यटकीयस्थलहरु देउती बज्यै, बुलबुले, काँक्रेविहार र घण्टाघरको अवलोकन भ्रमण, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष समेतको कार्यसमितिसँग अन्तरक्रिया, शान्तिपद यात्रा लगायतका कार्यक्रम हुनेछन् । कार्यक्रममा सुर्खेतका २ सय महिलाहरु र देशका सबै जिल्लाको प्रतिनिधित्व हुने गरि ३ सय जना अन्य सहभागीहरुको उपस्थिति रहने पत्रकार सम्मेलनमा बताइएको छ । ११ गते साँझ सांस्कृतिक कार्यक्रम समेतकाके आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
त्यसैगरि कार्यक्रमको व्यवस्थापनको लागि विभिन्न स्वागत सत्कारमा विन्दु रावत, समापनमा सुनिता लामा, संचारमा यज्ञ खत्री, आर्थिकमा लक्ष्मी तिवारी, प्रचारप्रसार तथा व्यानरमा देवी वि.सी., विशेषांक प्रकाशनमा गीता श्रीस, उपहारमा प्रमी शाक्य, प्राथमिक उपचारमा भीमा थापा, दृष्यावलोकनमा गंगा श्रेष्ठ, रजिष्ट्रेशनमा पवित्रा राना, सांस्कृतिक कार्यक्रममा सुमित्रा गौतम, आवाश तथा यातायातमा गीता चालिसे, शान्ति सुरक्षामा सन्तोषि शाही ठकुरी, गोष्ठी तथा कार्यक्रममा यमुना नेपाली, उद्घाटन तथा स्टेजमा कृष्ण भण्डारीलाई संयोजकको रुपमा तोकिएको छ भने उक्त एकेडेमीको सह निर्देशकमा शिया प्रधानलाई जिम्मेवारी दिइएको आयोजक संस्थाले जनाएको छ ।

सुर्खेत महिला जेसिजका अध्यक्ष एकता जि.सी. (बस्नेत)का अनुसार सुर्खेतमा सन् २००४ मा सुर्खेतमा जेसिजको ठूलो कार्यक्रम भएको थियो । उक्त कार्यक्रम पश्चात १४ वर्षपछि सुर्खेतमा हुन लागेको यो दोस्रो ठूलो कार्यक्रम हो । उक्त कार्यक्रम गर्नका लागि नेपाल सरकारको १५ लाख सहयोग रहेको र अन्य संघसंस्थाको सहयोग लगायत रजिष्ट्रेशन शुल्कबाट आर्थिक व्यवस्थापन जुटाउने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।






