Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

अब काँग्रेसको बाटो के हुन्छ ?

नेपालमा बनेको नयाँ संविधान बमोजिम संघीय प्रणाली अनुसार देशमा भरखरै मात्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको छ । तीन चरणमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनलाई आंकलन गरेर यो चुनावमा कसले बहुमत ल्याउला भनेर अड्कल गर्न निकै अप्ठ्यारो थियो । तर स्थानीयतहकै निर्वाचन पश्चात आम निर्वाचनको मुखमा वाम गठबन्धनको कुराले चर्चा पाए सँगै काँग्रेसको नेतृत्व शुरुमै आत्तिएको थियो । वामहरु एक ठाम भएको खण्डमा काँग्रेसको केही जोड चल्दैन भन्ने स्पष्ट थाह थियो क्यारे नेतृत्वपंक्तिलाई ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम आउन जब शुरु भयो काँग्रेसीहरुका मुहार मलिन बन्दै गए । प्रदेश नं. ६ को कुरा गर्ने हो भने व्यक्तिगत रुपमा समेत असल छवि बनाएका कारण हुम्लाका जीवनबहादुर शाहीले काँग्रेसका तर्फबाट बिजयीको अनुभूति गर्न पाए । हुन त अन्य नेताहरुको छवि पनि कमी होइन तर काँग्रेसले पछिल्लो समयमा चालेका कदमहरु एक पाटो र अर्को पाटोमा वाम गठबन्धन भएकै कारण काँग्रेसले यो हार व्यहोर्नु परेको हो । यतिबेला काँग्रेसले हार्नु पर्ने कारणहरुको व्याख्या र विश्लेषण मात्रै होइन वाम गठबन्धनले सोचे जस्तै र रोजे जस्तै नतिजा ल्याउनका कारणहरुको समेत विवेचना गर्नु जरुरी छ । काँग्रेसले कुनै दिन बहुमत प्राप्त गरिरहेका बेला अहिलेको काँग्रेसको हालतमा रहेका कम्यूनिष्टहरु आत्तिएका थिएनन् । उनीहरुले आफ्नो संगठन विस्तार गर्नुका साथै जनताका समस्याहरुलाई नजिकबाट बुझ्ने काम गरे ।

अल्पमतकै भएपनि नौ महिना सरकार चलाएको बेलामा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले ल्याएको आफ्नो गाउँ आफै बनाउ कार्यक्रमको प्रभाव अहिलेसम्म परिरहेको छ । त्यही प्रभावलाई एमालेले अहिले पनि राम्रोसँग भजायो । औषतमा हेर्ने हो भने काँग्रेस भन्दा एमाले धेरै समय सरकारमा बसेको छ । सरकारको नेतृत्व अन्य पार्टीले गरेको बेलामा पनि सरकारमा सामेल भएर जनताका समस्याको समाधानको लागि पहलकदमी गरेका कारण पनि एमालेप्रति जनताको मोह बढेको हो । २०१५ सालमा विपीले निर्माण गरिदिएको संगठनको प्रभावमा सत्तामोहमा डुबेको काँग्रेसले पछिल्लो समय न संगठन विस्तार गर्न सक्यो ? न विपीले बनाई दिएको संगठनलाई जोगाउनै सक्यो । मेरा पूर्खाले घ्यू खाएका थिए मेरो हात सुँघ त घ्यू कै वासना आउँछ भन्ने दिन गएछन् भन्ने कुरालाई काँग्रेसले राम्रोसँग बुझ्न जरुरी छ । वाम गठबन्धन क्षणिक रुपमा मात्रै हो भनेर अड्कल काट्नेहरुको कमी छैन । दुई पार्टी एकिकरण हुन्छन् वा हुँदैनन् अनि एकिकरण भएपनि दीर्घकालिन हुन्छ कि अल्पकालिन त्यो समयले बताउँदा ।

वामहरुले अब गर्ने सत्ता संचालनको प्रभाव जनतामा कस्तो पर्दछ भन्ने कुराले पनि निकै चासो राख्नेछ । किनकी छ उनीहरुले बृद्धभत्ता ५ हजार पु¥याउने लगायत रेल, तेल र मेलका कुराहरु एकै पटक ल्याएका छन् । देशलाई समृद्ध बनाउँदै भत्ता देखि सत्तासम्म जोगाउने तर्फ कदम चालेको खण्डमा नेपाली जनताले गरेको आशा पूरा होला । कतै यिनीहरुकै कारण देशको अर्थतन्त्रमा ठूलो भूइचालो आउने त होइन भन्ने प्रश्न पनि अदृष्य रुपमा बसिरहेको छ । वामहरुले सत्ता चलाइरहँदा अबका दिनमा काँग्रेसले कस्तो भूमिका निर्वाह गर्ला ? यो निकै महत्वका साथ हेरिएको प्रश्न पनि हो । आफू सत्तामा भएको बेला प्रतिपक्षले चालेका कदमहरुको सिको गर्दै आन्दोलन, हड्ताल, नारा जुलुश मात्र गर्ने वा जनताका घर घरमा पुगेर जनतालाई सुसचित पार्दै सडक र संसदमा रचनात्मक भूमिका निर्वाह गर्ने त्यो काँग्रेसको कार्यशैलीमा भर पर्नेछ । वामहरुले गठबन्धन गरेका बेलामा ७ वटा पार्टीहरुलाई लिएर लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्ने काँग्रेसले आफैसँग गठबन्धन गर्ने राजनीतिक दलहरुलाई साथमा लिएर निर्वाचनको प्रचार प्रसारमा जान लाज मान्यो । संख्याका आधारमा थोरै भएकोले राप्रपासँग उसले राजनीतिक तालमेल गरेन भन्दा फरक नपर्ला ।

