नवजीवनद्वारा अदुवा प्रशोधन शुरु : करिब १७ सय जनालाई रोजगारी
२२ पौष
बैजनाथ, बाँके ।

नवजीवन एग्रो प्रा.लि. बैजनाथले जिञ्जर प्रोसेसिङ्ग एण्ड मार्केटिङ्ग उपआयोजना अन्तर्गत अदुवा प्रशोधन शुरु गरेको छ । अदुवाबाट पाउडर, पेष्ट, चिप्स, सुठोलगायतका बस्तुहरुको उत्पादन भइरहेको छ ।

वार्षिक ८ सय मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखिएको उक्त बस्तुहरु नेपाल तथा भारतका विभिन्न शहरहरुमा बिक्री वितरण गरिने संचालक समिति सदस्य एवम् परियोजना व्यवस्थापक माधब रिजालले बताउनु भयो । विशेष गरी दैलेख, सुर्खेत र सल्यानमा उत्पादित अदुवालाई संकलन केन्द्रहरुको स्थापना गरेर कारखानाले खरिद गरी प्रशोधन गर्ने लक्ष्य रहेको छ ।
कृषी तथा कृषी जन्य पदार्थको उत्पादन, विविधिकरण तथा बजारीकरणका माध्यामबाट आर्थिक तथा सामाजिक सम्बृद्धिको परिकल्पना तथा कृषिजन्य वस्तुको उत्पादन प्रसोधन र वजारीकरण गर्ने, नगदे वालीहरुको वीउ विजनको प्रशोधन तथा भण्डारण, बजारीकरण, पशुजन्य (डेरी प्रोडक्ट) उत्पादन गर्ने मुख्य उद्देश्य लिएको नवजीवन एग्रो प्रा.लि. बैजनाथले जिञ्जर प्रोसेसिङ्ग एण्ड मार्केटिङ्ग उपआयोजना अन्तर्गत अदुवा प्रशोधन शुरु गरेको हो ।

जिञ्जर प्रोसेसिङ्ग एण्ड मार्केटिङ्ग उप आयोजना अन्तर्गत अदुवा प्रशोधन तथा बजारीकरण, अदुवा उत्पादन तथा बजारीकरणमा कृषकहरुलाई सहयोग गरी आयोजना मार्फत् अदुवाको मूल्य निर्धारण सहित कृषकले अदुवा सम्बन्धि गरेका कार्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त नवजीवन एग्रो संचालन भएको संचालक समिति सदस्य एवम् परियोजना व्यवस्थापक माधब रिजालले क्वीक खबरलाई बताउनु भयो ।
२०७३ कार्तिक २९ गतेदेखि शुरु गरिएको उप आयोजनाको भौतिक व्यवस्थापनको कार्य २०७४ कार्तिक १५ गते सम्पन्न भएको छ । कूल लागत कूल लागत ः २ करोड ९० लाख १३ हजार २ सय ५६ रुपैयाँ ८३ पैसा रहेको यो उप आयोजनामा साना तथा मझौला आयस्तर बृद्धि आयोजनाबाट अनुदान स्वरुप ६७ लाख २३ हजार ८७ रुपैयाँ ९ पैसा रहेको छ भने नवजिवन एग्रो प्रा. लि. को २ करोड २२ लाख ९० हजार १ सय ६९ रुपैयाँ ७४ पैसा लगानी रहेको छ ।

विभिन्न सहकारीसंग ताजा अदुवा खरीद गर्ने, सहकारीमा आवद्ध कृषकहरुलाई तालिम, प्राविधिक सेवा तथा वीउ खरीदमा अनुदान प्रदान गर्ने लक्ष्य अनुरुप नवजीवन अगाडि बढिरहेको रिजालको भनाई छ । नवजीवनले अदुवाको प्रशोधन कारखानाकै स्थापना गरी आधुनिक उपकरणहरुबाट अदुवा प्रशोधन गर्दै स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्ने लक्ष्य प्राप्ति गरेको संचालकको भनाई छ । तपाईहरुले आवश्यक कच्चा पदार्थ एवम् उत्पादित बस्तु कहाँ बजारी गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा संचालक रिजालले भन्नुभयो, ‘अदुवा बालीको प्रशोधन तथा बजारिकरणका लागि विभिन्न सरोकारवाला सरकारी, गैरसरकारी, सहकारी र निजी फार्म, व्यापारीहरुसंँग समन्वय तथा सहकार्यका कृयाकलाप सञ्चालन गरिरहेका छौ र अझैँ यसलाई व्यापाक रुपमा अगाडि लैजाने योजना बनाएका छौ ।

नवजीवनले यसरी उप आयोजना मार्फत आधुनिक रुपमै अदुवाको प्रशोधन गर्न थालेपछि एकातिर रोजगारीको सिर्जना भएको छ भने अर्कोतिर आम्दानीका अवसरहरुमा बृद्धि भइरहेका छन् । यसै अन्तर्गत प्रत्यक्ष उद्यमी ५ जना र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ हजार ६ सय ५६ जना कृषकहरुले रोजगारी पाउने अवस्थाको सिर्जना गरेकाले स्थानीयहरुले पनि नवजीवन एग्रो प्रा.लि. को स्रहाना गरेका छन् । आफ्नै भवन निर्माण गरी संचालनमा आएको यस अदुवा प्रशोधन केन्द्रले ७ जना कर्मचारीहरु समेत नियुक्त गरेको छ भने अन्तरनिहित समूहहरुको निर्माण गरी अदुवा सरोकारवालाहरु विचमा अन्तरक्रिया समेत गर्दै आइरहेको छ । उक्त अदुवा प्रशोधन कारखाना व्यवस्थित रुपमा संचालन गर्नका लागि दिपकराज भण्डारीको अध्यक्षतामा एक संचालक समिति रहेको छ । जसको सदस्यहरुमा देबबहादुर खत्री, जगत बि.सी, सुरेश वली र संचालक समिति सदस्य एवम् परियोजना व्यवस्थापकमा माधब रिजाल रहनु भएको छ ।

मध्य तथा सुदूरका कतिपय जिल्लाहरुमा अदुवा उत्पादकहरु अदुवाले बजार नपाउने हो कि भनेर चिन्तित बनेका बेला बाँकेमा स्थाापना भएको अदुवा प्रशोधन केन्द्रले त्यस्ता किसानहरुको चिन्तालाई कम गर्नेछ । नेपालमा उत्पादन हुने अदुवा तथा अदुवाबाट उत्पादित बस्तुहरु भारतले सजिलै निकासी गर्न नदिने भएकाले पनि समस्या हुने गरेको छ । अब प्रशोधित अदुवा भने भारतमा निकासी गर्नका लागि कुनै समस्या नहुनेमा विश्वस्त रहेको संचालक समिति अध्यक्ष दीपकराज भण्डारीले बताउनु भयो ।








