प्रदेश नं. ६ को अस्थायी मुकाम सुर्खेत
३ माघ, काठमाडौं ।
सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । प्रदेश नं. ६ को अस्थायी मुकाम सुर्खेत तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।
![]()
जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान ९ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेका लागि सरेको थियो ।
उद्योग मन्त्री सुनिलबहादुर थापाले प्रदेश १ को अस्थायी मुकाम धनकुटा बनाउन माग गरेका थिए । प्रदेश ३ को ललितपुर र हेटाैंडामध्ये कहाँ बनाउने भन्ने विवाद थियो ।
प्रदेश ५ को दाङ र रुपन्देही, प्रदेश ७ मा कैलाली र दिपायलमध्ये कहाँ बनाउने भन्ने विवाद थियो । दाङमा प्रदेश अस्थायी मुकाम माग गर्दै बुधबारदेखि अनिश्चितकालीन बन्द गरिएको छ । त्यस्तै प्रदेश ७ को अस्थायी मुकाम दिपायल तोक्न माग गर्दै डोटीमा पनि आन्दोलन भएको छ ।






