Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

नझुट बोल्नेछु न झुट बोलेको छु : पुरी

आजभन्दा करिब २७ वर्ष अघिदेखि नेपाली राजनीतिलाई नजिकबाट नियाली रहनु भएका सुर्खेत युवा हुनुहुन्छ कविराम पुरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का संस्थापक सदस्य समेत रहनुभएका उक्त पार्टीका केन्द्रिय सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को तर्फबाट प्रदेश सभाको लागि ६ नं. प्रदेश सभाको समानुपातिक उम्मेदवार कविराम पुरीसँग समसामयिक प्रसंगमा रहेर गरिएको कुराकानी :

Image may contain: 2 people, people smiling, food
जनता संग पुरी

तपाई आफूलाई यूवाहरुका माझ कसरी चिनाउनु हुन्छ ?
निष्ठामा, इमान्दारीता, जिम्मेवारीमा जवाफदेहिता, विश्वासमा परिपक्वता, विधि र कानूनको शासनको परिकल्पना सहित युवाशक्तिलाई राज्यको संवैधानिक अंगको रुपमा ग्रहण गर्नुपर्छ । युवाहरु कुनै दल, व्यक्ति विशेषका दलिय लगाम लगाएका घोडा होइनन् । युवाहरुको लागि ‘काम र दाम’ को नीति अंगिकार गरी विदेशीएका युवाहरुलाई स्वदेशमै फर्कनका लागि स्वरोजगार सहित लगानीको वातावरण तयार गरि राष्ट्र निर्माणमा लगाई आर्थिक क्रान्तिमा लगाउनु पर्छ भन्ने मान्यताका साथ युवा माझ मैले आफ्नो परिचय दिइरहेको छु ।

राजनीति बाहेक अरु क्षेत्रमा लागेर समाजसेवा गर्न सकिदैन र ?
राजनीति बाहेक अरु क्षेत्रमा लागेर समाजसेवा गर्न सकिन्छ । तर हाम्रो मुलुकको दुर्भाग्य भनौैं या नेपालका ठूला दल भन्नेहरुले नेपाललाई विधिको शासन, आर्थिक क्रान्ति, शान्ति सुरक्षा, बेरोजगार समस्या समाधान गरि उन्नती, प्रगति र समृद्धिको बाटोमा अग्रसर गराएको भए राजनीति टाउको दुखाईको विषय हुने थिएन । तर विडम्बनाका साथ भन्नु पर्छ सदियौ देखि मिलेर बसेको समाज, परम्परा, सदभावमा खलल हुनु, नातावाद र कृपावादका कारण इतिहासमै अहिलेसम्मकै विदेशी चलखेलको ठूलो भूँमरीमा पारी गम्भीर संकट उत्पन्न गरि कमजोर मुलुक, भ्रष्टाचारबाट आक्रान्त, हरेक क्षेत्रमा दलिय हस्तक्षेप, जताततै अस्तव्यस्त, २१ औं शताब्दीमा समृद्ध र गर्व गर्न लायक नेपाल भएको भए राजनीतिमा आउने कुरै थिएन । यही फोहोरको डम्पिङ्ग गरि राखिएको राजनीतिलाई सफा गर्न, विधिको शासन र सु–संस्कृत समाज निर्माणका लागि म राजनीतिमा आएको हुँ ।

राजनीतिमा लागेर के पाउने आशा गर्नु भएको छ ?
केही पाउला भन्ने आशा राखेर म राजनीतिमा आएको होइन । तपाईहरु सबैलाई थाह छ मेरो जन्म मध्यम परिवारमा भएको हो । व्यक्तिगत रुपमा भन्नु पर्दा मलाई खान, लाउन र बच्चाबच्चीको शिक्षाका लागि पुग्ने स्रोत निर्माण गरिदिएको छु । राजनीतिमा आउनुको कारण समाज बदल्नु हो । मुलुकलाई समृद्धि तर्फ लगेर मुलुक बदल्ने सपना छ । युवा वर्गका साथै आम नेपाली जनताको जीवनशैली बदल्नु छ । उन्नति, प्रगति र समृद्धिको युगको निर्माण गर्नु छ । त्यसैले म राजनीति आएको हुँ तर केही पाउने आशाले होइन । राजनीतिक क्षेत्र भित्र भएको फोहोरको व्यवस्थापन गरी स्वच्छ राजनीति सफा राजनीति बनाउनु मेरो लक्ष्य र उद्देश्य अनि कर्तव्य पनि हो ।

Image may contain: one or more people, crowd and outdoor
कार्यक्रममा मन्तब्य राख्दै पुरी