यदि राप्रपासँगकै तालमेल पनि वामहरुले झैँ मनैदेखि गरेको भए राप्रपा महामन्त्री वामहरुको गठबन्धनमा जानु पर्ने अवस्था आउने थिएन होला । वामहरुको गठबन्धनको समर्थन लिएर निर्वाचनको मैदानमा उत्रिएका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई नराम्रोसँग पछारे ।

नयाँशक्तिका संयोजकलाई समर्थन गर्दै गर्दा अन्य क्षेत्रहरुमा समेत नयाँशक्तिका उम्मेदवारहरु खडा हुनु, २०४८ सालको अवस्था झैँ सबै हालीमुहाली आफ्नै हुन्छ भन्ने ठानेर राप्रपालाई सानो शक्तिको रुपमा हेला गर्नु, हामीले यो गरेका छौ र अबका दिनहरुमा यो गर्दैछौ भन्नुको साटो एमालेले के नै गरेको छ र भन्ने तर्क गर्नु पनि काँग्रेस हारका कारणहरु हुन् । त्यसैगरी आफ्ना कार्यकर्ताहरुलाई सुरक्षित रुपमा राख्न नसक्नु, पार्टीका शीर्ष नेताहरु जनताका पनि नेता हुन् भनेर आडम्बरी दम्भ पाल्नु पनि काँग्रेस हारका कारणहरु हुन् । केवल निर्वाचनको समयमा मात्र काँग्रेस भन्दै उफ्रिने र अरु समयमा पार्टीका सामान्य कार्यकर्ताको वास्ता नगर्नु काँग्रेसको ठूलो भूल हो भने अर्कोतिर आन्तरिक गुटबन्दीको राजनीतिमै रमाउन खोज्ने काँग्रेसको महाभूल हो ।

अबका दिनमा काँग्रेसले यी भूलहरुलाई सच्चाएर वामपन्थीबाट पनि सिक्दै र जनतालाई सिकाउँदै जानु आवश्यक छ । अर्कोतिर काँग्रेस विना राजतन्त्र र राजतन्त्र विना काँग्रेस सम्भव छैन भन्ने कुरालाई पनि काँग्रेसले आत्मसाथ गर्ने कि ?

साथै हिन्दू राष्ट्रको पहिचानको रुपमा संसारमा चिनिएको नेपाललाई लहलहैमा लागेर धर्म निरपेक्ष बनाउँदा जनताको अभिमत लिनु पर्दछ कि पर्दैन भन्ने सम्म सोच्न नसक्ने काँग्रेसले अबका दिनमा के नै गर्न सक्छ होला र भनेर जनताले यसपाली काँग्रेसलाई चेतनाको पाठ सिकाउनका लागि यतिबेलाको निर्वाचनमा केवल एक झापड हानेका हुन् कि ? अबका दिनमा पनि सच्चिन नसक्ने हो भने अबको ५ वर्ष आउने निर्वाचनमा काँग्रेसको गालामा अर्को झापड पनि हाने भने साँच्चिकै यो देशमा काँग्रेस खोजेर पाइने छैन । काँग्रेसलाई नेपालीहरुको काँग्रेस अर्थात नेपाली काँग्रेस बनाउने हो भने लोकतन्त्रमा विश्वास गर्ने दलहरुलाई एकत्रित गरेर अगाडि बढ्न सक्नु पर्छ । काँग्रेसको अहिलेको नेतृत्वलाई विश्राम गर्न लगाएर गगन थापा जस्ता युवाहरुको हातमा काँग्रेसको नेतृत्व दिन आवश्यक छ । अन्यथा काँग्रेसलाई छत्तिसेर चौहत्तरे बनाउने देखि असक्षम घोषणा हुने र आज आएर काँग्रेसको यो हविगत गराउने देउवाले काँग्रेसको विउ समेत जोगाउन सक्ने छैनन् ।