खेलकुदको विकास गर्न सरोकारवालाहरुको प्रतिवद्धता
सुर्खेत, २७ कात्तिक ।
जिल्लामा खेलकुदको विकास गर्नको लागि सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा ओझेल परेका खेलका गतिविधिहरुको साथै विभिन्न कार्यक्रमहरु अघि बढाउनको लागि प्रतिवद्धता व्यक्त गरेका हुन् । खेलकुद पत्रकार मञ्च सुर्खेतले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको खेलकुद विकासमा सरोकारवाला र सञ्चारकर्मीहरुको भुमिका विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष जनकबहादुर रावलले खेलकुदको विकासका लागि खेल क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरुबीचमा सहकार्यको आवश्यक पर्ने औल्याए । ‘खेलकुद र सञ्चारकर्मीहरुबीच एकआपसमा नङ र मासुको जस्तो सम्बन्ध आवश्यक पर्छ’ उनले भने, ‘यसको लागि आगामी गरिने खेल क्षेत्रका गतिविधिहरुमा समन्वय गरेर अघि बढ्नेछौ ।’
सञ्चारकर्मीहरुसँग खेलकुदको विकासको लागि सहजिकरणका कार्यक्रमहरु राख्ने समेत रावलले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय बक्सिङका केन्द्रीय उपाध्यक्ष हरि विष्टले सञ्चारमाध्यमहरुमा खेलकुदका विषयहरु आझेल परेको भन्दै यस्ता विषयहरु उठानको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरे । नेपाल पत्रकार महासंघका उपाध्यक्ष ललित बसेलले खेलकुद प्राविधिक विषय भएकाले सञ्चारकर्मीहरुलाई यसको बारेमा तालिमका कार्यक्रमहरु आवश्यकता रहनेमा जोड दिए ।
महासंघका सचिव सुदिप पुरीले अन्य विषय जस्तै खेलकुदलाई पनि सञ्चारमाध्यममा उठान गर्नुपर्ने भन्दै यसको लागि खेलकुदका गतिविधिमा सञ्चारकर्मीहरुलाई पनि सहभागिता गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा खेलकुद पत्रकार मञ्च सुर्खेतका उपाध्यक्ष लक्ष्मी भण्डारीले जिल्लामा खेलकुदको विकासको लागि कार्यक्रमहको आयोजना गरेको बताइन् । उसु संघ सुर्खेतका हरि थापा, ब्याटमिन्टन संघका छविलाल शाही, कब्बडीका धर्मराज ढुङ्गाना, करातेका प्रदिपकुमार राई, भलिबल संघका मंगल श्रेष्ठ, तेक्वान्दो संघका विकास कार्की, उशु प्रशिक्षक रमेश तुलाधरलगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रम खेलकुद पत्रकार मञ्चका भानु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।