आसन्न निर्वाचनमा तपाईको पक्षमा जनताले भोट किन हाल्दैछन् ?
आसन्न निर्वाचनमा सुर्खेती युवा तन्नेरीका साथै सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले मलाई भोट दिने प्रशस्त आधारहरु छन् । राणा फाल्यौ, पञ्चायती फाल्यौ, राजसंस्थाको अन्त्य ग¥यौं अबको दश वर्षमा नेपाललाई स्वीजरल्याण्ड र सिंगापुर बनाउँछौ भन्ने ठूला दलहरुले आज पञ्चायती व्यवस्थाको अन्त्य भएको पनि करिब २८ वसन्त पार भइसक्दा के गरे ? युवा, महिला, दलित, जनजाति, आदिवासी, पिछडिएका वर्गले के पाए ? पाए केवल पार्टीको सदस्यता, झण्डा, जिन्दावाद र मुर्दावाद । दारुपानी, अराजक राजनैतिक वातावरण, बेरोजगारी, विपन्नता, जातिय विभेद र आतंकवादको बिऊ । यही हो हाम्रो लक्ष्य ? यही हो हाम्रो राजनीतिक मार्गचित्र ? यही हो हाम्रा जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार ? खै आफ्नो जिम्मेवारी बहन गर्न तिर लागेको ? सम्पूर्ण नेपालीहरुले अब सोच्ने बेला आयो । त्यही दल, त्यही पात्र, तिनै अनुहार, तिनैका वंश र विरासत, अनि तिनैका नाराहरु अंगाल्ने कि नेपालको राजनीतिलाई सुद्धिकरण गर्ने ? यो फैसला गर्ने अधिकार जनतामा छ । हिजोका दिनमा हामी जति चुक्यौ अब हामी चुक्नुहुन्न । युवादेखि बृद्धसम्म सबै दाजुभाइ दिदीबहिनी अत्यन्तै सुझबुझका साथ आसन्न निर्वाचनमा मतदान गर्न आतुर हुनुहुन्छ । हाम्रो भन्दा पनि राम्रोको लागि उहाँहरुले मतदान गर्ने क्षमता राख्नु हुन्छ । जसले गर्दा पनि म विश्वासका साथ दाबा गरेर भन्छु यस पटक मतदाताको नजरमा गोलाकार भित्रको हलो चुनाव चिन्ह परेको छ ।

विशेष गरी युवाहरु तपाईको पक्षमा देखिन्छन् । के गर्नुभएको छ युवाहरुलाई मोहित पार्न ?
म अहिले जननिर्वाचित प्रतिनिधि त होइन । राप्रपा (प्रजातान्त्रिक)को स्थापनाकाल देखि नै म संस्थापक सदस्य हुँ । मेरो राजनीतिक जीवन करिब २७ वर्ष पार भएको छ । राजनीतिमा मेरो अनुहार जनप्रतिनिधिको लागि नयाँ हो । तर राजनीति भित्रको राजनीतिको अनुभव छ मसँग । अहिलेसम्म मैले जनता र राष्ट्रको अहित हुने कार्य गरेको छैन भने आउँदा दिनहरुमा जनतालाई नै सांक्षी राखेर भन्छु त्यस्तो कार्य गर्ने पनि छैन । प्रजातन्त्र र लोकतन्त्रमा विश्वास र भरोसा गर्ने व्यक्ति हुँ म । देशमा शान्ति सुरक्षा, उन्नती, प्रगति र समृद्धिका लागि लडिरहेको र लडिरहने युवा हुँ म । काँग्रेस, एमाले र माओवादीमा जस्तो भन्ने र गर्ने व्यवहारमा जुन भिन्नता छ त्यस्तो नियत छैन मसँग । मलाई विश्वास छ सुर्खेतका विवेकी, न्यायका पक्षपाती आमाबुबा, दाजुभाइ दिदीबहिनीहरुले, ६ नं. प्रदेश स्थापनाका लागि बलिदानी गर्ने शहिद यामबहादुर बिसी, टिकाराम गौतम, गोपालसिंह रजवार जस्ता बिरहरुको रगतलाई आफ्नै रगत सम्झी कफ्र्यू निशेधाज्ञा समेतको अवज्ञा गर्ने, चरम प्रशासनिक दमनका विरुद्ध नागरिक आन्दोलनलाई निर्णायक विन्दुमा कसले पु¥याएको हो भन्ने इतिहासलाई स्मरण गर्नु भएको छ । चौध दिनसम्म यस प्रदेशको स्थापनाका लागि खटिरहने र दलीय आन्दोलनलाई सुर्खेती जनताले साथ नदिएका बेला नागरिक आन्दोलनमा लागेका विबेकी, बुद्धिमानी र ६ नं. प्रदेश स्थापनाका लागि आफ्नो प्राणको आहुति दिन पछि नपर्ने जनताले आसन्न निर्वाचनमा गर्ने मतदानबाट नै मलाई भारी मतले विजयी गराउनु हुनेछ भन्ने विश्वासका साथ चुनाव जित्ने आधार प्रमाणित गर्दछु ।

