Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सार्वजनिक सम्पत्ति असुरक्षित

सुर्खेत ।
कुनै पनि सार्वजनिक सम्पत्तिमा सबै जनताको बराबर अधिकार लाग्ने गर्दछ । त्यसैले त्यसको प्रयोगमा पनि सबैको बराबर हक हुने गर्दछ । तर तिनै सबैको बराबर हक र अधिकार भएका सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी र कर्तव्य भने बराबर हुँदैन किन ? सबैको जिम्मेवारी र कर्तव्य हुँदाहुँदै पनि नीजि सम्पत्तिको सुरक्षामा जति ध्यान दिइन्छ तर सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणमा त्यति ध्यान दिइन्छ । अझ सकिन्छ भने त्यस्ता सम्पत्तिको संरक्षण भन्दा विनाश गर्ने तर्फ सोच्नुले पनि देशले पाउनु पर्ने विकासको एउटा पाटोमा ब्रेक लाग्ने गरेको छ ।

सुर्खेतको वीेरेन्द्रनगर नगरपालिका प्रदेश नं. ६ को सम्भावित राजधानी पनि हो । यहाँ विकासका पूर्वाधारदेखि अन्य संरचनाको निर्माण हुनु र निर्माण भएका संरचनाहरुको संरक्षण गर्नु आम नागरिकाको कर्तव्य हुन आउँछ । सुर्खेत उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको सुब्बाकुनादेखि बाङ्गेसिमलसम्म अहिले फोरलेन सडक निर्माण भइरहेको छ । जुन गतिमा निर्माण कार्य हुनुपर्ने हो त्यो गतिमा निर्माण कार्य अघि बढ्न भने सकेको छैन । तरपनि जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सौजन्य जुटाएरै भएपनि विभिन्न स्थानमा ट्राफिक चेतना र नियम सम्बन्धि बोर्ड राख्यो । ती बोर्डहरु राखेको १ महिना भित्रै ती बोर्डहरु नराम्रोसँग च्यातिएका छन् । किन र ककसले च्यात्यो ती बोर्डहरु ? क्याम्पस रोडको खजुरा लाइनमा भएको बोर्ड उखेलिएको छ । बोर्ड राख्नका लागि खाल्डो खनेर सिमेण्टले पक्की बनाई राखिएको फलामे पाइपबाट निर्माण गरिएको बोर्ड समेत काम नलाग्ने गरि कसले बिगा¥र्यो ? त्यसरी सार्वजनिक सम्पत्तिको विनाश गर्नेहरुको खोजि प्रहरीले किन गरेन ? स्वयम् ट्राफिक प्रहरीले चेतनाकाक लागि राखेकाक सामग्रीहरुको त यस्तो हालत छ भने अन्य सरकारी सम्पत्तिमा कति लापरवाही भएको होला सहजै अनुमान लगाउन सकिन्छ ।


सर्वसाधारणहरुको चेतनामा विकास नभएसम्म यस्ता सम्पत्तिको सुरक्षा हुन गा¥हो छ । फोरलेन सडकको विचमा राखिएका ट्राफिक सचेतना सम्बन्धिका बोर्डहरुको समेत सुरक्षा हुँदैन भने अन्य सार्वजनिक सम्पत्तिको सुरक्षा कत्तिको होला ? यो प्रश्नले अहिले धेरैको मनमा डेरा जमाएको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार यस्ता बोर्डहरु पटक पटक फरक फरक स्थानमा राखिएका छन् । यो क्रम निरन्तर छ । दशैं अगाडि मात्र १५ वटा स्थानमा यस्ता बोर्डहरु राखिएका छन् । कसैले पनि सार्वजनिक सम्पत्तिको नष्ट गर्छ भने त्यस्तालाई सार्वजनिक ऐन अनुसार मुद्दा लाग्छ । ट्राफिक संकेतको नष्ट गर्नेको खोजि हुने र त्यस्तो कार्य गर्नेलाई पनि सार्वजनिक ऐन अनुसार कारवाही गर्र्ने योजनामा जिल्ला ट्राफिक कार्यालय सुर्खेत छ ।

ट्राफिक चेतना र नियमको पालना गर्नु अति आवश्यक छ । किनकी ट्राफिक नियमको पालना नभएको खण्डमा दुर्घटना हुन सक्छ । तर ट्राफिक संकेत नै सुरक्षित नभएको खण्डमा ट्राफिक नियमको पालना हुन्छ र भइरहेको छ भनेर विश्वास गर्न भने निकै अप्ठ्यारो छ ।

यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी प्रमुख कवि सेञ्चुरी भन्छन् – ट्राफिक सचेतनाका लागि राखिएका बोर्डहरु च्यातिएको बारेमा अनुसन्धान गर्ने र त्यस्तो कार्य गर्नेलाई नियमानुसार कारवाही गर्छौ । सार्वजनिक रुपमा राखिएका त्यस्ता संरचनाहरुको विनाश गर्नेहरु अराजक हुन् । जसले कानुनको पालना नगर्ने कोसिस गर्छन उनीहरुलाई कानूनको दायरामा ल्याउनु हाम्रो कर्तव्य हो – उनको भनाई छ ।