Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

प्रदेश सांसदले लिए सपथ

सुर्खेत
मंसिर २१ भएको प्रदेश सभाको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका प्रदेश नं. ६ का सांसदहरुले आज एक कार्यक्रमका वीच सपथ लिएका छन् ।

नेपालको संविधानमा व्यवस्था भए बमोजिम प्रदेश सभामा सबै भन्दा जेष्ठ सदस्य हिमबहादुर शाहीलाई प्रदेश नं. ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ गराए । त्यसपछि सांसद हिमबहादुर शाहीले अन्य सांसदहरुलाई प्रदेश सपथ ग्रहण गराए ।

सपथ ग्रहण पश्चात आफ्नो बधाई तथा शुभकामना मन्तव्यको क्रममा ६ नं. प्रदेश प्रमुख दुर्गाकेशर खनालले भने, – ‘देश संघीयतामा गइसकेपछि संविधानको कार्यान्वयनको क्रममा आज प्रदेशका सांसदहरुले सपथ लिनुभएको छ । देशमा नयाँ युगले प्रवेश गरेको छ । अनेकौ चुनौतिहरु छन् तर पनि ती चुनौतिहरुको सामना गर्दै यस प्रदेशको सुख, शान्ति र समृद्धिको लागि सबै एकजुट भएर अघि बढ्न आवश्यक छ । उनले थपे,– ‘सबै एकजुट भएर मात्र जुन स्वर्ण युगको परिकल्पना गरिएको छ त्यो साकार हुन सक्छ ।’

सपथ ग्रहण कार्यक्रममा क्षेत्रीय प्रशासक, उच्च अदालत सुर्खेतका मुख्य न्यायधिस, सुर्खेतका प्रमुख जिल्ला अधिकारी लगायत सुर्खेतस्थित क्षेत्रीय तथा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीयतहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।