Image may contain: one or more people
पार्टीको कार्यकममा सहभागी पुरी

यस पटकको निर्वाचनमा युवाहरु तपाईले उठाउनु भएका मुद्दामा निकै आकर्षित छन् । किन ?
मैले उठाएका मुद्दाहरु सबैका हुन् तर अझ विशेष गरी युवाका हुन् । किनकी यो देशको ठूलो जिम्मेवारी युवाहरु माथि छ भने युवाहरुबाट पनि देशले ठूलो आशा गरेको छ । मैले अरु दलका नेताहरु जस्तो युवाहरुसँग झुट्ठा आश्वासनहरु बाँडेको छैन र बाँड्दिन पनि । जे गर्न सक्छु त्यो बोलेको छु । गर्नै नसक्ने फुस्रा गफ गर्दै गर्दिन । युवाहरुलाई ‘युज एण्ड थ्रु’ गर्ने काँग्रेस, एमाले र माओवादीको चरित्रलाई आजका युवाहरुले राम्ररी बुझेका छन् । आफूलाई ठूला पार्टी हुँ भन्नेहरुले लाखौ लाख युवाहरुलाई स्वदेशमा रोजगारीको सिर्जना गर्नुको सट्टा खाडी मुलुकमा विदेशिन बाध्य बनाएका छन् । नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउँछौ भनेर जनताको आँखामा छारो हाल्नेहरुबाट के आशा र भरोसा गर्ने ? त्यस कारणले पनि युवाहरु उनीहरुका पछाडि लाग्दैनन् । अपवादका रुपमा कोहीलाई केही समय भ्रममा राखेर आफ्नो पछी लगाउलान् तर अब युवाहरु कसैले देखाएको ललिपपमा फकिनेवाला छैनन् । सत्य र तथ्यको पछाडि होइन अगाडि लाग्नु पर्ने भएकोले युवाहरु हाम्रो साथमा छन् ।

तपाई निर्वाचित हुनुभयो भने सुर्खेतका लागि के गर्नुहुन्छ ?
मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा चिर्वाचित भएको खण्डमा ६ नं. प्रदेशको राजधानी सुर्खेतलाई समृद्ध सुर्खेत हेर्न र गर्व गर्न लायक सुर्खेत, दलीय संरचनामा गरिने भ्रष्टाचारको अन्त्य, शैक्षिक अराजकताको अन्त्य, विदेशीएका युवाहरुलाई स्वदेशमा फर्कने र स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्दै ६ नं. स्थापनाका लागि बलिदानी गर्ने महान शहिदहरुलाई उचित सम्मानका साथ उहाँहरुको सपना साकारका लागि गर्नु पर्ने कार्यमा कहिल्यै कञ्जुस्याँई गर्ने छैन । अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या समाधान, बाढीपीडितको उचित व्यवस्थापन, सडक, सिंचाई, स्वास्थ्य, विद्युत, पिछडिएका जनजाति, दलित, लोपोन्मुख पिछडावर्ग तथा विपन्न वर्गका लागि विशेष कार्यक्रम लागु गर्नेछु । साथै पर्यटन विकास, कला, संस्कृति, साहित्य, संचार, खानी, उद्योग, कलकारखाना लगायतका क्षेत्रमा मेरो ध्यान केन्द्रित हुनेछ । यो तपाईको लोकप्रिय मिडिया मार्फत सबै दाजुभाइ दिदीबहिनीहरुका विचमा प्रतिवद्धता व्यक्त गर्दछु ।

Image may contain: one or more people, people walking, crowd and outdoor
आन्दोलनको नेतृत्व गर्दै पुरी

अन्तमा के भन्न चाहनुहुन्छ ?
एक पटक प्रदेश समानुपातिक तर्फ गोलाकार भित्रको हलोमा मतदान गरि मलाई तपाईको सेवक बन्ने अवसर प्रदान गर्नुहुन सबै दाजुभाइ दिदीबहिनीहरु समक्ष अनुरोध गर्न चाहन्छु । तपाईहरुले गर्नुभएको विश्वास र भरोसामा कदापी घात हुने छैन । यो मेरो प्रण भयो । भ्रष्टाचारलाई आमाको रगत सम्झी सधैँ सुर्खेती आमाबुबा दाजुभाइ दिदीबहिनीहरुको पक्षमा लागिरहने छु । आसन्न निर्वाचनमा तपाईहरुले दिएको एक÷एक भोटले मैले तपाईको सेवक बन्ने अवसर प्राप्त गर्नेछु भने तपाईहरुले एउटा निस्कलंक सेवक प्राप्त गर्नुहुनेछ ।

काक्रेबिहार दैनिक बाट