६ नं. प्रदेश आत्मनिर्भर बन्न सक्छ
सुर्खेत
कार्तिक १०, सुर्खेत । सुर्खेतलगायत यस क्षेत्रमा रहेका प्राकृतिक श्रोतसाधन र खानीखनिजको समुचित प्रयोग गर्न सकिए सुर्खेतसंगै सिंगो प्रदेशलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सकिनेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।

आज (शुक्रबार) सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमका सहभागीले संघीय राजधानी बन्ने तयारीमा रहेको सुर्खेतलाई पूर्वाधारसंगै आर्थिक रुपले पनि सम्पन्न बनाउनुपर्नेमा जोड दिएका हुन ।
संघले नेपाल सेनाको उत्तरपश्चिम पृतनापति उपरथी कर्नेन्द्रविक्रम लिम्बू, जिल्ला समन्वय समिति संयोजक छविलाल सिग्देल र प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलाई जिल्लामा स्वागत तथा परिचयात्मक कार्यक्रमका आयोजना गरेको हो ।
कार्यक्रममा जिसस संयोजक सिग्देलले कृषि, पर्यटन, प्राकृतिक श्रोत र खानीखनिज नै छैंठौं प्रदेशको बलियो पूर्वाधार भएको जिकिर गर्नुभयो ।
६ नं. प्रदेशको राजधानीका साथै कर्णाली प्रवेशको मुख्य नाका भएका कारणपनि सुर्खेतले सिंगो प्रदेशको समृद्धिको नेतृत्व गर्नुपर्ने र त्यसका लागि समन्वय गर्न आपूm तयार रहेको उहाँको भनाई छ ।
भेरी बबई डाइभर्सन, माथिल्लो कर्णालीलगायतका ठूला र महत्वपूर्ण आयोजनाको आधार केन्द्रपनि सुर्खेत नै भएको उल्लेख गर्दै उहाँले अब जतिसक्दो छिटो चौकुने सिमेन्ट कारखाना संचालनमा ल्याउन संघले दबावमूलक भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।
यस्तै, प्रमुख जिल्ला अधिकारी कार्कीले सिंगो राष्टकै आर्थिक मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रसंगको सहयोग र सहकार्य निरन्तर रहने बताउनुभयो ।
संघका अध्यक्ष प्रकाश अधिकारीले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था भएपनि संघले सामाजिक गतिविधिलाई पनि उत्तिकै प्राथमिकतामा राखेर कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
संघले आपूmलाई आर्थिक दायरामा मात्र सीमित राखेको छैन, अध्यक्ष अधिकारीले भन्नुभयो, हामी सामाजिक, शैक्षिक, विकास निर्माण र परोपकारका कार्यमा पनि उत्तिकै सक्रिय भएर लागेका छौं ।
सुर्खेत जिल्लाका साथै सिंगो प्रदेशको आर्थिक उन्नति र विकासका लागि संघले विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जिकिर गर्दै उहाँले संघका विभिन्न गतिविधिबारे जानकारी गराउनुभयो ।
संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले राजनीतिक अस्थिरता र संक्रमणलीन अवस्थाका कारण निजी क्षेत्रले विगतमा सोचेअनुरुप फड्को मार्न नसकेपनि पछिल्लो समय परिस्थिति केहि सहज बन्दै गएको बताउनुभयो ।
महासचिव गोपालकृष्ण गिरीले निजी,सरकारी र सहकारीको सहकार्यबाट नै मुलुक आर्थिक रुपले समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष पदमबहादुर शाही, संघका पदाधिकारी एवं सदस्य, वस्तुगत समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।






