प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार
काठमाडौं, ५ माघ ।
प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार हुने भएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिएलगत्तै प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम तय गरेका हुन् । प्रदेश प्रमुखहरुले शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।
स्रोतका अनुसार निर्वाचन आयोगले राष्ट्रपति भवनमै पुगेर प्रदेश प्रमुखहरुलाई प्रदेशसभाको अन्तिम मतपरिणाम बुझाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको थियो भने शुक्रबार समानुपातिक तर्फका सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।
प्रदेशका प्रमुखहरुले आइतबार आआफ्नो अनुकुल समयमा सपथ ग्रहण कार्यक्रम राखेका छन् । प्रदेश १ को सपथ विराटनगरको वीरेन्द्र सभागृहमा आइतबार विहान ११ बजे प्रदेश प्रमुख गोविन्द सुब्बाले बताए । प्रदेशसभा सदस्य मनिष सुमनका अनुसार प्रदेश २ को सपथ आइतबार विहान ८ बजे जनकपुरमा राखिएको छ ।






