काँग्रेस उम्मेदवारहरु घरदैलोमा
सुर्खेत,
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार हृदयराम थानीले शनिबार वीरेन्द्रनगर ९ मंगलगढीका मतदाताहरुसंग भेटघाट गरेका छन् । भेटका क्रममा थानीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताएमा वडाभित्र रहेका समस्या समाधानका लागि गम्भीरतापूर्वक लाग्ने बताए ।
यस्तै, चुनाव प्रचारका क्रममा मंगलगढी पुगेका थानीलाई स्थानीयले लाटीकोइली र इट्टाभट्टातर्फको सडक पिँच तथा पानी निकासको प्रबन्ध मिलाइदिन माग गरेका छन् । उनीहरुले जिल्लाकै पहिचान दिन सक्ने काक्रेबिहारलाई व्यवस्थित रुपमा संरक्षण र पर्यटकीय क्षेत्र बनाउनका लािग पनि पहल गरिदिन आग्रह गरे ।
यसैगरी, मतदातासंग भेटघाट गर्दै काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि क्षेत्र नंं २ (क)का उम्मेदवार कमलराज रेग्मीले आफू निर्वाचित् भएमा जनताको समस्या समाधानका लागि लागिपर्ने आश्वासन दिएका छन् ।
भेटघाट कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वडा सदस्य सुरेश मानन्धर, नेपाली काँग्रेस क्षेत्र नं. २ सुर्खेतका सभापति नारायण कोइराला, समानुपातिकतर्फका उम्मेदवार लोकबहादुर विश्वकर्मा, पार्वति गिरी, पार्वति सार्कीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच, शनिबार नै निर्वाचनको पूर्व सन्ध्यामा नेपाल विद्यार्थी संघ सुर्खेतले वीरेन्द्रनगरको मंगलगढी चौकदेखि ¥यालीसहित शक्ति प्रदर्शन गरेको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन भातृ संगठन नेवि संघका विद्यार्थीहरुले जुलुस प्रदर्शन गरेका हुन् । मंगलगढीदेखि शुरु भएको जुलुस पिपलचौतारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा विद्यार्थी नेताहरुले २१ मंसिरमा हुने निर्वाचन काँग्रेसको पक्षमा पार्न विद्यर्थीहरुलाइ सक्रीय भएर लाग्न निर्देशन दिएका थिए । यसैगरी प्रदेशसभाका उम्मेदवार तप्तबहादुर विष्टले आफूले थालेका विकासका अधुरा कामलाई पूरा गर्न यसपटक पनि विजयी गराउन आव्हान गरेका छन् । शनिवार चौकुनेको गुटुमा आयोजित चुनावी सभालाई बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी र खड्गबहादुर बस्यालले विकास र लोकतन्त्रका लागि कांग्रेसलाइ जिताउन जोड दिए ।
मोहनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य गजराज जोशी, पार्टी सचिव टोपबहादुर रावत, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, कांग्रेसलाई समर्थन गर्दै राप्रपा प्रजातान्त्रिकका प्रदेश उम्मेदवार कर्णबहादुर रेगामी, राप्रपा प्रजातान्त्रिकका समानुपातिक उम्मेदवार कविराम पुरीलगायतले बोलेका थिए ।






